पानीमा डुबेर झापामा थप एकजनाको मृत्यु

सांकेतिक तस्बिर

राजेन्द्र गौतम झापा, संवाददाता
Read Time = 3 mins

झापा । बिहीबार दिउँसो नुहाउने क्रममा सानोकमलले बगाएर बेपत्ता भएका झापा गौरीगञ्ज गाउँपालिका-१ का करिब ५० वर्षीय लखिराम मुर्मुको शव भेटिएको छ ।

बगेको स्थानबाट करिब पाँचसय मिटर दक्षिण सोही खोला किनारमा घोप्टो परेर तैरिरहेको अवस्थामा मुर्मुको शव आज बिहान ७ बजेतिर भेटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

अहिले त्यहाँ प्रहरी चौकी कुञ्जीबारीको टोली कानुनी प्रक्रिया पूरा गरेर पोष्टमार्टमका लागि शव प्रादेशिक अस्पताल पठाउने तयारीमा जुटेको छ । बिहिबार दिउँसो करिब ३ बजेदेखि वेपत्ता भएका घटना लगत्तै सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानी मुर्मुको खोजीमा जुटेका थिए ।

बुधबार दिउँसो बनियानी खोलाले बगाएर बेपत्ता भएका सोही वडाका १२ वर्षीय मिलन विकको अवस्था अझै अज्ञात छ । उनको खोजी जारी छ । बनियानी खोलामा पानीको सतह बढेको र बेगसमेत तीव्र रहेकाले खोजी कार्यमा चुनौती थपिएको त्यहाँ परिचालित प्रहरीकाे भनाई छ ।

जिल्ला प्रहरी कार्यालय झापाकाअनुसार बिहीबार दिउँसो शिवसताक्षी नगरपालिका-२ का २८ वर्षीय बुधे बेस्राको पानीमा डुबेर मृत्यु भएको थियो । खेतमा जमेको पानीमा डुबेर उनको मृत्यु भएको हो । झापामा पछिल्ला दिनमा परिरहेको पानी, बाढी र चट्याङका कारण मानवीय क्षति बढेको छ ।

गएको मंगलबार एकैदिन झापामा चट्याङले तीनजनाको मृत्यु भएको थियो । झापा गौरादह नगरपालिका-८ जुरोपानीका ४२ वर्षीय लीला भनिने विकास गिरी र कमल गाउँपालिका-२ समयगढका ४६ वर्षीय राजन खड्का र झापा गाउँपालिका-४ दोसाका ५० वर्षीय मन्जुर आलम अलीको मृत्यु भएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?