चितवन । चितवनको रत्ननगरस्थित टाँडीमा रहेको बकुलहर रत्ननगर अस्पतालमा ल्याब रिपोर्ट लिन स्वचालित मेसिन जडान गरिएको छ । बागमती प्रदेश सरकार मातहतमा सञ्चालित सो अस्पतालमा अब बिल देखाएको भरमा ल्याब रिपोर्ट मेसिनबाट स्वतः लिन सकिने व्यवस्था गरिएको छ ।
वागमती प्रदेशमै पहिलो पटक अस्पतालकै लगानीमा स्वचालित मेसिन सञ्चालनमा ल्याइएको अस्पतलाका मेसु डा.मदन ज्ञवालीले जानकारी दिनुभयो । करिब एक हप्तादेखि सञ्चालनमा रहेको सो मेसिनको विहीबार रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटाले औपचारिक रुपमा उद्घाटन गर्नुभयो ।
बकुलहर रत्ननगर अस्पतालमा बिरामीहरुलाई स्वास्थ्य सेवा लिन सहज होस् भन्ने उद्देश्यले भर्खरै नयाँ अत्याधुनिक प्रविधियुक्त मेसिन सञ्चालनमा ल्याइएको अस्पतालका मेसु ज्ञवालीले जानकारी दिनुभयो । एटिएम मेसिनजस्तै देखिने सेल्फ सर्भिस मेसिनबाट बिरामीहरुले सहजरुपमा सेवा लिनको लागि पब्लिक सर्भिस पोर्टल तयार गरिएको उहाँको भनाइ छ । मेसिनमा रहेको क्युआर स्क्यानरमा सेवाग्राहीले आफ्नो बिलमा रहेको बारकोड देखाएपछि मेसिनबाट स्वचालितरुपमा सम्बन्धित व्यक्तिको रिपोर्ट प्रिन्ट हुनेछ ।
सो मेसिनबाट यसका अतिरिक्त स्वास्थ्य बिमाअन्तर्गतका बिरामीहरुले स्वास्थ्य बिमा कार्ड मेसिनमा देखाएकै भरमा सम्बन्धित व्यक्तिको बिमा सक्रिय भए÷नभएको अवस्था, म्याद सकिने मिति, बाँकी रकमसमेत हेर्न मिल्ने व्यवस्था रहेको मेसु डा. ज्ञवालीले बताउनुभयो । यसका अतिरिक्त सेवाग्राही÷बिरामीहरुले अस्पतालको विषयमा आफ्नो गुनासो र सुझावसमेत पब्लिक पोर्टलबाट राख्न सकिने गरी काम अगाडि बढाइएको छ । बकुलहर रत्ननगर अस्पतालले केही समयदेखि स्वास्थ्य सेवालाई सेवाग्राहीमैत्री बनाउन पहलकदमी गर्दै आइरहेको छ । दैनिक एक हजार २०० विरामीको उपचार हुँदै आएको सो अस्पताल मृर्गौलाको डायलासिस र छालाको प्रभावकारी उपचारका कारण अस्पतालप्रतिको विश्वास बढ्दै गएको छ ।
सो अस्पतालमा महिलाहरुको स्तन क्यान्सरको प्रारम्भिक अबस्था पत्ता लगाउन म्यामोग्राफी मेसिन जडान गरी सेवा सुरु गरिएको छ । उक्त मेसिनबाट स्तन क्यान्सरको परीक्षण गरी उपचार समेत गरिएको छ । २÷४ जना महिलाहरुको परीक्षण गर्दा क्यान्सरको प्रारम्भिक अबस्था फेला परेपछि समयमै उपचार गरेर निको भएको मेसु डा.ज्ञावलीले बताउनुभयो । हामीले एकपछि अर्को सेवा थप गर्दै लगेका छौं उनले भने अब उपचारलाई प्रभावकारी बनाउन चिकित्सव थप गर्नुपर्नेछ ।
बागमती प्रदेश सरकार मातहत रहेको ५० शैया स्वीकृत पाएको उक्त अस्पतालमा हाल ९० शैया सञ्चालनमा छन् । अस्पतालले बहिरङ्गतर्फ विभिन्न विभागमार्फत सेवा दिँदै आएको छ । डा. ज्ञवालीका अनुसार अस्पतालले स्त्री तथा प्रसूति, हाडजोर्नी, सर्जरी, छाला, मनोरोग, बालरोग, नाक–कान–घाँटी, दन्त रोगलगायतको सेवा दिँदै आएको छ । अस्पतालमा तीन वर्ष अधिदेखि ‘मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम’ समेत सञ्चालनमा छ । पछिल्लो समय एकाएक बिरामीको आकर्षण बढेको यस अस्पतालबाट पूर्वी चितवनका चार नगरपालिकाका बासिन्दाले प्रत्यक्षरूपमा लाभ लिएका छन् ।
सो अस्पतालमा छाला, शल्यक्रिया र डायलाइसिसका लागि नवलपरासी, धादिङ, मकवानपुरलगायतका जिल्लाबाट बिरामी आउने गरेका छन् । अस्पतालमा कम जनशक्तिले धेरै बिरामीलाई सेवा दिनुपर्ने बाध्यता छ । हाल अस्पतालमा २५ विशेषज्ञ चिकित्सक, १८ मेडिकल अधिकृत, छ दन्त चिकित्सकसहित दुई सय १० स्वास्थ्यकर्मी कार्यरत छन् । रत्ननगर नगरपालिकाले ३० लाखको विपन्न सहायता कोष निर्माण गरी अतिविपन्नलाई त्यसैमार्फत उपचार सेवा दिँदै आएको छ । नगरपालिकाले नगरभित्रका तीन हजार दुई सय विपन्न परिवारको स्वास्थ्य बीमा सोही अस्पताललाई पहिलो विन्दु बनाएर गरेको मेयर सापकोटाले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच