
प्रा.डा.कुलप्रसाद कोइरालासँग मेरो दोहोरो परिचय केही समय पहिलेमात्र भएको हो । उहाँ नेपाली राष्ट्रिय दैनिक हिमालय टाइम्सको स्तम्भकार हुनुहुन्छ । म यस पत्रिकाको उपसम्पादक र लेख रचनाको सम्पादनको जिम्मामा रहेका कारण म उहाँका लेखहरूको पहिलो पाठक बन्दै आएको छु । सोही कारण हामीबीच दोहोरो परिचय स्थापित हुन पुगेको हो । यही नाताले मैले उहाँसँग यो अन्तरङ्ग गर्ने मौका पाएको हुँ ।
कुलप्रसाद कोइराला विसं २०१२ साल जेठ २० गते तत्कालीन पूर्व ३ नं. ओखलढुंगा रातमाटे पुराना गाउँमा पिता पं.फणीन्द्रनाथ कोइराला र माता नन्दकुमारी कोइरालाका जेठो छोराका रूपमा जन्मिनुभएको हो । उहाँका भाइहरू केशवप्रसाद कोइराला, लेखनाथ कोइराला, केदारनाथ कोइराला घनश्याम कोइराला (श्याम कोइराला) र मीनप्रसाद कोइराला हुनुहुन्छ । उहाँकी जेठी बहिनी र अरू सबै भाइहरूकी दिदी गंगा ( फणीन्द्रकुमारी कोइराला (काफ्ले) र कान्छी बहिनी कृष्णकुमारी कोइराला हुनुहुन्छ ।
उहाँले त्रिभुवन विश्वविद्यालयमा ३८ वर्ष १० महिना पढाएर उमेरहदका कारणले अनिवार्य अवकाश पाउनुभएको छ । २०३९ साल वैशाखमा जनकपुर नगरपालिका वडा नं.४ का डा.रामआदर शर्मा पाण्डेय र नर्मदा शर्मा पाण्डेयकी छोरी रमासँग उहाँको विवाह भयो । उहाँका तीनजना छोरा हुनुहुन्छ । उहाँका जेठा छोरा लोकनाथ कोइराला र जेठी बुहारी रिना कोइराला (मण्डल) दुबै प्राध्यापन गर्नुहुन्छ । माइला छोरा डा.ठाकुर कोइराला हाल भक्तपुर क्यान्सर अस्पतालमा कार्यरत हुनुहुन्छ भने माइली बुहारी नम्रता कोइराला (श्रेष्ठ) सौन्दर्य संशाधनको काम (मेकअप) गर्नुहुन्छ । कान्छा छोरा गोविन्द कोइराला मेकानिकल इन्जिनियर हुनुहुन्छ र अमेरिकाको नर्थक्यारोलाइना राज्यमा बस्दै आउनुभएको छ । बुहारी किम कोइराला (हृवेज) त्यहीँ पब्लिक हेल्थमा काम गर्नुहुन्छ ।
प्रा.डा.कुलप्रसाद कोइराला बाजुरा र हुम्लाबाहेक नेपालका ७५ जिल्लामा उहाँका पाइला परेका छन् । उहाँले भारत, अमेरिका र चीनको भ्रमण गर्नुभएको छ । घरमै पिताजीबाट प्राथमिक स्तरको अध्ययन गर्नु भएका कोइराला माध्यमिक तहको अध्ययनका लागि नेपाल राजकीय प्रधानपाठशाला ज्ञानकुप जनकपुर धाममा भर्ना हुनुभयो र त्यहीँबाट पूर्वमध्यमा (प्रवेशिका) पूरा गर्नुभयो । याज्ञवल्क्य लक्ष्मीनारायण संस्कृत क्याम्पस मटिहानीबाट प्रवीणता प्रमाणपत्र र स्नातक तहसम्म पनि त्यहीँबाट पूरा गरेपछि स्नातकोत्तरको अध्ययनार्थ उहाँ राजधानी काठमाडौंको भृकुटीमण्डपस्थित वाल्मीकि संस्कृत क्याम्पसमा भर्ना हुनुभयो । उहाँले यही क्याम्पसबाट आचार्य र त्रिवि केन्द्रीय क्याम्पस कीर्तिपुरबाट नेपालीमा स्नातकोत्तर गर्नुभयो । नव्य व्याकरण उहाँको अध्ययनको विषय हो ।
उहाँ आफूले लेखेर नाम, दाम तथा यश तीनै कुरा पाएको छु भन्नुहुन्छ । यस्तो जवाफ अरू कमै मात्र साहित्यकारहरूबाट पाउँन सकिन्छ । धेरैको ‘केही पाइनँ’ भन्ने असन्तुष्टि नै रहन्छ ।
रामस्वरूप रामसागर बहुमुखी क्याम्पस जनकपुर धाम, गोरखा शिक्षा क्याम्पस, गोरखा हिले पोखरी, रत्नराज्यलक्ष्मी क्याम्पस भृकुटीमण्डप काठमाडौंमा रहेर उहाँले प्राध्यापन गर्नुभयो । २०३८ साल भादौ १ गते सेवा प्रवेश गर्नुभएका कोइराला २०७५ साल जेठ २१ मा उमेरहदका कारण अवकाश प्रप्त हुनुभयो । संस्कृत, नेपाली, हिन्दी, मैथिली, भोजपुरी भाषाको विज्ञ कोइराला अङ्ग्रेजी भाषाको समेत ज्ञान राख्नुहुन्छ । सामान्य निम्नमध्यम वित्तीय पहाडे ब्राहृमण परिवारमा उहाँको जन्म भएको हो । अहिले उहाँ लेखन चिन्तन र अध्ययन गरेर अवकाश प्राप्त जीवनको सदुपयोग गरिरहनुभएको छ । सेवामा छँदा उहाँले एकजना प्राध्यापकले गर्नुपर्ने पढ्ने, पढाउने, अनुसन्धान गर्ने, अनुसन्धान गराउने, लेख्ने, लेखाउने जस्ता कामहरू गर्नुभयो ।
पूर्वमध्यमा पास नगरुन्जेल उहाँ कविता लेख्नुहुन्थ्यो । उत्तरमध्यमामा पुगेपछि कविता लेख्न छाडेर समालोचना र स्वतन्त्र लेखनतिर लाग्नुभयो । स्नातक, स्नातकोत्तरसम्म पढ्दा नेपाल विद्यार्थी संघको कार्यकर्ता बनेर काम गर्नुभयो । पछि नेपाली कांग्रेसको समर्थक बन्न पुग्नुभयो । अहिले साहित्यमा समालोचना, कथा, नाट्य एवं एकाङ्की र निबन्ध लेखेर समय बिताइरहेको छु भन्नुहुन्छ ।
उहाँका फुट्कर रचना अनेकौं पत्रपत्रिकामा छरिएर रहेका छन् । तिनलाई जम्मा गरेर सम्पादन गरी छपाउन सके आठ-दशवटा पुस्तक बन्थे तर उहाँ त्यसका लागि जाँगर छैन भन्नुहुन्छ । जाँगर नहुनुको कारण चाहिँ छपाउने पैसा नभएको हो भन्नुहुन्छ उहाँ । उहाँ ‘उत्पद्यन्ते विलीयन्ते दरिद्राणां मनोरथाः’को स्वाद लिएर बसेको छु भन्नुहुन्छ । उहाँका हालसम्म मौलिक, सम्पादित तथा समालोचनाका गरी डेढ दर्जनभन्दा बढी पुस्तक प्रकाशित भइसकेका छन् ।
उहाँले लेखनमा किन रुचि राख्नुभयो त ? उहाँ भन्नुहुन्छ ‘सारै विद्वान् गुरुहरूसँग पढेँ । उहाँहरूले पढाइ एक, चिन्तन दुई, मनन् तीन र लेखन छ गुणाका दरले नबढाए पढेको विद्याले काम र माम दुबै दिँदैन भनेर उपदेश दिनुभयो । देवकोटा, लेखनाथ, मोतीराम, भानुभक्त सबै लेखनबाटै महान् बनेका देखेँ र विश्वेश्वरप्रसाद कोइराला पनि लेखन र चिन्तनबाटै महान् बनेका रहेछन् भन्ने निष्कर्षमा पुगेपछि लेखन् अभ्यासमा लागेँ ।’ उहाँले सुरुमा कविता लेख्नुभयो, पुरस्कार पनि पाउँनुहुन्थ्यो । पछि निबन्ध लेखेर पनि पुरस्कार पाउनुभयो । अरूका पुस्तक पढ्दापढ्दै लेखेपछि मात्रै ठूलो मान्छे बनिनेरहेछ भनेजस्तो लागेर लेख्न थालेको उहाँ बताउनुहुन्छ ।
‘आधुनिक नेपाली साहित्यमा पनि सामान्यतया प्रेम, यौन, मनोविज्ञान, प्रगतिशील, प्रकृति, परिष्कार, स्वच्छन्दता जस्ता कुरा भित्रिसकेका छन् । अब तिनलाई अनावश्यक भनेर पनि कुनै अर्थ छैन । प्रगतिशीलताको कुरा गर्दा साहित्यका कुनै पनि विधा स्वतः नै प्रगतिशील हुन्छन् । अहिले वामदर्शनका अनुयायीले प्रगतिशील र अप्रगतिशील भनेर विश्व साहित्यमा नै हुइँया चलाएका छन् तर यसले स्तरीय साहित्य सिर्जना गर्न भने आजसम्मै पनि सकेको छैन ।’
‘अतः साहित्य पानक बन्नुपर्दछ, विचारप्रधान कुरा त दर्शनमा, समालोचनामा या वाङ्मयका अन्यान्य विधामा आइहाल्छ नि ! पानक भनेको सर्वत हो । साहित्य सर्वतजस्तै सहभावको हुनुपर्दछ भन्ने लाग्छ मलाई । वैचारिक साहित्यमा ती कुरा नभएर खडा गरिएका कृत्रिम कुराको आधिक्य रहन्छ’ उहाँ भन्नुहुन्छ ।
‘विचारको स्ट्याम्प लाउन बानी परेकाले भन्लान् पनि तर विचारका निमित्त म नेपाल विद्यार्थी संघ र नेपाली कांग्रेससँगै नजिकमा बसेर काम गर्छु बरू तर साहित्यलाई विचारका गिर्खा हालेर स्वाद न व्यादको बनाउन चाहन्न’ उहाँ यसरी वर्तमान साहित्य र त्यसमा पनि कम्युनिष्टहरूले भन्ने गरेको प्रगतिशीलताका बारेमा आफ्नो विचार व्यक्त गर्नुहुन्छ ।
उहाँ किन लेख्नुहुन्छ त ? ‘मैले, पहिलो सिर्जना थोरै गरेको छु । जे जति गरेको छु तिनमा चाहिँ म मेरा मनमस्तिष्कका अन्तर्बेचैनीलाई शमन गर्न लेख्छु । अतः मेरो सिर्जनात्मक लेखन स्वान्त सुखाय नै हो । समालोचना चाहिँ कहिले अनुरोधमा, कहिले आवश्यकताले कहिले चाहिँ जागिरको पदोन्नतिका लागि पनि लेखेँ तर तिनले मलाई आवश्यकता पूरणमा सहयोग गरेपनि आत्मिक आनन्दलाभ गराउन सकेका छैनन्’ उहाँ भन्नुहुन्छ ।
उहाँ आफूले लेखेर नाम, दाम तथा यश तीनै कुरा पाएको छु भन्नुहुन्छ । यस्तो जवाफ अरू कमै मात्र साहित्यकारहरूबाट पाउँन सकिन्छ । धेरैको ‘केही पाइनँ’ भन्ने असन्तुष्टि नै रहन्छ । ‘मजस्तो साधारण ब्राहृमण परिवारमा जन्मेको मान्छेले काठमाडौंका नवधनाड्यका नाकमा चोर औंलो पुर्याएर तिनको सातो काड्ने तागत यही पठन र लेखनले दिएको त हो नि मलाई’ उहाँको जवाफ छ । ‘लेखेर मैले धेरैका खप्की पनि खाएँ, थोरै असल मान्छेको प्रशंसा पनि पाएँ । सबैभन्दा धेर मैले मेरा पाठक (जो पढ्छन्) तिनको माया पाएँ । प्रशंसक र आलोचक दुबै पाएको छु ।’
उहाँ लेखेर अरूको प्रशंसा सुन्ने लाल्चा सबै गुमाएँ भन्नुहुन्छ । खरा शब्द प्रयोग गरेर लेख्ने उहाँको प्रवृत्ति छ । त्यसैले उहाँले यसो भन्नुभएको हुनसक्छ । ‘लेख्ने र पढ्ने लतले रमाइलो गर्ने रल्लिने समय नै पाइँन । राजादेखि प्रधानमन्त्रीसम्म कुस्ती खेल्नुपर्यो । छात्रावासमा बस्दा धेरै साथीले सिनेमा हेर्नका लागि भात बेचे, तन्ना बेचे, सुत्ने खाट बेचे र अन्त्यमा दुई वर्षे लागेर जस्तो आएका थिए त्यस्तै घर फर्के ।’
‘मैले यही पढ्ने र लेख्ने बानीका कारण सिनेमा हलमा गएर आजको ६८ वर्षको उमेरसम्ममा जम्मा ६ वटामात्रै सिनेमा हेरेको छु । किनभने म घरबाट निक्लेको पढेर जीवन धान्ने बन्नका निमित्त नै हो । अरूजस्तो बाबुको धन खर्च गर्न र शहरमा बसेको छु भनाउन होइन । नपढेको भए घाँसदाउरा गर्ने पनि क्षमता हुनेथिएन मेरो । त्यसका लागि कम्तीमा एउटा घर, दुईचार कट्ठा बारी या खेत त चाहिन्थ्यो नि ! हो, त्यही केही नभएको नागबेली लहरो बन्थेँ म’ उहाँको यो तर्क गाउँबाट आएर पढेका धेरैसँग मेल खाने खालको छ ।
अहिले उहाँ लेख्नेपढ्ने काम गरिरहनुभएको छ । समय-समयमा लेखेर अधुरा छाडेका उहाँका दशवटा पुस्तकमध्ये हालै दुईवटा प्रकाशित भए । दुईवटा अहिले प्रेसमा छन् । अरू छवटा कम्प्युटरमा परिमार्जन या सम्पादनको प्रतीक्षामा बसेका छन् । अनि उहाँ तिनलाई परिमार्जन गर्दै हुनुहुन्छ । उहाँका अबका योजना के छन् ? ‘म अति नै अव्यवस्थित र साधारण, गाईभैंसी, बाख्रापाठा चराउने, भकारो सोहोर्ने, घाँस दाउरा काट्ने खोज्ने काम गरेर हुर्केको मान्छे हुँ । यस्ता काम गरेर हुर्केका मान्छेका के योजना हुन्छन् र योजना बनाउने ? मैले त ‘यद्भावी नद्भावी भाविचेदन्यथा’ मा विश्वास गरेर यतिसम्म गरेँ/यहाँसम्म आएँ ।’
‘साँचो कुरो गर्ने हो भने योजना, तयारी, अभ्यास जस्ता शब्द बुझेको र सुनेको नै शास्त्रीतिर पढ्दा होला । गाउँमा जन्मेका र दुःखमा हुर्किएका मान्छेका कुनै योजना या मानसिक तयारी हुन्छन् जस्तो मलाई लाग्दैन । मेरा त्यस्ता योजना छैनन् र मेरो परिवेशकाले यदि यस्ता योजना हुन्छ भन्छन् भने ती किर्ते र ढाँट कुरा हुन्’ उहाँको धारणा यस्तो छ । छोरा साना हुँदा राति निद्रा कटौती गरेर लेखपढ गर्थें अब ठूला भए । म पनि अवकाश प्राप्त जीवनमा छु । फुर्सँदै फुर्सद भएको हुनाले अहिले नभ्याए भरे, भरे पनि नभ्याए भोलि-भोलि पनि नभ्याए पर्सी गर्दा भएको छ । ‘आफैं चार मासाको छुइँन चार तोलाको अलंकार किन भिर्ने’ भन्थे महाकवि देवकोटा मेरा पनि योजना र सहयोग असहयोगमा खास कुनै प्रकारको अडान या अनुभूति छैन’ उहाँ भन्नुहुन्छ ।
