काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोमा परेर दुईवटा यात्रुबाहक बस त्रिशूली नदीमा खसेका छन् । शुक्रबार बिहान करिब साढे ३ बजेतिर भरतपुर महानगरपालिका–२९ सिमलतालमा काठमाडौंबाट गौर जाँदै गरेको एउटा र वीरगञ्जबाट काठमाडौं आउँदै गरेको अर्को यात्रुबाहक बस पहिरोसँगै त्रिशूलीमा खसेका हुन् । बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस र बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बस पहिरोसँगै बगेका हुन् । ती दुवै बसमा गरी ४८ जना बढी बेपत्ता भएका छन् । बीच बाटोमा पनि केही यात्रु चढेको हुनसक्ने भएकाले बसमा कति यात्रु सवार थिए ? भन्ने यकिन नभएको प्रहरीले जनाएको छ ।
काठमाडौं आउँदै गरेको बसमा कम्तीमा २४ र रौतहटको गौरतर्फ जाँदै गरेको बसमा २७ जना यात्रु रहेको तथ्यांक भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी भावेस रिमालले जानकारी दिनुभयो । तीनजना यात्रुले हामफालेर ज्यान जोगाउन सफल भएका थिए । विपद् व्यवस्थापन शिक्षालयबाट गोताखोरको टोलीले शुक्रबार दिनभर बस र बेपत्ताहरूको खोजी गरेका थिए । नेपाली सेना, सशस्त्र प्रहरी बल नेपालका गोताखोर टोलीले शुक्रबार बिहान करिब ९ बजेबाट खोजी मिसन सुरु गरेका थिए ।
बिहान ३ बजे खसेका दुईवटा बस शुक्रबार साँझसम्म नभेटिएको प्रहरीले जनाएको छ । साँझसम्म पनि बस र यात्रु नभेटिएपछि शुक्रबारको लागि बस खोजीकार्य स्थगित गरिएको थियो । बिहानैबाट त्रिशूलीमा खसेका बस खोजिए पनि नभेटिएकाले खोजीकार्य स्थगित गरिएको सशस्त्र प्रहरी बलका प्रवक्ता डिआइजीकुमार न्यौपानेले जानकारी दिनुभयो । अब आज (शनिबार) बिहानबाट मात्रै बेपत्ता बस खोज्न सुरु गरिने उहाँले बताउनुभयो । न्यौपानेका अनुसार त्रिशूलीमा हराएका बस खोज्न सशस्त्रका चारवटा, नेपाल प्रहरीको एउटा गरी पाँच मोटरबोट, गोताखोर टोलीलगायत प्रयोग गरिएको थियो ।
निरन्तरको वर्षाका कारण त्रिशूली नदीमा पानीको प्रवाह तीव्र भएका कारण खोजतलासमा समस्या भएको उहाँको भनाइ छ । त्रिशूली नदीको बहाव बढिरहेको र पानी पनि धमिलो भएकाले खोजी कार्यमा समस्या भएको सशस्त्र प्रहरीले जनाएको छ । गणपति डिलक्स बसका चालक किशोर चौधरी र कन्डक्टर ऋषि सिंह हुनुहुन्थ्यो । एन्जल डिलक्सको बस जवाही महतोले चलाउनुभएको थियो । राजकुमार लामिछाने र चौधरी थर भएका एक युवक सहचालक हुनुहुन्थ्यो ।
भाग्यले बाँचे तीनजना
रौतहटका जोगेश्वर राय यादव काठमाडौंबाट उपचार गरेर घर फर्किँदै हुनुहुन्थ्यो । रात्रि बस चढ्नुभएका उहाँ सिमलताल आइपुगेपछि एक्कासि सडकबाट तल त्रिशूलीमा खस्न पुग्नुभयो । ‘राति करिब साढे २ जति बजेको थियो होला । बाढीले बस बगायो,’ उहाँ भन्नुहुन्छ, ‘कसरी कसरी बाहिर निस्कन सफल भएँछु ।’ ठूलो पानी परिरहेको बेला खहरेमा एक्कासि बाढी आउँदा गुडिरहेको बस बगायो ।
यादवसँगै बसमा सवार नन्दन दास पनि बाँच्न सफल हुनुभयो । वैदेशिक रोजगारमा जाने तयारीका साथ राजधानी गएर फर्किँदा उहाँले ज्यान त बचाउनुभयो । तर, आफूसँग भएका कुनै पनि कागजपत्र जोगाउन सक्नुभएन । ‘गाडी पानीमा पुगेपछि हामी बाहिर निस्कन सफल भएछौँ,’ उहाँले भन्नुभयो, ‘मध्यरातमा पानी परिरहेको थियो । धन्न पौडी खेल्नसक्ने भएकाले अन्धाधुन्धा तरिकाले पाखामा आएछौँ ।’ लेदोसहित आएको पहिरोले आँखाअगाडि गाडी बगाएपछि पछिपछि गइरहेको गाडी चालक विक्कीकुमार महतोले झ्याप्पै ब्रेक लगाउनुभयो । उहाँका अनुसार ठूलो पानी परिरहेको हुँदा सामान्य अवस्थामा जस्तो सहजरूपमा गाडी चलेको थिएन ।
‘रोकिँदै, अगाडि बढ्दै गरिरहेको थियो,’ उहाँले भन्नुभयो, ‘अन्धकारमा गाडी नै बगाउने बाढी आएपछि मेरो त होसै उड्यो ।’ पहिरोले बाटो छेकेपछि उहाँ शुक्रबार बिहान करिब ९ बजेसम्म त्यहीँ रोकिनुभयो । सुरक्षाकर्मी सहितको टोली आएर सडक खुलाएपछि मात्रै उहाँ गन्तव्यतर्फ लाग्नुभएको हो । प्रहरीका अनुसार काठमाडौंबाट रौतहट आउँदै गरेको बस र वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बस बगाएको हो । बसमा सवारमध्ये तीन जनाबाहेक अरू जानकारी हालसम्म अज्ञात रहेको प्रहरीले जनाएको छ ।
पहिरोमा पुरिएर ११ जनाको मृत्यु
बिहीबार रातिदेखिको अविरल वर्षाका कारण पहिरोले पुरिएर कास्कीमा एकै घरका सातसहित ११ जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–१९ तल्लोकोटमा एकै परिवारका सातजना पहिरो खस्दा घरभित्रै पुरिएका हुन् ।
पोखरा–३२ चैनपुरमा पहिरोमै पुरिएर तीन जनाको मृत्यु भएको हो । पोखरा–१९ पुरुन्चौर तल्लोकोटमा घर माथिबाट आएको पहिरोले एक तले ब्लकको गारो र टिनको छाना भएको घर पुरिँदा बिहीबार राति ४७ वर्षीय कुलबहादुर परियार, उहाँकी पत्नी ४३ वर्षीया मनकुमारी, ८५ वर्षीया आमा लक्षिमा, छोरी १५ वर्षीया प्रशना, २० वर्षीया प्रभा, ज्वाइँ २५ वर्षीय अस्मित परियार र आफन्त तल्लाकोट बस्ने राधिका परियारको ज्यान गएको कास्की प्रहरी प्रवक्ता तथा डिएसपी वसन्तकुमार शर्माले जानकारी दिनुभयो ।
उहाँका अनुसार मृतकमध्ये प्रभा चितवनबाट श्रीमान् अस्मितसँगै माइत आउनुभएको थियो । छिमेकी राधिका परियारको भने पहिरोमा पुरिएर उद्धारका क्रममा पुरिएर निधन भएको थियो । पोखरा–३२ मा चैनपुरमा आरती ओझाको घर पहिरोले पुरिँदा छोरी १८ वर्षीया अनिता ओझा, ११ वर्षीया अनुष्का ओझा र भदै नौ वर्षीय प्रतीक सुवेदीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै, मादी गाउँपालिका–११ तल्लो साप्लेमा पहिरोमा पुरिएर ८० वर्षीया माइतीकुमारी गुरुङको मृत्यु भएको छ । उहाँका ५५ वर्षीय छोरा ओमबहादुर गुरुङलाई सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।
एक महिनामा १०३ जनाको मृत्यु
देशमा मनसुन भित्रिएसँगै परेको अविरल वर्षाका कारण आएको बाढी पहिरोलगायत विपद्मा परी हालसम्म १०३ जनाले ज्यान गुमाएका छन् । गत जेठ २८ गते बिहान ९ बजेदेखि शुक्रबारसम्म देशका विभिन्न स्थानमा आएको बाढीपहिरामा परी १०३ जनाको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो ।
उहाँका अनुसार बाढी पहिरोमा परेर १०९ जना घाइते र ६ जना बेपत्ता भएका छन् । यसैगरी बाढीपहिरो तथा विपद्का कारण काठमाडौंमा एकजना, कोशी प्रदेशमा १९, मधेश प्रदेशमा पाँच, बागमती प्रदेशमा ६, गण्डकी प्रदेशमा ३८, लुम्बिनी प्रदेशमा २३, कर्णाली प्रदेशमा चार र सुदूरपश्चिम प्रदेशमा सात जनागरी जम्मा १०३ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
बेपत्ता भएकामा कोशी प्रदेशमा दुईजना, बागमती प्रदेशमा दुईजना, गण्डकीमा एकजना तथा सुदूरपश्चिम प्रदेशमा एकजना गरी ६ जना रहेका छन् । बाढीपहिरो तथा विपद्का कारण काठमाडौं उपत्यकामा तीनजना, कोशी प्रदेशमा ३१ जना, मधेश प्रदेशमा आठजना, बागमती प्रदेशमा चारजना, गण्डकी प्रदेशमा २८ जना, लुम्बिनी प्रदेशमा नौ जना, कर्णाली प्रदेशमा १५ जना र सुदूरपश्चिम प्रदेशमा ११ जना गरी १०९ जना घाइते भएका प्रहरीले जनाएको छ ।
घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । कोशी प्रदेशमा ४१ र गण्डकी प्रदेशमा १२ जना गरी ५३ जनाको उद्धार गरिएको छ । बाढीका कारण १८२ घर डुबानमा परेका छन् । १८९ वटा घर, ७२ वटा गोठ, ४१ वटा पुल, एउटा विद्यालय र दुईवटा सरकारी कार्यालयमा क्षति भएको छ । उक्त अवधिमा विपद्का घटनाबाट तीन हजार ५४७ परिवार विस्थापित भएका छन् । बाढी पहिरोबाट अहिलेसम्म ४१ लाख २० हजार बराबरको क्षति भएको तथा उद्धारका लागि ५०१ जना प्रहरी परिचालन भएका प्रवक्ता कार्कीले जानकारी दिनुभयो ।
गण्डकी प्रदेशमा धेरै मानवीय क्षति
२८ जेठमा मनसुन सुरु भएयता सबैभन्दा धेरै मानवीय क्षति गण्डकी प्रदेशमा भएको छ । पछिल्लो एक महिनामा गण्डकीमा बाढी, पहिरो र चट्याङका कारण ३६ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयको तथ्यांकबाट देखिन्छ । मनसुन सक्रिय भएपछि कोशी प्रदेशमा १९ जना र लुम्बिनीमा २३ जनाले ज्यान गुमाएका छन् ।
काठमाडौं उपत्यकामा मनसुनको कारण एक जनाको मृत्यु भएको छ । मधेश प्रदेशमा पाँचजना, बागमतीमा ६ जना, कर्णालीमा चारजना र सुदूरपश्चिममा सात जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयको तथ्यांकबाट देखिन्छ । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण तीन हजार ४७३ परिवार संख्या विस्थापित भएका छन् । ९६९ घरका तीन हजार ४७३ परिवार संख्या विस्थापित भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
सुदूरपश्चिममा सबैभन्दा धेरै विस्थापित भएका छन् । वर्षासँगै आएको बाढीका कारण सुदूरपश्चिमका पाँच जिल्लाको जनजीवन प्रभावित भएको छ । कैलाली, कञ्चनपुर, दार्चुला, बैतडी र अछामका दुई हजार स्थानीय विस्थापित भएका हुन् । कैलालीमा ५७८ जना, कञ्चनपुरमा ५११ परिवारका एक हजार ७३८ जना, दार्चुलामा ९९ जना र बैतडीमा १८० जना विस्थापित भएका हुन् । उनीहरूलाई विद्यालय, सामुदायिक भवन र अस्थायी टेन्टबाट पुरानै थातथलोमा पुनस्र्थापित गर्ने प्रयास भइरहेको सरकारी अधिकारीहरू बताउँछन् ।
‘रेड एड्भाइजरी’ जारी भएका दिन रात्रिकालीन सवारी चलाउन नपाइने
‘रेड एड्भाइजरी’ (उच्च जोखिमको सूचना) जारी भएका दिन तोकिएका जिल्लाहरूमा रात्रिकालीन सवारी चलाउन नपाइने भएको छ । शुक्रबार गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखामा बसेको बैठकले उक्त निर्णय गरको हो । जल तथा मौसम विज्ञान विभागबाट ‘रेड एड्भाइजरी’ जारी भएका जिल्ला र क्षेत्रहरूमा तत् तत् दिनमा रात्रिकालीन सवारी नचलाउने निर्णय भएको छ ।
यसको कार्यतालिका यातायात व्यवस्था विभाग र यातायात व्यवसायीहरूले मिलाउने गृह मन्त्रालयले जनाएको छ । यो निर्णयसँगै बाढीपहिरो आउनसक्ने सम्भावनाको सूचना जारी भएको राति सवारी चलाउन पाइने छैन । यसअघि सुरुमा गृहले बर्खायामभर रात्रिकालीन सवारी नचलाउने प्रस्ताव गरेको थियो । तर, यातायात व्यवसायीले उक्त कुरा वैज्ञानिक नभएको बताएका थिए ।
त्यसैगरी, अबदेखि लामो तथा मध्यम दूरीमा यात्रा गर्दा टिकट अनिवार्य गरिएको छ । पहिरो जाने तथा डुबान हुने सम्भावना देखिएका जोखिमयुक्त क्षेत्रमा सडक विभाग र ट्राफिक प्रहरीले जोखिमका संकेत चिहृनहरू राख्ने निर्णयसमेत गरेको छ । त्यसैगरी यातायात व्यवसायी एवं यात्रु तथा चालकले सडक अवरुद्ध भएका स्थानहरूको जानकारी लिई त्यस स्थानमा पुग्नु अगावै सुरक्षित एवं खाद्यान्न, शौचालय लगायतको व्यवस्था भएका स्थानमा सवारी रोक्नुपर्ने निर्णय पनि गरिएको मन्त्रालयले जनाएको छ ।
सवारीसाधन जाममा परेको स्थानमा हुने कालोबजारी र चोरीजस्ता विषय नियन्त्रणका लागि सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले कडा निगरानी, अनुगमन र कालोबजारी ऐनअन्तर्गत तत्काल कारबाही गर्ने व्यवस्था मिलाउने निर्णय भएको छ । कान्ति लोकपथ लगायतका ठूला सवारी साधन चल्न अनुमति नदिइएका अन्य मार्गहरूमा पटक–पटक पटके परमिट काटी ठूला बस ट्रक लगायतका सवारीसाधन चल्न दिने व्यवस्था तत्काल बन्द गर्ने पनि निर्णय भएको मन्त्रालयले जनाएको छ ।
पृथ्वी राजमार्ग राति १० देखि बिहान ३ बजेसम्म बन्द हुने
सडक विभागले पृथ्वी राजमार्गअन्तर्गत नौबिसे–मलेखु सडकखण्डमा पर्ने गणेश खोला, डाङ्डुङ खोला, खेस्टे खोला र पोखरे खोलाका पुल मर्मत गर्नुपर्ने भएकाले राति १० देखि बिहान ३ बजेसम्म बन्द गर्ने निर्णय गरेको छ । सडक प्रयोगकर्तालाई हुनसक्ने जोखिम तथा यातायात आवागमनमा बाधा पर्न जाने देखिएकाले सम्भावित जोखिमलाई दृष्टिगत गरी उक्त सडक बन्द गर्ने निर्णय भएको विभागले जनाएको हो ।
‘गत बुधबारदेखि आगामी साउन ९ गतेसम्म हरेक दिन राति १० बजेदेखि बिहान ३ बजेसम्म सम्पूर्ण सवारी साधनलाई (एम्बुलेन्स र सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधनबाहेक) पूर्ण रूपमा रोकिने व्यहोरा जानकारी गराइन्छ,’ विभागद्वारा जारी सूचनामा भनिएको छ । विभागले वैकल्पिक मार्गका रूपमा गल्छी–विदुर–छहरे–टोखा सडक प्रयोग गर्न सम्बद्ध सबैलाई आग्रह गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच