काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले चलचित्रले मनोरञ्जनमात्र नभएर सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने बताउनुभएको छ । सरकारका प्रवक्तासमेत रहनुभएकी मन्त्री शर्माले चलचित्र विकास बोर्डले २४औं वार्षिकोत्सवका अवसरमा यस्तो बताउनुभएको हो ।
उहाँले आमसञ्चारको सबैभन्दा सशक्त र प्रभावकारी माध्यम चलचित्र भएकाले मनोरञ्जनमात्र नभई सकारात्मक सन्देश प्रवाह गरिनुपर्ने बताउनुभयो । मन्त्री शर्माले पछिल्लो समय हामीले जुन ढंगले चलचित्रको विकास गर्ने भन्ने नीति लिएका छौं त्यसलाई कसरी परिणाममा पु¥याउने भन्ने हाम्रो मुख्य चुनौती र कार्यभार भएको सुनाउनुभयो । मन्त्री शर्माले भन्नुभयो, ‘आमसञ्चारको सबैभन्दा सशक्त र प्रभावकारी माध्यम चलचित्र हो । चलचित्र मनेरञ्जनको साधनमात्रै होइन । यो सन्देश दिने प्रभावकारी माध्यम हो । पछिल्लो दिनमा आउँदा हामीले जुन ढंगले चलचित्रको विकास गर्ने भन्ने जुन लक्ष्य लिएका छौं, नीति लिएका छौं, त्यसलाई कसरी हामी परिणाममा पु¥याउने भन्नेकुरा हाम्राबीचका चुनौती हुन् । चलचित्र विकास बोर्डका आगामी दिनका कार्यभार हुन् । चलचित्र विकास बोर्डले विगतमा गरेका काम र आगामी दिनका हाम्रा कार्यभारका कुराहरू राख्नुभएको छ । सब चलचित्रकर्मीहरूको अभिलेखलाई डकुमेण्टेशन गर्ने भन्नेकुरा राम्रो छ । अहिले महिलाबाट सुरु गर्नुभएको छ, यो विभेद जस्तो लाग्ला तर सकारात्मक विभेद हो ।’
मन्त्री शर्माले विगतमा भन्दा बढाएर चलचित्र विकास बोर्डमा बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले चलचित्र ऐन छिटोभन्दा छिटो ल्याउने कुरामा सरकार संवेदनशील रहेको बताउनुभयो । सो अवसरमा विकास बोर्डका कर्मचारीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रममा मन्त्री शर्माले चलचित्र मञ्च र नेपाली चलचित्र क्षेत्रका महिला कलाकारको अभिलेख भएको पुस्तक सार्वजनिक गर्नुभएको थियो ।
कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले आगामी वर्षका लागि चलचित्र क्षेत्रले स्वीकार्ने बजेट तथा कार्यक्रम ल्याउने प्रतिबद्धता जनाउनुभएको थियो । उहाँले आफू बोर्डको नेतृत्वमा अन्तिम चरणमा रहेको भन्दै बोर्डमा नरहे पनि नेपाली चलचित्र क्षेत्रको हकहितका लागि सदैव समर्पित रहने जिकिर गर्नुभयो । अध्यक्ष केसीले चलचित्रकर्मीहरूको क्युआरकोर्ड निर्माण, वाकीटकीको प्रयोग, सञ्चार तथा सूचना प्रविधिको प्रयोगलाई प्रोत्साहित गरेको र चलचित्र छायांकन स्टुडियो निर्माण प्रक्रिया अघि बढेको बतउनुभयो । आफ्नो कार्यकालमा चलचित्रकर्मीहरूको अभिलेख राख्ने कार्य सुरु गरेको र बक्स अफिस प्रणालीको स्तरोन्नति गरिएको उहाँको भनाइ थियो ।
अध्यक्ष केसीले चलचित्र ऐनको मस्यौदा मन्त्रालय पठाइसकेको पनि जानकारी गराउनुभयो । मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले वार्षिकोत्सवको उपल्यक्षमा सम्पूर्णलाई शुभकामना व्यक्त गर्नुभएको थियो ।
विकास बोर्डले पायो २३ वर्षपछि लोगो
चलचित्र विकास बोर्डको स्थापना भएको २३ वर्षपछि लोगो निर्माण गरिएको छ । बोर्डको २४औं वार्षिकोत्सवका अवसरमा आयोजित समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बोर्डको लोगो सार्वजनिक गर्नुभएको हो ।
लोगो निर्माणका परिकल्पनाकार तथा नारा, लोगो तथा धुन निर्माण तथा छनोट समितिका संयोजक केएल बुढाथोकीका अनुसार लोगोको डिजाइन ललितकलाका प्रोफेसर एवं वरिष्ठ कलाकार राधेश्याम मुल्मीले गर्नुभएको हो । लोगोमा नेपाली चलचित्रको इतिहासदेखि वर्तमानसम्मका विकासक्रम, रिलिदेखि डिजिटलसम्मको प्रविधि र नेपाली मौलिकतालाई व्यक्त गरिएको छ ।
लोगोसँगै बोर्डले ‘बुद्धको ज्ञान सगरमाथाको सान, राष्ट्रिय चलचित्र हाम्रो पहिचान’ आफ्नो नारा पनि तय गरेको छ । यसअघि बोर्डले नेपाल सरकारको लोगो प्रयोग गर्ने गरेको थियो । चलचित्र ऐन २०२६ को १० (क) अनुसार २०५७ असार १६ गते बोर्डको स्थापना भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच