हृवात्तै घट्यो पाम र भटमास तेल निर्यात

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौंं । चालु आर्थिक वर्ष २०८०/०८१ को पहिलो महिना साउनमा वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा २.३ प्रतिशतले घटेर एक खर्ब ४२ अर्ब ७७ करोडमा झरेको छ । कुल व्यापारमा निकासी तथा आयातको योगदान क्रमशः ९.५ र ९०.५ प्रतिशत रहेको छ । सो अवधिमा नेपालको कुल निर्यात ८.७ प्रतिशतले घटेर १३ अर्ब ५३ करोड तथा कुल आयात १.६ प्रतिशतले घटेर एक खर्ब २९ अर्ब २४ करोडमा झरेको छ ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांकअनुसार सो अवधिमा नेपालबाट निर्यात भएका प्रमुख वस्तुमा फलाम तथा फलामजन्य उत्पादन, यार्न, ऊनी गलैंचा, अलैंची, तयारी पोशाक, जुट तथा जुटका सामान, ऊनी फेल्टका उत्पादन, जुस, पामतेल, चिया, जडीबुटी, कुकुर बिरालाका आहारा, पिना, पश्मिना सल, प्लाइउड, अदुवा, तामा तथा तामाका उत्पादन, कपडा, चाउचाउ प्रमुख रूपमा रहेका छन् । फलाम तथा फलामजन्य उत्पादन निर्यात ७३.४ प्रतिशतले बढेर एक अर्ब २४ करोड पुगेको छ भने यार्न निर्यात २१.५९ प्रतिशतले बढेर एक अर्ब सात करोड पुगेको छ । ऊनी गलैंचाको निर्यात पनि ३.७४ प्रतिशतले बढेर ९६ करोड पुगेको छ ।

गत आर्थिक वर्षको साउनमा नेपालको कुल निर्यातमा खाद्य तेलको हिस्सा ३६.५९ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षको सोही महिना ३.६ प्रतिशतमा खुम्चिन पुगेको छ ।

तयारी पोशाकको निर्यात २१.०३ प्रतिशतले बढेर ८७ करोड पुगेको छ भने जुट तथा जुटका उत्पादनको निर्यात १.८७ प्रतिशतले घटेर ६५ करोडमा सीमित भएको छ । अर्को प्रमुख निर्यातजन्य ऊनी फेल्ट निर्यात पनि १०.०४ प्रतिशतले घटेर ५८ करोडमा सीमित भएको छ । सो अवधिमा जुस निर्यात भने ६१.७२ प्रतिशतले बढेर ५१ करोड पुगेको छ । तर, पामतेल निर्यात ८८.४६ प्रतिशतले घटेर ४३ करोडमा सीमित भएको छ । अलैंची निर्यात ३२१.९९ प्रतिशतले बढेर ९६ करोड पुगेको छ भने चिया निर्यात पनि १.८५ प्रतिशतले बढेर ४२ करोड पुगेको छ ।

त्यसैगरी समीक्षा अवधिमा अदुवा निर्यात २१९.३१ प्रतिशतले बढेर २४ करोड पुगेको छ । विगत केही वर्षमा नेपालको कुल निर्यातमा खाद्य तेल (भटमास, पाम र सूर्यमुखी तेल) को हिस्सा उल्लेख्य रहेकोमा चालु आर्थिक वर्षमा भने उल्लेखित वस्तुको निर्यात हृवात्तै घटेको छ ।

आर्थिक वर्ष २०७९/०८० को प्रथम महिनामा नेपालको कुल निर्यातमा उल्लेखित तीनवटा वस्तुको हिस्सा ३६.५९ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षको सोही महिनाको हिस्सा ३.६ प्रतिशतमा खुम्चिई ४८ करोडमा सीमित भएको छ । भारततर्फको निर्यात २०.८४ प्रतिशतले घटेर आठ अर्ब ४८ करोडमा झरेको छ । भारततर्फको निर्यात घट्नुका मुख्य कारण खाद्य तेल (भटमास, पाम र सूर्यमुखी तेल) को चार अर्ब ९४ करोड बराबरको ह्रास आउनु नै रहेको केन्द्रले जनाएको छ ।

नेपालको कुल निर्यातमा अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भारततर्फको हिस्सा ७२.३५ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षको हिस्सा ६२.७० प्रतिशतमा झरेको छ ।

२०८०/०८१ को पहिलो महिना अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा पेट्रोलियम पदार्थको आयात ६.७९ प्रतिशतले बढेर १८ अर्ब ८५ करोड पुगेको छ भने फलाम तथा स्टिल र स्टिलजन्य उत्पादनको आयात १२.४ प्रतिशतले बढेर १४ अर्ब ७९ करोड पुगेको छ । मेसिनरी तथा पार्ट्सको आयात ४.६ प्रतिशतले घटेर सात अर्ब ९२ करोड, कच्चा भटमास तेलको आयात ६७.४ प्रतिशतले घटेर १ खर्ब ९६ करोडमा झरेको छ ।

औषधि आयात पनि ४८.६९ प्रतिशतले घटेर दुर्ई अर्ब ८१ करोडमा झरेको छ भने इलेक्ट्रिक र इलेक्ट्रोनिक सामग्रीको आयात ३१.४२ प्रतिशतले बढेर छ अर्ब ११ करोड पुगेको छ । यातायातका साधन र तिनका पार्टपूर्जा आयात ७.५१ प्रतिशतले घटेर चार अर्ब २९ करोडमा झरेको छ ।

कच्चा पाम तेल आयात पनि ८०.१२ प्रतिशतले घटेर ८२ करोडमा सीमित भएको छ । खाद्यान्न आयात भने ९४.७ प्रतिशतले बढेर सात अर्ब पुगेको छ । समीक्षा अवधिमा तयारी पोशाकको आयात ०.९ प्रतिशतले घटेर दुर्ई अर्ब ५३ करोडमा झरेको छ ।

दूरसञ्चार सामग्री आयात ०.६ प्रतिशतले बढेर तीन अर्ब ६० करोड पुगेको छ भने सुन आयात २९.० प्रतिशतले घटेर एक अर्ब ८३ करोडमा झरेको छ । चालु आर्थिक वर्ष २०८०/०८१ को प्रथम महिनामा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा समग्र आयात घट्दा व्यापार घाटा ०.७ प्रतिशतले घटेर एक खर्ब १५ अर्ब ७१ करोडमा झरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?