काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको विद्युत् वितरण प्रणाली नियन्त्रण सेन्टर र अत्याधुनिक डाटा सेन्टर उद्घाटन गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले शुक्रबार काठमाडौंको स्युचाटारस्थित भारप्रेषण केन्द्रमा निर्माण गरी सञ्चालनमा ल्याइएको अत्याधुनिक वितरण प्रणाली नियन्त्रण तथा डाटा सेन्टर उद्घाटन गर्नुभएको हो । मन्त्री बस्नेतले विद्युत् वितरण प्रणाली नियन्त्रण सेन्टर र अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक डाटा सेन्टर निर्माण नेपालको ऊर्जा क्षेत्रलाई थप स्मार्ट बनाउन अर्को महत्वपूर्ण पाइला भएको बताउनुभयो । ऊर्जा व्यवस्थापन, सञ्चालन र प्राधिकरणको सेवा स्वचालित तथा आधुनिक बनाउन अर्को महत्वपूर्ण उपलब्धि हासिल भएको उहाँको भनाइ थियो ।
एसियाली विकास बैंक, नेपाल आवासीय नियोगका निर्देशक आर्नोड कुश्वाले प्राधिकरणको सेवालाई आधुनिक तथा डिजिटल बनाउन महत्वपूर्ण कोशेढुंगा हासिल भएको बताउनुभयो । ऊर्जाको लागत घटाउन तथा भरपर्दो सेवा प्रवाहका लागि संस्थाको डिजिटलाइजेसनमा जोड दिनुपर्ने उहाँको भनाइ थियो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सेवा प्रवाह स्वचालित, आधुनिक बनाई विद्युत् प्रणाली सुधार्न ‘डिजिटल एनइए’अन्तर्गत धेरै काम अघि बढाइएको जानकारी गराउनुभयो । डिजिटल एनइएमार्फत् सूचना प्रविधिको प्रयोगमार्फत् प्रशासन लागत घटाउने, कर्मचारीको दक्षता वृद्धि गर्ने, विद्युत् आपूर्ति भरपर्दो तथा विश्वसनीय बनाउने काम भइरहेको उहाँको भनाइ थियो ।
प्राधिकरणका अनुसार ‘प्रि-फेब्रिकेटेड कन्टेनर’ प्रयोग गरी तयार गरिएको तीनतले भवनको भुइँतलामा काठमाडौं उपत्यकाको भूमिगत विद्युत् वितरण प्रणाली अनुगमन, नियमन तथा नियन्त्रण र सुरक्षा सञ्चालन कक्ष रहेका छन् । पहिलो तलामा कार्यालय तथा नेटवर्क सञ्चालन कक्ष र सबैभन्दा माथिल्लो तलामा डाटा सेन्टर रहेका छन् ।
डाटा सेन्टरका लागि तोकिएको टियर ३ अन्तर्राष्ट्रिय मापदण्ड पालना गरी डाटा सेन्टर निर्माण गरिएको छ । प्राधिकरणले आफ्नो सेवा प्रवाह डिजिटल तथा आधुनिक बनाउने उद्देश्य पूरा गर्न डिजिटल एनइए कार्यक्रमअन्तर्गत निर्माण गरिएको उक्त मोडलको डाटा सेन्टर नेपालमै पहिलो हो । डाटा सेन्टरमा प्राधिकरणका सूचना प्रविधिसँग सम्बन्धित सर्भरलगायतका सबै डाटाहरू एकीकृत भण्डार गरी क्रमशः राखिनेछ । डाटा सेन्टरमा ४० सूचना प्रविधि ¥याक रहेका छन् । जसमा ३६ सर्भर र चारवटा नेटवर्क र्याक छन् ।
स्थानीय तथा देशको विद्युत् प्रणालीमै समस्या आई विद्युत् आपूर्ति बन्द भएमा डाटा सेन्टरलाई सुरक्षित रूपमा सञ्चालन गर्न एक मेगावाट क्षमताका दुईवटा जेनेरेटर तयारी हालतमा राखिएका छन् । तीन सय केभिएका दुई थान मोड्युलर युपिएस जडान गरिएको छ । युपिएसको विश्वसनीयतालाई ध्यान दिएर लिथियम आयन ब्याट्री प्रयोग गरिएको छ । मर्मतसम्भार तथा उपकरण प्रतिस्थापन गर्दा सेन्टर बन्द गर्नु नपर्ने गरी छवटा फिडरबाट विद्युत् आपूर्ति गरिएको छ । प्राधिकरणको रत्नपार्कमा रहेको प्रधान कार्यालय र डाटा सेन्टरलाई जोड्न वैकल्पिक मार्गसहितको अप्टिकल फाइबर जडान गरिएको छ । प्राधिकरणको प्रधान कार्यालय र डाटा सेन्टरलाई टेकु र बालाजुतर्फबाट अप्टिकल फाइबरमार्फत् जोडिएको हो । डाटा सेन्टरलाई २४ घण्टा सञ्चालन गर्न कर्मचारी खटाइएको छ ।
डाटा सेन्टरका अतिरिक्त सेन्टरबाट काठमाडौं उपत्यकाको विद्युत् वितरण प्रणालीलाई स्वचालित बनाउन निर्माणाधीन भूमिगत वितरण प्रणाली अनुगमन, नियमन र नियन्त्रण गर्न सकिने पूर्वाधार संरचना निर्माण गरिएको छ । जसमा उपत्यकाका सबस्टेसन तथा स्विचिङ स्टेसन जोडिनेछन् । केन्द्रबाटै ११ केभीमुनिका ग्राहकको घरसम्म पुग्ने विद्युत् वितरण प्रणालीको व्यवस्थापन, अनुगमन र नियन्त्रण गर्न सकिनेछ । डाटा सेन्टर परिसरमा तीनवटा विद्युतीय गाडी एकैपटक चार्ज गर्न मिल्ने गरी चार्जिङ स्टेसनसमेत सञ्चालनमा ल्याइएको छ ।
केन्द्र निर्माणका लागि चिनियाँ कम्पनी यानताई डोङफाङ विज्डम इलेक्ट्रिक कम्पनीसँग जुलाई २०२१ मा ठेक्का सम्झौता भई सोही वर्षको नोभेम्बरबाट काम सुरु भएको थियो । सरकार तथा प्राधिकरणको लगानी र नर्वे सरकारको प्राविधिक सहयोग तथा एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण गरिएको सेन्टरको अनुमानित लागत करिब एक अर्ब ४० करोड रुपैयाँ रहेको प्राधिकरणले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच