म्याग्दी । असार तेस्रो सातासम्म पनि मुल फुुट्ने गरी वर्षा नहुँदा म्याग्दीमा सिंचाइको सुविधा भएको २२ प्रतिशत खेतमा मात्रै रोपाइँ सकिएको छ ।
तीन हजार आठ सय ९० हेक्टर जमिनमा धान खेती हुने म्याग्दीमा यस वर्ष असार तेस्रो सातासम्म २२ प्रतिशत मात्रै रोपाइँ भएको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ ।
एक हजार आठ सय हेक्टर जमिनमा मात्रै सिँचाइको पहुँच पुगेको म्याग्दीका अधिकांश क्षेत्रमा आकासे पानीको भरमा खेती हुँदै आएको छ ।
आकासे पानीको भरमा रोपाइँ हुने म्याग्दीका हरेक क्षेत्रका लागि समयमै पर्याप्त पानी नपर्दा रोपाइँ प्रभावित बनेको कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख सञ्जीव वाँस्तोलाले बताउनुभयो ।
असार महिनाको सुरुवातसँगै म्याग्दीका कृषकहरूले धान रोपाइँ सुरु गरेको भए पनि सिँचाइको पर्याप्त स्रोत नभएको कारणले गर्दा आकाशको पानीकै भर पर्नु पर्ने भएकोले रोपाइँ पर्याप्त हुन नसकेको कृषि ज्ञान केन्द्रका प्रमुख बाँस्तोलाको भनाइ छ ।
असारको सुरुवातमा पर्याप्त वर्षा नभएको तथा तीन बाली लगाइने बेँसीका फाँटहरूका खेतमा मकै भएकाले पनि धान रोपाइँमा ढिलाइ भएको छ । जिल्लाको अधिकांश कृषकहरू सिँचाइ अभावमा खेत रोपाइँका लागि वर्षामै भर पर्नुपर्ने बाध्यता रहेको छ ।
म्याग्दीमा गौरिया, जेठो बुढो, जर्नेली, पहेँले, मार्सी, ताकमारे, भट्टे र छमरुङ, माछापुच्छ्रे, अन्नपूर्ण–३, खुमल–४, खुमल–१०, लुम्ले–२ लगायतका धानको खेती हुने गर्छ ।
म्याग्दीमा कुल ३० हजार आठ सय ५६ हेक्टर खेतीयोग्य जमिन रहेकोमा त्यसमध्ये १९ हजार चार सय १९ हेक्टरको जमिनमा मात्रै खेती हुँदै आइरहेको छ । खेतीयोग्य जमिन मध्ये १३ हजार तीन सय ५४ हेक्टर जमिन बाँझो रहेको छ । खेती गरिएको मध्ये जिल्लामा तीन हजार आठ सय ९० हेक्टरको जमिनमा धान खेती हुने कृषि ज्ञान केन्द्रका प्रमुख बाँस्तोलाको भनाइ छ ।
पानीको स्रोत भएका र सिंचाइकुलो रहेका लेकाली गाउँका फाँटहरुमा रोपाइँ भए पनि तल्लो क्षेत्रका फाँटहरुमा भने अझै रोपाइँ हुन सकेको छैन ।
जिल्लाको मंगला गाउँपालिकाको रणबाङ,मालिकाको सेरा लगाएतका फाँटहरुमा धमाधम रोपाइँ चलिरहेको किसानहरुले बताएका छन् ।
अधिकांश ग्रामीण भेगका खेतमा सिँचाइका लागि नहरको व्यवस्था रहेकोले पानीका स्रोतहरु भएका र खोलामा पानी रहेका ठाउँहरुमा रोपाइँ भइरहेको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ ।
म्याग्दीको मंगला गाउँपालिका–५ छिसवाङका किसानहरु पनि धान रोपाइँमा व्यस्त छन् । मनसुन सुरु भए लगत्तै मानो रोपेर मुरी फलाउने सिजनको रुपमा चिनिने धान रोपाई सुरु भएको हो । म्याग्दीमा गौरिया, जेठोबुढो, छोम्रोङ, खुमल, गुडुरा, दर्माली, मार्सी, आङा, झिनुवा, ताकमारे, माछापुच्छ्रे–३, लुम्ले–२ जस्ता लोकल जातका स्थानीय धान रोप्ने गरिएको छ ।
धानलाई मुख्यबाली मानिएको भए पनि परम्परागत खेती प्रणाली, आकाशे पानीको भर पर्नुपर्ने बाध्यता, गह्रा सुधार हुन नसक्नु र भिरालो जमिनका कारण आवश्यक उत्पादन हुन नसकेको कृषि प्राविधिकहरू बताउँछन् ।
म्याग्दीको खाद्यान्नतर्फ धान, मकै, गहुँ लगायतका बाली रहेका छन् । कुल जनसंख्याको अनुपातमा बार्षिक १५ सय मेट्रिकटनभन्दा बढी खाद्यबाली आयात गर्ने गरिएको छ । जिल्लामा तीन हजार आठ सय ९० हेक्टर जमिनमा धान खेती हुँदै आएको छ ।
खानेपानी जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीमार्फत चालु आर्थिक वर्ष म्याग्दीमा ६० सिँचाइ आयोजना सञ्चालन भएको कार्यालय प्रमुख झलकमोहन ओझाले बताउनुभयो । बादुक र घारेनी कोत्रवाङ सिँचाइ आयोजनाको बहुवर्षीय ठेक्का आह्वान गरेको र अन्य आयोजना उपभोक्ता समितिमार्फत कार्यान्वयन गरिएको उहाँले जानकारी दिनुभयो ।
म्याग्दीमा गत वर्ष ३ हजार ८ सय ९० हेक्टर क्षेत्रफलमा धान खेती हुँदा १३ हजार ४ सय ८० मेट्रिक टन धान उत्पादन भएको थियो ।
जिल्लामा स्थानीय तहले खानेपानी र सिंचाइ योजनामा भन्दा पनि बाटो र बिजुली विस्तारमै चासो दिइरहेका छन् । खानेपानी योजना आफ्नो खर्चले नभ्याउने भएकाले प्रदेश वा सङ्घीय सरकारले नै हेर्नुपर्ने दाबी स्थानीय तहको छ ।
बढ्दो जलवायु परिवर्तन, पर्यावरण विनाश र विसं २०७२ मा गएको भूकम्पले गर्दा यहाँका बासिन्दाले खडेरीको मार खेप्न बाध्य भएका छन् । यहाँका मुख्य बाली मकैलगायत अन्य बाली पनि अघिल्लो वर्ष झैँ यो वर्ष पनि सुकेर मरिसकेका छन् । गत वर्ष पनि जिल्लाका किसानले खडेरीको मारले अन्न भित्र्याउन पाएका थिएनन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच