दुध उत्पादन वृद्धि गर्न बुटवल उपमहानगरद्वारा भैंसीका पाडी वितरण

हिमालय टाइम्स
Read Time = 3 mins

रुपन्देही । बुटवल उपमहानगरपालिकाले दुध प्रवर्द्धन कार्यक्रमअन्तर्गत पशुपालक किसानलाई पाडी वितरण शुरु गरेको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटअनुसार बुटवलले किसानलाई ५० प्रतिशत अनुदानमा भैंसीका पाडी वितरण शुरु गरेको हो ।

जसअनुसार आज बुटवल १२, १५ र १६ मा ३३ वटा पाडी वितरण गरेको छ । एक कार्यक्रमका बीच नगर प्रमुख खेलराज पाण्डेयले बुटवललाई दुध उत्पादनमा सबल बनाउनका लागि भैसीका पाडी वितरण गरिएको बताउनुभयाे । उहाँले वितरण गरिएका पाडीहरुको बीमा गरी किसानलाई उपलब्ध गराइएको बताउनु भयो ।

'बुटवललाई दुध उत्पादनमा वृद्धि गर्ने उद्देश्यसहित किसानलाई पाडी वितरण गरिएको हो,' उहाँले भन्नुभयाे –'किसानले यसको पूरा लाभ लिनुहुनेछ र बुटवललाई दुध उत्पादन बढाउन र किसानको आय वृद्धि गर्न मदत पुग्नेछ।’ आज ३३ वटा पाडी वितरण गरिएको र बाँकी भोलि वितरण गरिने पशुपंक्षी विकास अधिकृत झविन्द्र बञ्जाडेले बताउनु भयो। उहाँकाअनुसार चालु वर्षमा ९० जना किसानले पाडी अनुदानका लागि सम्झौता गरेका छन्।

बुटवलले यसअघि किसानलाई दुध र दुधजन्य पदार्थमा आत्मनिर्भर बनाउन सहयोगी मिल्क चिलिङ भ्याट खरिदमा ५० प्रतिशत अनुदान दिएको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर १४ मा रहेको अगुवा महिला दुग्ध उत्पादक सहकारी सस्थालाई मिल्क चिलिङ भ्याट खरिदमा अनुदान दिइएको हो । मिल्क चिलिङ भ्याट १ हजार लिटर क्षमताको हाफ राउण्ड ३ टन क्षमताको एकल रेफ्रीजेरेशन युनिट, कन्ट्रोलप्यानलसहितको मेसिन उपलब्ध गराइएको हो।

पशुपंक्षी विकास अधिकृत बञ्जाडेले गाईभैसी गोठ सुधार तर्फ २८ जनालाई अनुदान प्रदान गरिएको बताउनुभयाे । गाई भैंसी गोठ सुधार, बाख्रा कुखुरा खोर सुधार, मासु पसल, माछा पोखरी तथा बुङुर खोर सुधार तर्फ अनुदान दिएको उहाँले बताउनु भयो । आहारा सुधार सेवा कार्यक्रम अन्तर्गत उन्नत जातको घासको बिउ अनुदानमा बितरण गरेको उहाँले बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?