काठमाडौं । सरकारले तीन नवप्रवर्तन उद्यमीलाई पुरस्कृत गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले तीन नवप्रवर्तन उद्यमीलाई नगद दुई-दुई लाखसहित पुरस्कृत गर्नुभएको हो । झापाको हाई हिमालय अर्गानिक प्रालिका प्रदीप घिमिरे, ललितपुरकी माउन्टेन बी कन्सर्न प्रालिकी सरिता भट्टराई र रूपन्देहीको आवास फर्निचर इण्डस्ट्रिजका यज्ञेश्वरप्रसाद श्रेष्ठ पुरस्कृत भएका हुन् ।
औद्योगिक क्षेत्रमा नवीन सोच र प्रविधिको प्रयोग गर्दै आविष्कार र नवप्रवर्तनका माध्यमबाट नेपालको औद्योगिक विकासमा उल्लेखनीय योगदान पुर्याएका उद्यमीलाई प्रोत्साहन गर्ने उद्देश्यले नवप्रवर्तनकारी उद्यमीलाई पुरस्कृत गर्ने सम्बन्धी मापदण्ड २०८० अनुसार पुरस्कृत गरिएको मन्त्रालयले जनाएको छ ।
नवप्रवर्तन कार्यमा संलग्न उद्यमीलाई प्रस्ताव गर्न सरकारले ३० दिने सूचना जारी गरेको थियो । माग गरिएको प्रस्तावअनुसार छवटा प्रस्तावमा मूल्यांकन गरिएको थियो । नेपालभित्रै मूल्य सिर्जना वा नवीनता हासिल अनुसन्धान तथा खोजमूलक कार्यमा गरेको लगानीको अवस्था, उद्योगमा प्राविधिक र विषय विज्ञको संलग्नता, उद्योगका भावी कार्ययोजना उद्योग सञ्चालन र व्यवस्थापन र बजारीकरणको नवीनतम् रणनीतिलाई मूल्यांकनको आधार तोकिएको थियो ।
त्यस्तै, उद्योग स्थापना क्षेत्र, रोजगारी संख्या, पेटेन्ट, डिजाइन र ट्रेडमार्क दर्ता अवस्था, उद्योगले गरेको कारोबार रकम र कर चुक्ताजस्ता विषयलाई मूल्यांकनको आधार बनाइएको थियो । हाई हिमालय अर्गानिक प्रालिले २०७९ देखि प्रांगारिक मल, अर्गानिक किटनाशक औषधिलगायत उत्पादन गर्दै आएको छ । कारखानाका लागि पनि कवाडीबाट फलाम, मेसिन र औजार संकलन गरी मल उत्पादन गर्ने मेसिन निर्माण गरिएको थियो ।
घिमिरेले पूर्वी टिमोर, इस्टिमोर, थाइल्याण्डलगायत करिब १५ वटा देशमा कृषि क्षेत्रमा काम गरी अनुभव प्राप्त गर्नुभएको छ । त्यस्तै माउन्टेन बी कन्सर्न प्रालिले २०६८ सालदेखि ललितपुरको कुपण्डोलमा २१ घारबाट मौरीपालन सुरु गरेर हाल एक हजार चार सय माहुरीको घारबाट मह उत्पादन गर्दै आएको छ ।
प्रत्यक्ष ३७ र अप्रत्यक्ष रूपमा करिब आठ सयजनालाई रोजगारी दिएको माउन्टेनले निर्यात गर्दै आएको छ । माउन्टेनले वार्षिक छ हजारभन्दा बढी मौरीसहितका घार र एक लाख ४० हजार केजी महका साथै चाकाबाट साबुन र लिपबामसमेत संस्थाले उत्पादन गर्दै आएको छ ।
त्यस्तै रूपन्देहीको आवास फर्निचरले आवश्यक पर्ने प्लास्टिक डोरीलगायतका सामान आफैं उत्पादन गर्दै आएको छ । उद्योगले एक हजार दुई सयजनालाई प्रत्यक्ष रोजगारी प्रदान गरेको छ ।
कृतज्ञतासहित शुभकामना
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच