बेनीका सडक ढलान र कालेपत्रे भएपछि यात्रा सहज

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 5 mins

म्याग्दी । म्याग्दीको एकमात्र नगरपालिका बेनी नगरपालिका भित्रका सडकहरु कालोपत्रे र ढलान भए पछि यात्रा सहज बन्दै गएको छ ।

गाउँ वस्तीसँग जोडिएका सडकहरु कच्ची भएका कारण वर्षौदेखि बर्खायाममा हिलो र हिउँदमा धुलाम्मे भएर सास्ती भोगेका बेनी नगरपालिका वासिन्दाहरु सडक पक्की हुन थालेपछि खुसी भएका छन् । स्थानीय उत्पादनलाई बजारसम्म पुर्याउन सहज भएको छ भने यात्रा गर्दा लाग्ने समय समेत छोटिएको छ ।

बेनी नगरपालिकाले गण्डकी प्रदेश सरकारसँगको लागत साझेदारीमा ग्रामिण सडक विस्तार, नाली, पर्खाल निर्माण गरी ढलान र कालोपत्रे गरेपछि ग्रामिण भेगका स्थानीयहरुलाई आवतजावतमा सहज भएको हो ।

बेनी नगरपालिकाले गत आर्थिक वर्षमा संघीय र प्रदेश सरकारसँगको साझेदारीमा नगर क्षेत्रका विभिन्न स्थानहरुका ६ वटा सडक योजनाहरुमा गरेर दुई किलोमिटर ८४ मिटर सडक प्रिमिक्स प्रविधिको कालोपत्रे र एक किलोमिटर एकसय मिटर सडक ढलान गरेको बेनी नगरपालिकाका इन्जिनियर दिपेश केसीले जानकारी दिनुभयो ।

बेनी नगरपालिकाको ७, ६, ५ र ४ नम्बर वडाका वस्तीहरुलाई जोड्ने महारानीथान-छापा-डाँडाखेत सडक योजनामा ५९ लाख ८५ हजार रुपियाँको बजेटबाट वडा नम्बर ६ को ढलेढुङ्गा-डाँडावारी खण्डमा चारसय ५२ मिटर कालोपत्रे र एकसय ३० मिटर सडक ढलान गरिएको छ ।

त्यसैगरी अर्थुङ्गे-पुलाचौर-भुतपानी सडक स्तरोन्नति योजना अन्तर्गत बास्कोट देखि माथि तीनसय २६ मिटर सडक कालोपत्रे र ७५ मिटर ढलान गरेको छ । गण्डकी प्रदेश सरकारको लागत साझेदारीमा ५९ लाख ५२ हजार रुपियाँ बजेटबाट यो सडक स्तरोन्नति सम्पन्न भएको इन्जिनियर केसीले जानकारी दिनुभयो ।

इन्जिनियर केसीका अनुसार सिंगा स्थित वडा नम्बर ४ को वडा कार्यालय जाने एकसय ६४ मिटर सडक १३ लाख रुपियाँ लागतमा कालोपत्रे गरिएको छ । नगरपालिकाले २५ लाख ६८ हजार रपियाँको बजेटबाट तातोपानी बजारमा तीनसय ६ मिटर सडक कालोपत्रे गरिएको इन्जिनियर केसीले जानकारी दिनुभयो ।

यसैगरी एककरोड ३४ लाख रुपियाँ लागतमा बेनी-पाखापानी सडक योजनाअन्तर्गत वडा नम्बर ६ अर्थुङ्गेको एक्लेपिपल देखि वडा नम्बर ९ को सिमाना किरोखोर सम्मको सडक चौढा, ग्रेड मिलाउने, नाली निर्माण, ग्यावियन झाली लगाउनेलगायतका कामहरु गरेर सातसय मिटर कालोपत्रे र पाँचसय मिटर ढलान गरिएको छ ।

सडक बोर्डको बजेटबाट संगमचोक-हुलाचोक-हुँदै पुलाचौर सडक योजनाअन्तर्गत एकसय ३२ मिटर कालोपत्रे र चारसय मिटर ढलान गर्ने योजना अनुसार ढलानको काम सम्पन्न भएको छ । उहाँका अनुसार यस योजनाअन्तर्गत जिर्ण र जोखिमयुक्त सडक रहेको पुरुन्डे, एकपाटे र अवैचौरमा सडक ढलान गरिएको छ ।

ग्रामिण कच्ची सडकहरु स्तरोन्नति भएसँगै सर्वसाधरणहरुको यात्रा सहज हुनथालेपछि स्थानीय तहप्रति जनताको आशा बढेको बेनी नगरपालिका ६ का वडाध्यक्ष कृष्णसिंह बानियाँले बताउनुभयो । उहाँका अनुसार ति सडकहरु डेढ दशक पहिला ट्रयाक खुलेका थिए ।

बेनी नगरपालिकाले ग्रामिण कच्ची सडकहरुको स्तरोन्नतिलाई प्राथमिकतामा राखेर संघीय र प्रदेश सरकारसँगको साझेदारीमा योजनाहरु सञ्चालन गरेको नगरप्रमुख सुरत केसीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?