![काँग्रेस-एमालेलाई रास्वपा सांसद झाको सुझाव : एकअर्कालाई विश्वास गर्नुस्](https://ehimalayatimes.com/wp-content/uploads/2024/07/Manish-Jha.jpg)
म्याग्दी । भारतीय सेनाबाट सेवा निवृत भएपछि पोखराको अमरसिंह चोकमा वस्दै आउनुभएका म्याग्दीको मालिका गाउँपालिका ५ देविस्थानका तोपबहादुर बूढालाई रातो च्याउ,सिमी,टुसा र निगुरोको तरकारी नभई खानै रुच्दैन ।
पोखरा पठाउन गाउँबाट ल्याएको आग्र्यानिक उत्पादनको पोको देविस्थानबाट दरबाङ आएको बोलेरो जीपबाट निकाल्दै गर्दा दरबाङको बसपार्कमा भेटिनुभएकी बूढाकी आफन्त पर्ने ४२ वर्षिया लालकुमारी बूढाले भन्नुभयो “सहरको वास भए पनि खान्की भने गाउँकै चाहिने,गाउँको उत्पादन सहरमा,बजारको गाउँमा । जंगलका टुसा,मुना र सागपात पनि गाउँमा नरहने भए ।”
लालकुमारीको असन्तोषी अभिव्यक्तिले सहरको सुविधा र गाउँको स्वादको प्रतिविम्व झल्काएको छ । पैसा कमाए पछि र सहरमा वस्न सक्ने हौसियत बनाएपछि सुख सुविधाको खोजिमा गाउँ छोडेर सहर पस्नेहरुको संख्या बढ्दै गएपछि गाउँहरु रित्ता हुँदै जान थालेका छन् ।
खेतबारी बाँझिदै र वनपाखा झ्याङ्गीदै गइरहेको अहिलेको अवस्थामा सहर पसेकाहरुको जिब्रोमा गाउँले आग्र्यानिक उत्पादनको स्वाद लिने चाहना भने बढ्दै गएको छ ।
म्याग्दीको सदरमुकाम बेनीबजारमा वस्दै आउनुभएकी धवलागिरि गाउँपालिका ७ धारापानीकी ७२ वर्षिया टीका कुमारी थापा, मालिका गाउँपालिका १ निस्कोट गाउँबाट १४ वर्ष अघि बेनी झर्नुभएका भवहादुर पुन,देविस्थानको रुन्माबाट झरेर दरबाङ बजारमा वस्दै आउनुभएका विरबहादुर सिउथानी गाउँको आग्र्यानिक उत्पादन झिकाएर सहर बजारमा बसी खाने गर्नुभएको छ । उहाँहरुमात्रै होइन गाउँ छोडेर सहर पसेका अधिकांश व्यक्तिहरुको भान्छामा मौसमी गाउँले आग्र्यानिक खानेकुराहरु पाक्ने गर्दछ । उहाँहरु भन्नुहुन्छ,“सहरको बास भएपनि खान्कीमा भने गाउँले उत्पादनको चाख छ ।”
माथि उल्लेख गरिएका व्यक्तिहरु प्रतिनिधि पात्रहरु मात्रै हुन् । सुख र सुविधाको खोजी गर्दै सहरमा बसाइँ सरेका मान्छेहरुले गाउँको परम्परागत खान्कीलाई भने भुल्न सकेका छैनन् । ग्रामीण घरका अगेनामा पकाइने खान्की छोडेर सहर पसेकाहरु सहरका भव्य विल्डिङका आधुनिक किचनमा पकाइएका डिनर,लन्च र ब्रेकफास्टका परिकारहरुमा गाउँले खान्कीको स्वाद खोज्न थालेपछि गाउँका खेतबारी,खोल्सा खाल्सी र बन जंगलमा उत्पादन हुने आग्र्यानिक उत्पादनहरुको माग सहरमा बढ्दै जान थालेको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले बताउनुभयो ।
“गाउँ छोडेर सहर पसेका मात्रै होइन विभिन्न ठाउँहरुबाट म्याग्दी घुम्न आएका आन्तरिक पर्यटकहरुले समेत गाउँको आग्र्यानिक उत्पादन खोज्ने गरेका छन्” अध्यक्ष श्रेष्ठले भन्नुभयो “म्याग्दी पर्यटकीय जिल्ला पनि भएकोले यहाँ उत्पादन हुने आग्र्यानिक खानेकुरा,तरकारी र फलफूलको बजारीकरणका लागि सदरमुकाम बेनी र ग्रामीण क्षेत्रमा समेत कोशेली घर संचालन गरेर आग्र्यानिक उत्पादनहरुको खरिद विक्री हुनेगरेको छ ।”
सदरमुकाम बेनीबजारमा मात्रै सातओटा आग्र्यानिक उत्पादनहरुको खरिद विक्री हुने पसलहरु संचालनमा छन् । त्यसैगरी पश्चिम म्याग्दीको दरबाङमा पनि आग्र्यानिक उत्पादनको माग बढ्दै गएपछि पसल संचालन गर्नेहरु बढ्दै गएका दरबाङका होटल व्यवसायी अमृत सापकोटाले बताउनुभयो ।
सहरको स्वादले मात्र सन्तुष्ट नहुने र गाउँले अर्गानिक उत्पादनको स्वाद विर्सन नसकेका उपभोक्तालाई लक्षित गरी बजार र गाउँ–गाउँमा स्थानीय कृषि उत्पादन राखेर ‘लोकल मार्ट’, ‘कोसेली घर’ र ‘सौगात घर’ खोलिएका छन् । ती पसलहरुमा कृषकले फलाएका ससानो परिमाणका कृषि उपज जुटाएर बेच्न राखिन्छ ।
म्याग्दीका गाउँमा फलेका अर्गानिक र जैविक खाद्यान्न काठमाण्डौ,पोखरा,चितवन लगाएतका देश भित्रका सहरमा मात्रै होइन विदेशका किचनहरुमा समेत पुग्न थालेका बेनी कोशेली घरका संचालक सुमन पौडेलले बताउनुभयो ।
“प्रायः सबैको रोजाइमा आग्र्यानिक उत्पादन पर्ने गरेका छन् । गाउँबाट सहर पसेका,पुख्यौंदेखि सहरमै बसेका र विदेशबाट नेपाल घुम्न आएकाहरु सबैले आग्र्यानिक वस्तुको सोधीखोजी गर्ने र धेरैथोरै किनेर कोशेली लैजाने गरेका छन् ।”
गाउँका किसानहरुले उत्पादन गरेका जैविक खाद्यान्न,तरकारी र जंगल तथा सिमसार क्षेत्रमा प्राकृतिक रुपमा नै उत्पादन हुने च्याउ, टुसा,मुना,निगुरो,ढकायो आदि ग्राहकहरुले खोज्ने गरेका उहाँले बताउनुभयो ।
कोसेलीघरमा मार्सी, गौरिया, गुडुरा, जेठोबूढो चामल, कोदो, फापरको पिठो, मकैको च्याँख्ला, जौको पिठो, सातुजस्ता स्थानीय खाद्य सामग्री, लेकाली सिमी, बोडी, मुलाको जरा (सिन्धी), मूलाको गुन्द्रुक, घिउ, परम्परागत मुढेघारको मह, भीर मह, भाँगो, सिलम, जंगली रातो च्याउ, टुसा, निउरोको सुकुटी, ढकायोको गुन्द्रुक आदि बिक्रीका लागि राख्ने गरिएको छ ।
मितेरी लोकल मार्टकी सञ्चालिका पुष्पा पुनका अनुसार म्याग्दीको दोवामा उत्पादन हुने ‘खैरो, छिर्केमिर्के सिमी,मुस्ताङको कालो सिमी र फापरको पिठो, तोरीपानीको टिम्मुर,रुममा उत्पादन हुने भाँगो, दोबा र बरंजाका स्वादिष्ट बदाम, गुर्जाको रातोच्याउ र भीर मह अनि गौरिया,गुडुरा धानको चामल सहरमा बस्ने उपभोक्ताहरुले बढी रुचाउने गरेका छन् ।
त्यसैगरी सिस्नोको पाउडर, टिमुरको चटनी, डालेचुक (सिवकथ्रोन) को जुससमेत खोजी गर्दै उपभोक्ताहरु आफ्नो पसलमा आउने गरेका उहाँले बताउनुभयो ।
म्याग्दीमा पहिलो पटक १२ वर्षअघि लघु उद्यम विकास कार्यक्रमले ‘सौगात कोसेली घर’ स्थापना गरेको थियो । कोसेली घर कृषकले घरमा उब्रेको थोरै कृषि उपज होस् वा कृषक समूहमा उत्पादित, फसल बजार पु-याउने माध्यम भएका छन् ।
खेतबारीमा उत्पादन भएको सानो परिमाणको अन्नपात मात्र होइन लेकाली प्राकृतिक हावापानीमा उत्पादित अर्गानिक खाद्य जे पनि बिक्री हुने व्यापारीहरु बताउँछन् ।
पत्रकार घनश्याम खड्काका अनुसार सिजनअनुसार वनपाखामा आफैं उम्रने निउरो होस् वा ढकायो । निगालाको टुसा होस् वा रातो च्याउ । सहरमा अर्गानिक खाद्य वस्तुको माग बढेसँगै सदरमुकाम र गाउँपालिका तहमा खुलेका स्थानीय खाद्य सामग्री बिक्री गर्ने कोसेली घर सञ्चालनमा आएपछि स्थानीयले जंगली वनस्पति बेचेर पनि राम्रो आम्दानी गर्न थालेका छन् ।
जंगलमा आँफै उत्पादन हुने निउरो, टुसा, ढकायो र रातो च्याउ टिपेर विक्री गरी वार्षिक रुपमा रु एकलाख बढी कमाइ गर्दै आउनुभएकी मालिका २ रुमकी फारु विकले यस वर्षको असार दोस्रो सातासम्म रु २० हजारको निगुरो र टुसा विक्री गरेको बताउनुभयो ।
“जेठदेखि साउनसम्म जंगलमा निगुरो,च्याउ,ढकायो,टुसा पाइन्छ । खेती गर्न पर्दैन, गाईबाख्राले खाइदेला भन्ने पनि हुँदैन । जाँगर भएपछि पैसा जंगलमा पनि फल्छ” विकले भन्नुभयो ।
रसिला गाउँको निरसिलो व्यथा
ढुङ्गाले छाएका घर । सल्लाका काठले बारेर चिटिक्कै पारिएका बार्दली (कौसी) । फराकिला आँन र कठवार लगाइएका पिँढी । घर नजिकै पानीको धारा, वरिपरी खेतबारी । उत्तरतर्फ आँखा लगाउँदा आखैँमा ठोक्किन आउँछन् की जस्ता देखिने हिमशृङ्खला ।
चारैतिर हरियाली । अजङको भीर छिचोलेर गाउँमै पुगेको सडक र आवतजावत गरिरहने मोटरगाडी । यो शब्दचित्र म्याग्दीको धवलागिरि गाउँपालिका ७ धारापानीको हो । आफ्नै रीतिथिति र जीवनशैलीमा रमाएको मिश्रित जातजातीको बसाइँ रहेको यो गाउँ पछिल्लो समय बसाइँसराइका कारण उजाडिँदै जान थालेको छ ।
गुजुम्म परेको बस्तीमा रहेका दर्जन बढी घरका ढोकामा ताल्चा मारिएको छ । घरको धुरी भत्किएका छन् । आँगन र पिँढीमा झाडी मौलाएको छ । खेतबारीमा वनमारा फस्टाएको छ ।, म्याग्दीका अधिकांश ग्रामीण क्षेत्रमा वैदेशिक रोजगारी, सेवा सुविधाका लागि ठूला सहर र जिल्ला बाहिर बसाइँसराइ गर्नेको सङ्ख्या ह्वात्तै बढेपछि ग्रामीण क्षेत्र खाली हुँदै गएका छन् ।
सङ्घीयताको मर्मअनुसार विकेन्द्रीकरणको नीति गाउँमा पुगेको छ । विकासका कारण विकट गाउँ सुगम बनेका छन् । पहरा फोरेर बनाइएका सडकहुँदै गाउँमा गाडी गुडेका छन् । सहरबजारका भन्दा पूर्वाधार सम्पन्न विद्यालय गाउँमा ठडिएका छन् । स्वास्थ्यचौकी गाउँमै छ । सञ्चारको सुविधा पुगेको छ । तर पनि गाउँमा बस्ने मानिस घट्दै गएका छन् ।
विकास थपिँदै गए पनि शिक्षादीक्षा, रोजगारी तथा अन्य विभिन्न कारणले सहरबजारमा झर्नेको सङ्ख्या नरोकिएसँगै ग्रामीण बस्तीमा प्रयोगविहीन अवस्थामा रहेका पुराना घर जीर्ण भएका छन् भने जनसङ्ख्या वृद्धिदर ऋणात्मक हुने अवस्थामा पुगेको स्थानीय टेकबहादुर थापाले बताउनुभयो ।
विसं २०६८ मा एक घर परिवारभित्र ४.०९ जना रहेकोमा केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको नेपालको जनगणना– २०७८ को प्रारम्भिक नतिजामा ३.६७ जना मात्र बस्ने गरेको देखिन्छ ।
एक नगरपालिका र पाँच गाउँपालिका गरी ६ ओटा स्थानीय तह रहेको म्याग्दीमा २०७८ को जनगणना अनुसार जनसङ्ख्या कमी रहेको देखिन्छ । जनगणना कार्यालय म्याग्दीले सार्वजनिक गरेको एक तथ्यांक अनुसार भारतसहित तेस्रो मुलुकमा म्याग्दीबाट कूल विदेशिनेको संख्या १० हजार ७ सय १३ रहेको छ ।
तीमध्ये ८ हजार ८४३ पुरुष र एक हजार ८७० महिला रहेको छ । ९५.८७ लैङ्गिक अनुपात, औसत परिवारको आकार ३.६७ र जनघनत्व ४७ रहेको छ । जिल्लाको कु्ल जनसङ्ख्याको घरपरिवारमा अनुपस्थित अर्थात विदेशमा अक्सर बसोबास गर्ने ०.४९ प्रतिशत रहेको छ । वैदेशिक रोजगारीमा महिलाको तुलनामा पुरुषको संख्या अत्यधिक छ । पछिल्ला वर्षमा महिलासमेत तेस्रो राष्ट्रमा रोजगारीका लागि जाने प्रतिस्पर्धा भएकाले महिला र पुरुषको जनसङ्ख्याको अन्तर घट्दो रहेको छ ।
श्रीमान् वैदेशिक रोजगारीमा गएपछि श्रीमती छोराछोरीलाई लिएर बजार झर्ने गरेकाले ग्रामीण बस्तीमा जनसंख्या पातलिँदै गएको दरबाङका व्यवसायी भरत सुवेदीले बताउनुभयो । “पहिले धेरै चलहपहल हुने गाउँ अहिले सुनसान बन्दै गएका छन्, खेतीयोग्य जमिन बाँझो भएका छन् । प्रत्येक घरमा कम्तीमा ६÷७ जना परिवारका सदस्य हुने घरमा अहिले पूरा खाली खाली देखिन्छन् भने कतै वृद्धबुबा–आमा मात्र भेटिन्छन्” उहाँले भन्नुभयो “घर संरक्षणको अभावमा खाली हुँदा खेतबारी बाँझोमा परिणत भएका छन् ।”
सङ्घीय व्यवस्था लागू भएपछि गाउँघरमै सरकारी सुविधासहित शिक्षा, स्वास्थ्यलगायत आधारभूत आवश्यकताले ग्रामीण बसाइँमा आर्कषित गर्ने नसकेको अवस्थामा नयाँ जनसंख्याको अवस्थालाई डेमोग्राफिक विश्लेषणको आवश्यकता देखिएको बुद्धिजीविहरुको भनाइरहेको छ ।
अर्गानिक समान बेच्न कोसेली घर सञ्चालन
म्याग्दीको सदरमुकाम बेनीमा सोमबार (हिजो) देखि जिल्लामा उत्पादित आग्र्यानिक सामानको खरिद र विक्रीका लागि कोशेली घरको उद्घाटन गरिएको छ ।
जिल्लाका किसानहरुले उत्पादन गरेका अर्गानिक बस्तुको बजारीकरण र प्रचारप्रसारका लागि बेनी नगरपालिका–८, कालिपुल बसपार्कमा कोसेली घर सञ्चालन गरिएको हो ।
म्याग्दीको ग्रामीण क्षेत्रहरुमा उत्पादन हुने अर्गानिक उत्पादन सङ्कलन, प्रशोधन, प्याकेजिङ गरी स्वदेश तथा विदेशमा बिक्री गर्ने गरी सञ्चालनमा आएको कोशेली घरको बेनी नगरपालिकाका प्रमुख सुरत केसी र उपमेयर ज्योति लामिछानेले संयुक्तरुपमा उद्घाटन गरेका थिए । नागरपालिकाले अर्गानिक उत्पादनको बजारीकरणमा सघाउने उहाँहरुले प्रतिबद्धता समेत जनाउनुभएको थियो ।
म्याग्दी उद्योग वाणिज्य सङ्घको संरक्षण तथा सञ्चालनमा रहेको पर्यटक सूचना केन्द्रको भवनमा कोसेली घर सञ्चालन गरिएको हो ।
“स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने नीति लिएका छौँ,म्याग्दीका अर्गानिक उत्पादनलाई ग्राहकले रुचाउने गरेको पाइएको छ” कोशेली घरको उद्घाटन पछि मन्तव्य व्यक्त गर्दै मेयर केसीले भन्नुभयो । महिला उद्यम विकास समितिकी उपाध्यक्ष एवम् अगुवा महिला उद्यमी डिलमायाँ घतानेले सञ्चालन गरेको कोसेलीघरमा स्थानीय उत्पादनको प्रवद्र्धन र बजारीकरणका लागि समेत सहज भएको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले बताउनुभयो ।
अध्यक्ष श्रेष्ठले जिल्लाका छ वटै स्थानीय तह र छिमेकी मुस्ताङका अर्गानिक उत्पादनलाई स्वदेश तथा विदेशमा बिक्री गर्ने गरी कोसेली घर सञ्चालन गरिएको जानकारी दिनुभयो । कोसेली घरमा भटमास, भाँगो, मह, घ्यु, फापरको पिठो, गहत,मकै, च्याउ, पिठो (फापर,जौ, मकै र कोदोको), चामल, सिस्नुको धुलो, ढकायो, टिम्मुर लगायत करिब सय थरिका सामान रहेको छ ।
त्यस्तै ढाका र अल्लोबाट निर्मित कपडाहरु, दुना टपरी,बाँसका मुढा, बाँसबाट निर्मित सामग्रीहरु र विभिन्न जातजातिका भेषभूषाका सामग्रीहरु समेत बिक्रीका लागि राखिएका छन् । अर्गानिक सामानका पारखीहरुलाई कोशेली घरले आर्कषित गर्ने सञ्चालिका घतानेले बताउनुभयो । म्याग्दीको अर्गानिक सामान (चिमखोले चोयाँको डोको, टिम्मुर,भीरमह, अल्लाका कपडा लगाएत) को माग विश्व बजारसम्म रहेको उहाँले बताउनुभयो ।
म्याग्दी उद्योग बाणिज्य संघका महासचिव नारायण घर्तीक्षेत्रीले उत्पादन बजारीकरणमा समस्या भएमा कोसेली घरले सहजीकरण गर्ने बताउनुभयो । महिला उद्यमीको अग्रसरतामा भएको उक्त कोसेली घरबाट म्याग्दीको ब्रान्ड स्थापित गर्ने उहाँको भनाइ थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच