म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका-६ पाखापानीमा चन्दा जुटाएर खेलमैदान निर्माण भएको छ । स्थानीयवासी, प्रवासीहरू र गाउँपालिकाको सहयोग जुटाएर स्टार स्पोर्ट्स क्लबले खेलमैदान निर्माण गरेको हो ।
४३ लाख ७७ हजार १५७ रुपैयाँको लगानीमा निर्माण भएको खेलमैदानका लागि ३५ लाखभन्दा बढी रुपैयाँ प्रवासी र स्थानीयवासीले चन्दा सहयोग गरेका क्लबका अध्यक्ष केशव पाइजाले जानकारी गराउनुभयो ।
स्थानीयवासीले उपलब्ध गराएको पाखोबारी सम्याएर ढलानसहितको खेलमैदान निर्माण गरिएको हो । चालिस मिटर लम्बाइ र १८ मिटर चौडाइमा ढलान गरी फाइबर बोर्ड राखिएको खेलमैदानको कुनातर्फ दर्शक बसेर खेल अवलोकन गर्न मिल्ने प्यारापिट बनाइएको छ । स्थानीय रामकुमारी पाइजा, धनबहादुर रोका, जसे पुन, कुल तुलाचन, हेमलाल शेरपुञ्जा र गोरे पुनले निःशुल्क जग्गा उपलब्ध गराउनुभएको थियो ।
हाल हङकङमा कार्यरत पाखापानीका भीम पुनको नेतृत्वमा १८ लाख छ हजार १५३ रुपैयाँ, बेलायतमा रहनुभएका क्लबका संस्थापक सचिव असुन पाइजा र कोषाध्यक्ष रमेश पाइजाको पहलमा छ लाख ९१ हजार रुपैयाँ, अष्टे«लियामा रहनुभएका पूर्वसहकोषाध्यक्ष डेक पाइजाको अगुवाइमा दुई लाख १५ हजार र सिंगापुरबाट एक लाख सहयोग प्राप्त भएको क्लबले जनाएको छ ।
रघुगंगा गाउँपालिकाले चालु आव २०८०/८१ मा सात लाख ४७ हजार रुपैयाँ अनुदान उपलब्ध गराएको योजनाका लागि देशभित्रै र विश्वका अन्य देशमा रहेका पाखापानीवासीहरूले आठ लाख १८ हजार पाँच रुपैयाँ सहयोग गरेका छन् । पाखापानीका १५२ घरधुरीले न्यूनतम दुई दिनका दरले श्रमदान गरेका छन् । थिरवाङ टोलवासीले गिट्टी र १२ हजार नगद रुपैयाँ सहयोग गरेका थिए । कमलनाथबाट ११ हजार र पाखापानी गाउँबाट नौ हजार रुपैयाँ सहयोग प्राप्त भएको बताइएको छ ।
स्वर्गीय टेकबहादुर र तीर्थकुमारी पुनको स्मृतिमा उहाँका छोराहरू खिम पुन र भीम पुनले तीन लाख छ हजार खर्च गरेर पाखापानीको मूल सडकबाट खेलमैदान जोड्ने सडक निर्माण गर्नुभएको छ । खेलमैदानमा घेराबार, नाली र स्टेजसहितको भवन निर्माण गर्ने लक्ष्य राखिएको अध्यक्ष पाइजाले जानकारी गराउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच