![रास्वपामा बर्जित प्रश्नहरूमाथि प्रश्न](https://ehimalayatimes.com/wp-content/uploads/2024/07/National-Independence-Party-Hita-fornt-page.jpg)
नैतिकता, आदर्श र सिद्धान्त सामान्यतः कानुन र विधिका सामु निरीह बन्ने गरेका अनेक उदाहरण छन् । विवेक पनि कानुन र विधिका सामु कुनै समयमा परास्त हुनेगर्छ । यतिखेर नेपालको राजनीतिको आरोह-अवरोहको एउटा खुड्किलोमा नैतिकता कि विधि भन्ने बहस चल्न लागेको छ । संघीय प्रतिनिधिसभाका २७५ स्थानमध्ये करिब दुई सय स्थान कम भएर अल्पमतमा परेको सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाललाई एकथरी नैतिकताको पाठ पढाइ रहेका छन् भने अर्को थरी कानुनी लडाइँका निम्ति प्रेरित गरिरहेका छन् । अरूको प्रेरणा वा उपदेशभन्दा पनि अल्पमतमा पुगिसक्नु भएका प्रधानमन्त्री दाहालको स्वकीय विवेकभित्र छ यतिखेरको अवस्था । नैतिकता देखाएर राजीनामा दिने वा संसद्मा विश्वासको मत लिन पाउने समयको उपयोग गर्ने भन्ने निर्णय अरूका हातमा छैन । राजनीति गर्नेहरू अधिकतमले नैतिकताका विषयमा कुराहरू गरिरहेका हुन्छन् तर आवश्यकता परेको खण्डमा केही थोरैले मात्र नैतिकतालाई पालना गरेको देखिन्छ ।
भारतीय राजनीतिमा अरविन्द केजरीवाल यस भूगोलका एक उदाहरणयोग्य पात्र वनेका छन् । कुरा नैतिकताको गर्दै सत्तामा पुगेर पनि पालना नगर्ने कसम खाए जस्तो व्यवहार गरिरहेका छन् उनले । ठीक यसका विपरीत अरू कानुनका मात्रै कुरा गर्नेहरूले नैतिकताको व्यवहार देखाएका प्रशस्त उदाहरण छन् । केजरीवाल सामाजिक जागरणका निष्ठावान अभियन्ता अन्ना हजारेको स्कुलका अभियन्ता हुन् । तर, उनले सत्तामा खुट्टा टेक्नासाथ नैतिकताको त्यो पाठ बिर्सिए र जेलबाट नै सरकार चलाउने काम गरिरहेका छन् । उनी कानुनतः सही होलान् तर राजनीतिक नैतिकताको प्रश्नमा स्खलित भएको देखिन्छ ।
नेपालमा अनगिन्ती उदाहरण छन् नैतिकताका । ००८ साल यता हिसाब गर्ने हो भने दश–पन्ध्रजना जिम्मेदारहरूले उच्च नैतिक मनोबल देखाउनु भएको छ । बीपी कोइरालादेखि, कृष्णप्रसाद भट्टराईसम्म, कीर्तिनिधि विष्टदेखि केशरबहादुर विष्टसम्म, शैलजा आचार्यदेखि बलदेव मजगैयाँसम्म, मनमोहन अधिकारीदेखि लोककृष्ण भट्टराईसम्म, डा.देवेन्द्रराज पाण्डेदेखि अनेक हुनुहुन्थ्यो वा हुनुहुन्छ जसले कानुन, विधानभन्दा माथि नैतिकता र आदर्शलाई शीरमा वरण गर्नुभयो । तर, उच्च नैतिक बल भएकाहरूमा सत्तालाई अन्तिम सत्य मान्ने चिन्तन भेटिँदैन । जस्तो गणेशमान सिंहको त्यागको उदाहरण यसमा सदा स्मरणीय हुने गर्छ ।
अवसरवाद र सत्ताको लय एकआपसमा मिल्ने गरेको देखिन्छ । खास गरी अविकसित देशहरूमा । विकसित लोकतन्त्रमा त्यस्तो विरलै हुन्छ । अमेरिकी राजनीतिका सन्दर्भमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प यस्तै विरलैभित्र पर्दछन् । नेपाल जस्तो अविकसित देश, अविकसित लोकतन्त्रमा अवसरवाद र सत्ता त छुट्टिनै नसक्ने भएको देखिन्छ । यदि हामीले लोकतान्त्रिक परिवर्तनको समयावधिलाई मात्रै मूल्यांकन ग¥यौं भने पनि निरन्तर नैतिकता र आदर्श अनि सिद्धान्त स्खलित भइरहेको देखिन्छ । अहिले माओवादी केन्द्रका अध्यक्ष दाहाललाई मात्रै मर्यादा र नैतिकताको राजनीति गर्न उपदेश दिनु, पाठ पढाउन खोज्नु वा आग्रह गर्नुको कुनै औचित्य छैन । उहाँ आफैंले निर्णय गर्नुपर्ने हुन्छ ।
यसै पनि माओवादी केन्द्रको पृष्टभूमि हेर्दा आदर्श, नैतिकता, विवेक, मर्यादा, मानवता जस्ता विषयमा कुनै साइनो जोडिएर खडा भएको पार्टी होइन । वर्ग संघर्षका नाममा वर्गीय दुश्मनलाई अविवेकपूर्ण तरिकाले सफाया गर्दै निर्माण भएको पार्टी हो । त्यस्ता वर्ग दुश्मनहरू माओवादी पार्टीका नेताहरूसँग असहमतबाहेक कोही थिएनन् । उनीहरू भलै श्रमिक, शोषित, पीडित, सीमान्तकृत नै किन हुन् ।
माओवादीसँग असहमत हुनासाथ वर्ग दुश्मन घोषित हुँदै कथित जनकारबाहीमा पर्ने गरेको सबैलाई थाहा छ । तर, लोकतन्त्र र मानव अधिकारका सिद्धान्तहरूलाई आत्मसात गरी शान्तिपूर्ण रूपान्तरणमा आएपछि माओवादी नेतृत्व र पार्टीबाट नैतिक मूल्यको अपेक्षा गर्नु अनौचित्यपूर्ण हुँदैन । तर, पृष्टभूमि, वर्तमान राजनीतिमा स्थापित अवसरवाद र सत्ताकेन्द्रित संस्कारमा माओवादीबाट मात्रै नैतिकता र मर्यादाको अपेक्षा गर्नु अन्यायपूर्ण हुनेछ ।
ठीक चार महिना पहिले अर्थात् गत फागुन २१ बाट आरम्भ पछिल्लो गठबन्धन जति नाटकीय थियो यतिखेर त्यसको टुटाई पनि त्यत्तिकै नाटकीय देखिएको छ । वर्तमान गठबन्धनको पहिलो शक्ति नेपाल कम्युनिष्ट पार्टी एमालेले सरकारलाई दिएको विश्वासको मत फिर्ता गर्दै आफ्नो पार्टीबाट सहभागी मन्त्रीहरूलाई समेत फिर्ता गराएको छ । हिजो एमालेले माओवादी नेतृत्वलाई किन समर्थन गर्यो ? किन कांग्रेससँगको सहकार्यलाई तोडायो ? यतिखेर चार महिना नपुग्दै माओवादीसँगको सहकार्य किन तोड्दैछ ? र अहिले आफू किन कांग्रेससँग सहकार्यमा जुट्यो ? भन्ने अनेकथरी प्रश्नहरूमाथि समयले निरुपण गर्नेछ । स्वयं माओवादीको चञ्चल नेतृत्वले समेत निरन्तर अस्थिरताको कारक हुनुका पछाडिको रहस्य उद्घाटित नगरी हुँदैन । नेपालका सबै कम्युनिष्टहरूको एकता हुने र कथित वैज्ञानिक समाजवादको मार्ग प्रशस्त गर्ने सपना बाँड्दै हिड्ने कम्युनिष्ट पार्टीका नेताहरू किन एकपछि अर्को गरी यसरी फरकधार र भंगाला खडा गर्दै बहने गरेका छन् ? यसको जवाफ त उहाँहरूले नै खोज्नुपर्ने होला । अरूबाट संभव हुँदैन । विकसित समाजवाद अर्थात् वैज्ञानिक समाजवाद, अर्थात् देश, राज्य, जात धर्मविहीन समाजको सपना आजको युगले अस्वीकार गरिसकेको विषय हो । भोलि आउने युगले यस्ता भ्रामक विचारलाई कुन रूपमा वरण गर्ने हो अहिल्यै भन्न सकिँदैन । तर, नेपालका कम्युनिष्ट पार्टीका नेताहरू भने यस्तो भ्रान्त धारणा वितरण गर्दै आमनागरिकलाई भुल्याइरहन सफल देखिएका छन् । तर, निरन्तर यस्तो सपना शिव शर्माको सातु वा मुंगेरीलालका हसिन सपने मा परिणत हुने गरेको स्पष्ट छ । वास्तवमा अब कम्युनिष्ट पार्टीहरूले कमसेकम पार्टीको नामबाट कम्युनिष्ट शब्द, अन्तर्राष्ट्रिय हँसिया हथौडा झण्डाको प्रयोग बन्द गर्दै लोकतन्त्रका मूल्यहरूमा पूर्ण निष्ठा प्रकट गर्नसके विस्तारै विश्वसनीयता र आकर्षण बढाउने संभावना रहन्छ । अवसरवादी सत्ताको चाकाचुली खेलभन्दा लोकतन्त्रका मूल्यलाई, लोकतान्त्रिक संस्कारलाई नैतिकता र मर्यालाई शिरोपर गर्नसके विश्वसको नवीन यात्रा तय हुनसक्छ । कानुनको डोरीका नाममा आफ्नै गरिमालाई परिष्कृत गर्नु बुद्धिमानी हुँदैन । माओवादी केन्द्रले भविष्यमा नैतिकताको पाठ अरूलाई सिकाउन खोज्ने सानो गोरेटो अहिल्यै नै बनाइराख्नु उपयुक्त हुन्छ । तर, कानुन प्रयोग गर्ने अधिकार प्रधानमन्त्रीसँग सुरक्षित विकल्प हो भन्ने कुरालाई अरूले पनि बिर्सनु हुन्न ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच