काठमाडौं । नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले एमाले-कांग्रेस बीचको गएराती भएको सत्ता सहकार्यको सहमति मुलुकको आवश्यकता भएको बताउनु भएको छ ।
हिमालय टाइम्ससँग कुरा गर्दै उहाँले भन्नुभयो, ‘यो सहमतिको आधार राष्ट्रिय सहमतिको सरकार बनाउने हो ।अहिले कांग्रेस र एमाले मिल्ने र नेकपा माओवादी केन्द्रसहितका दललाई सरकारमा सहभागी हुन आव्हान गर्ने सहमति छ।’
उहाँले विशेष परिस्थितिमा प्रतिपक्ष बिहीन सरकार बनाउन कुनै बाधा नरहेको स्पष्ट समेत पार्नुभयो । उहाँले राष्ट्रिय रूपमा देखिएका जटिलता र अफ्ठ्यारालाई हल गर्ने उद्देश्यका साथ संसदका दुई दलबीच सहमति भएको बताउनु भएको विश्वकर्माले संविधानको प्रस्तावनामा कुनै परिवर्तन नहुने आश्वस्त पार्नु भएको छ ।
‘संविधान गीता , वेद , कुरान, बाइबल वा बुद्ध ग्रन्थ होइन’ विश्वकर्माले भन्नुभयो, ‘संविधान अपरिवर्तनीय कुरा होइन, जनभावना अनुसार परिवर्तन गर्न सकिन्छ , यसको आकार सानोठूलो हुनुसक्छ ।’
संविधानको प्रस्तावनामा अहिले नै कुनै परिवर्तन नहुने र नगरिने दोहोर्याउनु भएको विश्वकर्माले निर्वाचन प्रणाली र कार्यान्वयन गर्न कठिन भइरहेको मौलिकमा केही परिवर्तन गर्ने सहमति भएको बताउनुभयो । नेता विश्वकर्माले प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यको संख्या घटाउने विषयमा सहमति भएको बताउनुभयो । तर यतिनै संख्या राख्ने भन्ने विषयमा अहिले कुनै सहमति नगरिएको जानकारी दिनुभयो ।
मुलुकको जटिल परिस्थितिका कारण संविधानको पूर्ण कार्यान्वयन र शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न कांग्रेस–एमाले बीच सहमति भएको उहाँले बताउनुभयो । कांग्रेस–एमाले बीचक सहमतिलाई कुनै उथलपुथल र अस्वभाविक घटनाका रूपमा नलिन आग्रह गर्नु भएको विश्वकर्माले सहमतिलाई जनचाहना अनुसारको कामका रूपमा लिनु पर्नेमा जोड दिनुभयो ।
‘संसदको पहिलो र दोस्रो दल सरकार बाहिर रहनु पर्ने क्रम दोहिरिरहेको थियो, यो परिस्थिति अप्राकृतिक ढंगबाट सिर्जना भएको थियो,’ उहाँले भन्नुभयो, ‘निर्वाचन परिणाम आएदेखि नै कांग्रेस र एमाले मिलेर देशलाई निकास दिनुपर्छ, संकट समाधान गर्नुपर्छ भन्नेमा जनताको चाहाना थियो, त्यही चाहनाको कदर गरिएको हो ।’
विगतमा एमले र कांग्रेस बीच अविश्वासको अवस्था रहेको र अहिले त्यो अविश्वासको अन्त्य भएर विश्वासको वातावरण बनेकाले सहमतिको आधार तयार भएको विश्वकर्माको भनाइ छ । यो सहमतिलाई हल्का ढंगमा नलिन आग्रह गर्नुभएको उहाँले दलीय आस्था,विश्वास र वैचारिक आधार सहमति भएको बताउनुभयो ।
नेता विश्वकर्माले यो सहमतिले प्रधानमन्त्रीले पटकपटक विश्वासको मत लिनु पर्ने बाध्यताको अन्त्य गरेको, जबर्जस्त बहुमत पुर्याउनु पर्ने बाध्यता हटेको , अस्थिर सरकार बनाउने खेल अन्त्य भएको, देशलाई सुशासन र समुन्नतिको बाटोमा लाने आधार तयार गरेको दाबी गर्नुभयो। सत्ता सहमतिलाई जनताको आकांक्षा, समय उपज र विषयबस्तुको रूपमा व्याख्या गर्नुभयो ।
व्यवस्था परिवर्तनका लागि लडेका दुई दल कांग्रेस र एमाले बीचको सहमतिलाई संविधान कार्यान्वयन, शान्ति प्रक्रियाको टुङ्गो, राजनैतिक जोखिमको निराकरणका रूपमा बुझ्न उपयुक्त हुने नेता विश्वकर्माको धारणा छ । उहाँले बहुदलीय व्यवस्था माथिनै जोखिम छ भन्ने बजार हल्ला यो सहमतिसँगै अन्त्य भएको विश्वकर्माको टिप्पणी छ ।
गिरीबन्धु टिस्टेट, भुटानी शरणार्थी प्रकरणका फायल खोलिने डरले नयाँ समीकरण बनाउने कांग्रेस- एमाले तयार भएका हुन् भन्ने कुरा उहाँले ठाडै अस्वीकार गर्नु भएको छ । जे समझदारी भएको छ त्यसलाई सकारात्मक रूपमा लिन र बुझ्न उहाँको आग्रह छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच