रसियन सेनामा पनि नेपाली

हिमालय टाइम्स
Read Time = 8 mins

नेपालीहरू धेरै पहिलेदेखि नै विदेशी सेनामा भर्ना हुँदै आएको इतिहास छ । नेपालीहरूको इमानदारिता र बहादुरी देखेर नै विदेशीहरूले नेपालीहरूलाई आफ्नो सेनामा भर्ना गर्ने गरेका हुन् । आफ्नो योग्यता क्षमता र बुद्धिमत्ताका कारण बेलायतले विश्वलाई नेतृत्व प्रदान गर्न थाल्यो । पन्ध्रौं सोह्रौं शताब्दीदेखि नै विश्वका सबै महादेश र प्राय देशहरूमा पुगेर ती देशहरूलाई आफ्नो उपनिवेश बनाउँदै विश्वव्यापी बनेका अंग्रेजहरू यही क्रममा  दक्षिण एशियाको सबैभन्दा ठूलो देश भारतसम्म पनि आइपुगे । पहिले इस्ट इन्डिया कम्पनी नामकको व्यापारिक कम्पनी खोलेर भारतसँग व्यापार गर्ने निहुँले भारत आएका उनीहरूले रहँदा बस्ता भारतलाई पनि आफ्नो उपनिवेश बनाए ।

त्यसक्रममा भारतको छिमेकी देश नेपाल र यसअन्तर्गतका राज्यहरूका बासिन्दाहरूको अदम्य साहस देखेर नेपालीहरूलाई भारतीय सेनामा लिन थाले र भारतमा मात्र होइन आफ्ना उपनिवेश राज्यहरूमा समेत नेपाली वीरहरूलाई प्रयोग गर्न सकिने देखेर बेलायतीहरूले गोर्खाली भनेर नेपालीहरूलाई बेलायत पनि लगे । त्यहाँबाट परिचालित भएर नेपालीहरूले मलाया (मलेशिया), सिंगापुर, हङकङ लगायतका ठाउँहरूमा रहेर बेलायतीहरूको हितमा काम गरेको इतिहास छ । यस क्रममा नेपालीहरूले बेलायतको पक्षबाट पहिलो तथा दोस्रो विश्वयुद्धमा समेत भाग लिए । यी दुई महासंग्राममा धेरै नेपालीहरूको हताहती भयो भने धेरैको संख्यामा अन्धअपांग पनि भए । साहसपूर्ण काम गरेकाहरूलाई बेलायतले रानी भिक्टोरियाका नाममा स्थापित भिक्टोरिया पदक दिएर नेपालीहरूलाई सम्मानित गर्‍यो ।

यो नेपालीहरूलाई लोभ्याउने एउटा माध्यम थियो भन्न पनि सकिएला किनकि कूटनीतिमा बेलायतीहरू संसार प्रसिद्ध नै छन् । दोस्रो विश्वयुद्धमा नेपाली वीरहरूले बेलायतको पक्षबाट जापानसँग बर्मामा युद्ध गरे । नेपालीहरू जुन जुन ठाउँमा पुगे त्यहाँ त्यहाँ उनीहरूले आफ्नो वीरता र बहादुरीको छाप छोड्न सके । त्यसको ख्याति चौतर्फ फैलियो । नेपालीहरू बहादुर जातिमा स्थापित भएका थिए । नेपालीहरूले  कारगिल र फोकल्यान्डमा पनि युद्ध गरे । फोकल्यान्डको टापुमा अर्जेन्टिनासँग बेलायतको युद्ध भइरहेका बेला बेलायतले पनि जित्न सकिरहेको थिएन र अर्जेन्टिनाले पनि विजय हात पार्न सकेको थिएन, दुबै शक्तिशाली थिए । यही बेला बेलायतले एउटा कूटनीतिक चाल चल्यो र हामी अब गोर्खाली सेना प्रयोग गर्छौं भनेर प्रचार गर्यो ।

गोर्खाली सेना त्यहाँ लग्यो पनि तर त्यसभन्दा पहिले नै अर्जेन्टिनाका सेना फोकल्यान्ड छाडेर भागिसकेका थिए । नेपालीहरूका विषयमा नेपोलियन बोनापार्टले गार्खालीहरू हेर्दा मझौला कदका हुन्छन् तर उनीहरूसँग अदम्य साहस हुन्छ भनेका थिए भने लर्ड नेपिएरले त म मेरा देशका सेनाहरूलाई विश्वका जुनसुकै देशका सेनासँग लडाउन कत्ति पनि डर मान्दिन तर गोर्खाली सेना भनेपछि मेरो सातो जान्छ भनेका थिए । यसरी विश्वव्यापी रूपमा इतिहासदेखि नै आफ्नो ख्याति फैलाएका नेपालीहरूलाई अहिले आएर रसियाले पनि भर्ना गर्न थालेको छ । अहिले रुस(रसिया)को र युक्रेनको युद्ध चलिरहेको छ । हुन त युक्रेन एउटा सानो देश हो तर सानो ठूलो भनेर मात्र हुँदैन । ठूलो भनिएको देश रसियालाई पनि सौन्यशक्ति आवश्यक पर्नसक्छ ।

यही यथार्थलाई मध्यनजर राख्दै रसियाले आफ्नो सैन्यशक्ति बढाउन थालेको र त्यसका लागि नेपालीलाई समेत आफ्नो सेनामा भर्ना गर्न थालेको समाचारहरू आइरहेका छन् । यो हाम्रा लागि एकातिर गौरवको विषय पनि हो र अर्कातिर दुःखको विषय पनि हो । नेपालीहरूको वीरताको कदर गरेर उसले नेपालीलाई आफ्नो सेनामा भर्ना गरेको हो भने त्यो हाम्रा लागि गौरवको विषय हो तर चलिरहेको युद्धका बेला नेपालीहरूलाई यसरी सेनामा भर्ना गर्नु भनेको त त्यो सरासर नेपालीहरूलाई बलिवेदीमा होम्नु हो भन्नुपर्ने हुन्छ । यस्तो भर्ना नेपाल सरकरालाई जानकारीसमेत नगराई गरिनु त अझै दुखद् हो । बेलायती सेनामा भर्ना गर्नका लागि गल्लाहरू तोकेर अधिकार दिएर सरकारले नै छनौट प्रकृयामा सघाउ पुर्याएर पठाउने गर्छ ।

रुसमा भर्ना गरिँदै आएकाहरूको यस्तो कुनै प्रत्याभूति नगरी व्यक्तिकेन्द्रीत अवस्थामा भर्ना गर्नु भनेको तिनीहरूको जीउ र धन सबै कुराको कानुनी रूपमा व्यवस्थित नगरिनु हो । सरकारकै अनुमतिमा बेलायत पठाइएका नेपालीहरूलाई त बेलायतले सेवा सुविधामा भेदभावपूर्ण व्यवहार गरेका कारण पछि गेसोले लामो समयसम्म संघर्ष गरेर मुद्धामामिला गरेर केही सुविधाहरू लिन सकेको अवस्था छ भने सरकारलाई जानकारीसमेत नभएको रुसको सेनामा नेपाली भर्ना गरेको यस्तो सन्दर्भमा भोलि युद्धमा परेर वा अन्य कारणले ती रुसी सेनामा भर्ना भएका नेपालीहरूले केही पाउने सम्भावना नै देखिँदैन । त्यसकारण सरकार पनि यसतर्फ सचेत रहनुपर्ने देखिन्छ भने त्यसरी जाने व्यक्तिहरूले पनि यसतर्फ निश्चय नै सचेतता अपनाउनु पर्ने हुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?