साहित्य सिर्जना गर्न सजिलो छैन । उहाँ प्राणीले प्राणीबाहेक अरू जे पनि सिर्जना गर्न अप्ठ्यारै हुन्छ भन्नुहुन्छ । अरू कुरामा चाहिँ निकै ठूलो समाधि, साधना र परिश्रम गर्नै पर्छ । मानिसको जीवनमा केही न केही अविस्मरणीय घटना हुन्छन् । उहाँका जीवनमा पनि यस्ता अविस्मरणीय घटना छन् :
(क) एक दिन बाख्रा चराउन जाँदा एकजाना गफाडी साथीले मैले त थोत्रा नाङ्लालाई दुवै बाँहाँमा बाँधेर अग्लो कान्लाबाट उडेर स्वर्गमा गएर द्यौताको राजा इन्द्रसँग जरुवा पानी कहाँ छ ? भनेर सोधेँ अनि उसले बताएका ठाउँमा गएर टन्न स्वर्गको जरुवा पानी खाएर यहाँ आएँ भनेर मलाई सुनायो । उसले भनेको पत्यार गरेर मैले पनि त्यसै गरेँ । तीन दिनपछि मात्रै घरमा रुवाबासी गरेको चाल पाएँ । दाहिँने हात भाँचिएर मलाई होस् आएपछि काम्रो बाँधे । तीन महिनासम्म देब्रे हातले भात खाएँ । अहिले पनि दाहिने हात अलि बांगै छ । यति साहस र विश्वास कमैले गर्लान् ।
(ख) सँगैका साथी प्राइमरी विद्यालयमा जानथाले मलाई कौमुदी घोक् तैँले ब्रहृमविद्या पढ्नुपर्छ भनेर बाले स्कुल जान दिनुभएन । अनि म घरका काम ठग्न ढाँट्न र छल्न थालेँ । यस्तैमा एक दिन साँझतिर हाम्रा घरमा एकजना विचित्रको मान्छे बास माग्न आयो । आमाले पिँढीमा गुन्द्री ओछ्याइदिनुभयो र हातगोडा धोएरभित्र आएर भात खानुस् भनेपछि भात खान त्यो मान्छे भित्र पस्दा लाल्टिनका उज्यालामा हेर्दा त देब्रे गोडामा घुँडाको बटुकीबाट एउटा हाड पलाएर तल्तिर नली हाडमा जोडिएको रहेछ । लामा न लामा कपाल पालेको, छड्के पारेर घुँघुरु लाएको दुम्सीका काँडाको पगरी र माला बनाएको ढ्याङ«ो, गजो पनि बोकेको रहेछ ।
त्यसदिन त डर पनि लाग्यो मलाई । पछि त्यो मान्छे हाम्रै मतानको माथिल्ला तलामा बस्यो र वरपर धामी बस्न थाल्यो । मलाई पनि धामी बन्ने रहर लाग्यो । उसले भनेका अनेकौं काम गर्दा पनि उसले मलाई धामी बनाउन सकेन र अन्त्यमा मलाई भन्यो तपाईंले वेद पढेको हुनाले झाँक्रीमन्त्रले छुन सकेन ।
यसका लागि मैले उसले भनेनुसार राति कसैले थाहा नपाउने गरी मान्छे गाडेको या मान्छे डढाएको चिहानमा बसेर कुनै दश हजार, कुनै दुई सय, कुनै चाहिँ बीस हजार पटक मन्त्र पनि जपेँ । चिहानका मान्छेका खप्पर जम्मा गरेर पनि अनुसन्धान गरेँ । धामी बन्न बासँग झगडा गरेर वेद पढ्न छाडेँ तर यो प्रयास खेर गयो । मैले जानेर गरेका रमाइला काम हुन् यी । लेखन कसैको पेशा पनि होला कसैको व्यवसाय पनि होला तर उहाँका लागि लेखन आनन्द प्राप्ति हो । नेपालमा लेखेर बाँच्न सक्ने अवस्था छ ? उहाँ यस सम्बन्धमा आफ्नो खास कुनै अनुभव छैन भन्नुहुन्छ ।
राजनीतिक वाद वा उहाँको आस्थाका सम्बन्धमा उहाँ भन्नुहुन्छ : ‘जनकपुरमा पढ्न बस्दा बोध दादा, सरोज कोइराला, केशव कोइराला, हरिहर विरही, जयजयराम झा जस्ता नेता र अग्रजका संगतले म नेपाल विद्यार्थी संघमा लागेँ । अलि नबुझ्दा म अनेरातिर पनि लहसिएँ । पछि जब विश्वेश्वरप्रसाद कोइरालाका सम्बन्धमा सुनेँ । राजाले गरेको ज्यादती, जनकपुरका कम्युनिष्टको हालत आचरण पनि देखेँ, बुझेँ अनि म नेपाल विद्यार्थी संघ र नेपाली कांग्रेसको प्रजातान्त्रिक समाजवादतिरै दृढ भएर लागेँ र कांग्रेसका आफूले सक्ने सानाठूला सबै काममा म संलग्न भएरै आएको मान्छे हुँ ।’
‘हाल पनि मलाई कांग्रेसकै सिद्धान्त र आदर्श मन पर्छ तर यसलाई वर्तमान नेतृत्वले कम्युनिष्टको पिछलग्गु बनायो । अहिलेका गतिविधि मन नपरे पनि नेपालीले मेरो कांग्रेस भन्न पाउने गरी कांग्रेसमा नवप्रवर्तन होला कि भनेर पर्खिरहेको छु’, उहाँ भन्नुहुन्छ । उहाँ आपूm नेपाली कांग्रेसको क्रियाशील सदस्यबाहेक कुनै पनि संघसंस्थामा संलग्न छुइँन भन्नुहुन्छ । नेपालको वर्तमान साहित्यिक प्रवृत्तिका सम्बन्धमा उहाँको धारणा छ, ‘सिद्धान्त र गन्तव्य हराएका विधाको मिश्रणले साहित्य असाहित्य बन्दै जानथालेको अवस्था छ तर पनि बिस्तारै साहित्यले आफ्नो मूलस्वरूप समात्ला भन्ने आस गरौं । अहिले चाहिँ नारालाई साहित्य र साहित्यलाई नारा बनाएर लेखन क्षेत्रकै अपमान भएको देख्छु । सबै त्यस्ता पनि छैन । केही सिर्जन धमिलिएका छन् ।
प्रत्येक नवपुस्ता पुरानोभन्दा प्रतिभाशाली नभए पनि नवप्रविधि र नवस्वरूप लिएर आएको हुन्छ । अतः तटस्थ र निस्पृह निर्णायक मण्डल बनाएर पुरस्कार प्रदान गर्ने संस्थासँग सम्बद्ध व्यक्ति या संयन्त्र या समूह जो छन् तिनको पनि सुमति हुनुपर्छ ।
वर्तमान नेपाली साहित्यमा रहेका विसंगति र नकारात्मकताहरूमा सुधार गर्न सकिने सम्भावना उहाँ देख्नुहुन्छ र भन्नुहुन्छ, ‘यसमा सुधार गर्न पानक पुस्तक पढ्ने, पानक पुस्तक सिर्जना गर्ने भनेर प्रतिभाशाली व्यक्तिले संकल्प गर्नुपर्छ र लेखक स्वयं आफ्ना स्फुरणप्रति इमानदार हुन सक्नुपर्छ । राज्यले पनि राम्रा लेखक र सिर्जनालाई प्रोत्साहित गरी नारा सिर्जनालाई वास्तै नगर्ने वातावरण बनाउनुपर्छ तर नेपालमा त्यो परिस्थिति मुसाका सिङको कल्पना होला कि जस्तो देखिन्छ । तर, राष्ट्रिय साधकलाई सम्मान गरिने संस्थामा राजनीतिक दलका भाटचारण भरिन थालेका कारण तुरुन्तै सुधार हुने सम्भावना कम छ ।’
लेखनका माध्यमबाट पनि आफू अरू केही मानिसहरूभन्दा अलिक माथि उठ्नुभएको जस्तो लाग्छ ? उहाँ भन्नुहुन्छ, ‘त्यस्तो अनुभव त मैले आफैंले चाहिँ गरेजस्तो लाग्दैन तर विश्वविद्यालयले डाक्टर उपाधि दियो, प्राध्यापक पनि दियो । यी दुई कुरा त व्यक्तिले आफैं स्वघोषाणा गरेर या किनमेल गरेर पाइने कुरा होइनन् । यसबाट कहिलेकाहीँ लेखनले मलाई अरूभन्दा केही भिन्न बनाएछ जस्तो पनि लाग्छ ।’
पछाडि फर्किएर हेर्दा आफू कहाँ आइपुगेको जस्तो लाग्छ ? भन्दा उहाँ भन्नुहुन्छ, ‘धेरै मेरा गाईबाख्रा चराउने, वनपात गर्ने साथी कहाँ छन् कहाँ ? थाहै छैन । यसमा गौरव गर्ने कि दुःखमनाउ गर्ने मैले बुझेकै छुइँन ?’ ‘आफू कसैका आँखामा ठूलो मान्छे बने पनि मलाई थाह छ म असल मान्छे बन्न सकेको छुइँन ।’ आफ्नो खरो स्वभाव र स्पष्ट दृष्टिकोणका कारण उहाँले यस्तो विचार व्यक्त गर्नुभएको हुनसक्छ ।
हाल गुणात्मक साहित्य सिर्जना कम र संख्यात्मक बढी भइरहेको कुरालाई उहाँ अति नै सत्य कुरो भन्नुहुन्छ । ‘केही स्वनामधन्य साहित्यकार हटाइदिने हो भने नेपाली भाषासाहित्य त रित्तो खोक्रो बन्छ कि जस्तो लाग्छ ।’ गफबाहेक आफूले केही नगरेका कारण आपूmले अहिलेसम्म कुनै मानसम्मान र पुरस्कारहरू नपाएको उहाँ बताउनुहुन्छ । अर्कातिर हाल मानसम्मान र पुरस्कारहरूको महत्व घटेको हो कि जस्तो देखिन्छ । उहाँ पनि यसमा सहमत हुनुहुन्छ । लेखनका लागि प्रेरणाको कुरा गर्दा उहाँ भन्नुहुन्छ ‘कुनै व्यक्तिभन्दा सामूहिक रूपमा सम, लेखनाथ, देवकोटा र बीपीबाट बढी प्रभावित छु ।’ उहाँ सहायक प्राध्यापकबाट विश्वविद्यालय सेवामा प्रवेश गरेर प्रध्यापक जस्तो उच्च तहमा पुग्नुभयो र रिक्रुटमेन्टबाट विश्वविद्यालयमा प्रवेश गरेर उपकुलपति जस्तो विश्वविद्यालयको सर्वेसर्वा आलाकमान बनेर अवकाश पाउनुभयो ।
उहाँले पदमा रहँदा के-के खास काम गर्नुभयो ? ‘खास त मलाई काम गर्न अहिलेको भागबण्डा र कांग्रेस-कम्युनिष्टसम्बन्धी विभेदले दिएनन् भने पनि हुन्छ । नेपाल संस्कृत विश्वविद्यालयमा मैले स्थापत्यशास्त्रको पाठ्यक्रम बनाएर पठनपाठन सुरु गराएँ । अवकाशप्राप्त प्राध्यापकलाई क्याम्पस प्रमुखले दिएको दुःखलाई बुझेर बैंकमार्फत पेन्सन खाने व्यवस्था मिलाएँ । प्राध्यापक, कर्मचारीमाथि विश्वविद्यालयका रजिष्ट्रार र लेखाका मान्छेले गरेको शोषण देखेर मैले त्यो कोषलाई राज्यले सञ्चालन गरेका कोष तथा लेखाप्रणालीमा राखिदिएँ । यो काम गर्दा मैले गाली र ताली दुवै प्रसस्त खाएँ ।’
‘नेपालको साहित्यक क्षेत्रमा स्तरभन्दा गतानुगतिकता, वैचारिक आग्रह, तालमेल र नसनाताको प्रभावले यो क्षेत्र प्रदूषित हुन लागेको देख्छु । जुन र जस्ता कृति तथा कृतिकारलाई पुरस्कृत गरिएको देखिन्छ कहिलेकाहीँ त्यसले यस्तै दृश्यावली प्रस्तुत गरेको छ । एउटा खास बेलामा एउटा कृति लेखेर थारो बसेका लेखकलाई अहिले पनि पुरस्कृत गर्नु भनेको गतानुगतिकता या तालमेल या नसनाताको प्रभाव नभनेर के भन्ने त ?’ उहाँ प्रश्न गर्नुहुन्छ ।
उहाँ तिनलाई सुधार गर्ने सुझाव पनि दिन चाहनुहुन्छ ? ‘माटो खाली बस्दैन । खनजोत गरेर बाली नलाए केही न केही उम्रन्छ । मानव मस्तिष्क पनि त्यस्तै हुन्छ । केही न केही यसले उब्जाउँछ जन्माउँछ । प्रत्येक नवपुस्ता पुरानोभन्दा प्रतिभाशाली नभए पनि नवप्रविधि र नवस्वरूप लिएर आएको हुन्छ । अतः तटस्थ र निस्पृह निर्णायक मण्डल बनाएर पुरस्कार प्रदान गर्ने संस्थासँग सम्बद्ध व्यक्ति या संयन्त्र या समूह जो छन् तिनको पनि सुमति हुनुपर्छ तर सुध्रन नचाहनेलाई सुधार्न भने सकिँदैन ।’
‘देशका समग्र पक्ष र पाटालाई स्वस्थ र सुललित बनाउने राजनीतिले हो । राजनीतिक पद्धति राम्रो भएरमात्रै पुग्दोरहेनछ । हिजो बीपी, सुवर्ण, गणेशमान, कृष्णप्रसाद र गिरिजाप्रसाद तथा सुशील कोइरालाका पालाको नेपाली कांग्रेसमा भन्दा आजको नेपाली काङ्ग्रेसमा जसरी जुन मात्रामा विचलन आएको छ त्यही विचलन यो देशका वामवृत्तमा पनि आएको हुनाले सिंगो मुलुक त्यही गन्दगीपूर्ण दलदलमा फसेर निस्सास्सिइरहेको देख्छु ।’ उहाँको तर्क छ, ‘राम्रा काम पनि भएका होलान् र राम्रा मान्छे पनि होलान् तैपनि वनमा अहिंस्रक जन्तु पनि हुन्छन् तर वनमा पस्ने प्रत्येक मान्छेका मनमा हिंस्रकको नै बिम्ब पहिले आएजस्तै हो ।’
नयाँ पुस्तालाई सुझाव दिने क्रमामा डा.कोइराला भन्नुहुन्छ, ‘समग्र वातावरण जस्तो हुन्छ त्यसकै प्रभाव सर्वत्र देखिन्छ । मानव समाजमा गलत कुराको चाँडो सञ्चार हुन्छ र असल कुराको सञ्चार मन्दगतिमा हुन्छ । साहित्य र प्राध्यापनमा पनि त्यही नै हो । राम्रा मान्छे प्रशासनमा पनि होलान्, प्राध्यापनमा पनि होलान्, राजनीतिमा पनि होलान् तर विविध कारणले त्यस्ताको नाम हामी नै अगाडि ल्याउँदैनौं ।
साहित्यमा पनि आफ्ना बुताबाट चार पंक्ति लेखिँदैन । अर्कालाई लाएर आफ्नो समूह समातेर चर्चामा आउने रोग फैलिएको हुनसक्छ ।’
मैले उहाँलाई आफ्नो मूल्यांकन गर्न लगाएँ तर उहाँ, ‘म नै चार मासाको छुइँन चार तोलाको अलंकार कसरी भिरौं ?’ भनेर देवकोटोको भनाइ दोहो¥याउँदै पन्सिन चाहनुभयो । बौद्धिक, प्राज्ञिक सामथ्र्य त उहाँमा छँदैछ यसका साथै अहिलेको आर्थिक तथा भौतिक आर्जन पनि उहाँकै हो । ‘सबै मेरो आफ्नै पसिना र संग्रह हो’ उहाँ भन्नुहुन्छ । उच्च तथा बौद्धिक व्यक्तित्व प्रा.डा.कुलप्रसाद कोइरालाको सुस्वास्थ्य, दीर्घजीवन तथा प्राज्ञिक उन्नयनको कामना । समाप्त ।
अहा, वरिष्ठ साधक तथा तथ्य वक्ता अादरणीय काेइरालाकाे बहुमुखी व्यक्तित्वकाे मीठाे विहङ्गावलाेकन । धन्य, वत्स ।