
बर्लिन । इंग्ल्याण्ड जारी युरोकप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार राती सम्पन्न खेलमा इंग्ल्याण्डले अन्तिम चारमा स्थान पक्का गरेसँगै सेमिफाइनल समीकरण पूरा भएको हो । स्विट्जरल्याण्डलाई पेनाल्टी सुटआउटमा ५-३ गोल अन्तरले पराजित गर्दै इंग्ल्याण्डले अन्तिम चारमा स्थान पक्का गरेको हो ।
निर्धारित र थप गरिएको समयमा दुवै टिमले एक-एक गोलको बराबरी खेलेपछि खेलको नतिजा पेनाल्टी सुटआउटबाट निकालिएको हो । ७५औँ मिनेटमा स्विट्जरल्याण्डका ब्रेल डोनाल्डले गोल गर्दै सुरुवाती अग्रता दिलाउनुभएको थियो । तर, उक्त अग्रता स्विट्जरल्याण्डले धेरै बेर टिकाउन सकेन । ८०औँ मिनेटमा डक्लन राइसको पासमा बकायो साकाले गोल गर्दै खेल बराबरीमा ल्याउनुभयो । त्यसपछि दुवै टिमबाट थप गोल नभएपछि खेलको नतिजा पेनाल्टी सुटआउटबाट निकालिएको हो । जसमा इंग्ल्याण्डका सबै खेलाडीले गोल गर्दा स्विट्जरल्याण्डका म्यानुएल अकांजीले गरेको प्रहार विफल भएको थियो ।
स्विट्जरल्याण्डका फावियन स्केचर, जेरदनशाकिरी, मोहमेद अमदुनीले भने गोल गर्नुभएको थियो । इंग्ल्याण्डका कोलपालमर, जुड बेलिङघम, बकायो साका, इभान टोनी र ट्रेन्ट आर्नोल्डको प्रहार गोलमा परिणत भयो ।
यस्तै, युरोकपको अर्को खेलमा नेदरल्याण्ड्सले टर्कीलाई २-१ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको छ । ३५औँ मिनेटमा टर्कीका लागि स्मेट एकेडिनले गोल गर्दै अग्रता दिलाउनुभएको थियो । ७०औँ मिनेटमा स्टेफन डी भ्रिजले गोल गर्दै नेदरल्याण्ड्सलाई बराबरीमा ल्याउनुभयो । ७६औँ मिनेटमा नेदरल्याण्ड्सले उपहार गोल पायो । टर्कीका मेर्ट मुलडरले आफ्नै पोस्टमा गोल गरेपछि नेदरल्याण्ड्स २-१ ले विजयी भयो । दोस्रो हाफको अतिरिक्त छैटौँ मिनेटमा टर्कीका ब्रेटु अगुरो रातो कार्ड पाउँदै मैदान छाडेर १० खेलाडीमा समेटिए पनि त्यसको असर खेलको नतिजामा परेन । सेमिफाइनलमा इंग्ल्याण्डले नेदरल्याण्ड्ससँग खेल्नेछ । यसैगरी अर्को सेमिफाइनलमा स्पेन र फ्रान्स आमनेसामने हुनेछन् । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच