काठमाडौं । चुरे उत्थानशील आयोजनाले सात सय ८६ हेक्टर वनमा प्राकृतिक पुनरुत्थान सहयोग कार्यक्रम लागू गरेको छ । आयोजनाले रूखहरूको प्राकृतिक पुनरुत्थानमा बाधा पुर्याउने अनावश्यक झाडी सफाइका साथै जोखिममा रहेको चुरे क्षेत्रको जलवायु उत्थानशीलता बढाउने उद्देश्यले विभिन्न गतिविधि सञ्चालन गरिएको जनाएको छ । आयोजनाका अनुसार सिरहाको लहानमा रहेको कोइरालो खोला सामुदायिक वन रमणीय र सुन्दर देखिन्छ । हात्तीदह वा हात्तीपोखरी भनिने ठूलो पोखरीको छेउमा उक्त जंगल अवस्थित छ र नजिकै एउटा सानो पार्क पनि छ, जहाँ कहिलेकाहीँ जंगली जनावर र चरा पनि घुम्न आउँछन् । वन, पोखरी र पार्कले तराईको गर्मीबाट चिसो राहत दिन्छन् । काँडे भएका झाडी हटाइएपछि ठूला रूखमुनि सालका साना बिरूवा पलाउन थालेका छन् र जंगल खुला र फराकिलो देखिन थालेको छ ।
दक्षिण एसियाली कडा काठको उक्त पुरानो जंगल सन् १९८० को दशकमा निकै ह्रास भइसकेको थियो । ३० वर्षअघिको संरक्षण प्रयासपछि वन फेरि बढेको भए पनि पछिल्ला वर्षमा काँडा भएका झाडी र पानी सुकाउने लताको प्रकोप बढेको थियो । चुरे उत्थानशील आयोजनाको सहयोगमा ५२ हेक्टर जंगलमा काँडादार झाडी र लता हटाइएकाले नयाँ बिरुवाहरू पलाउन थालेका हुन् । कोइरालो सामुदायिक वनका अध्यक्ष रुद्रनारायण चौधरीले भन्नुभयो, ‘झाडीका कारण नयाँ रुख उम्रिन सकेका थिएनन् तर अहिले धेरै नयाँ बिरुवा पलाउँदै गरेको हामी देख्छौँ । अब वन अझै घना हुनेमा हामी आशावादी छौँ ।’ चुरे उत्थानशील आयोजनाको एउटा उद्देश्य चुरे क्षेत्रको १२ हजार सात सय ९२ हेक्टर वनमा प्राकृतिक पुनरुत्थान सहयोग कार्यक्रम लागू गर्नु हो । काठ र दाउराका लागि रुख कटानी, अत्यधिक चरिचरन र अनियन्त्रित डढेलोले चुरे क्षेत्रको वनमा धेरै क्षति पुर्याएको छ ।
कोइरालो खोला सामुदायिक वनका एक सदस्य धनीलाल चौधरी वनभित्र एउटा ठूलो सालका रूखवरिपरि बेरिएको एउटा लता रहेको बताउनुहुन्छ । सालको बिउ प्राकृतिक रूपमा मात्र उम्रिने र बिउ रोप्ने प्रयास प्रायः असफल हुने हुनाले सालको जंगलमा प्राकृतिक पुनरुत्थान हुनु जरूरी रहेको चुरे उत्थानशील आयोजनाका रेञ्जर निरज दाहाल बताउनुहुन्छ । कोइरालो खोला सामुदायिक वन उपभोक्ता समूहमा एक सय १७ परिवार रहेका छन्, जो घाँस र इन्धनका लागि वनमा निर्भर छन् । असारसम्ममा चुरे उत्थानशील आयोजनाले चुरेका ३० भन्दा बढी सामुदायिक वनभित्र सात सय ८६ हेक्टर वनमा प्राकृतिक पुनरूत्थान कार्यक्रम लागू गरेको छ । २१ सामुदायिक वनमा थप तीन सय २३ हेक्टर वनमा पुनरुत्थान कार्य जारी रहेको आयोजनाले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच