‘रुतं दुःखं द्रावयति नाशयति वा रुद्रः’ अर्थात् दुःख नाश गर्ने अर्थमा रुद्र शब्दको अर्थ गरेको पाइन्छ । शिवजीका सहस्रनाममध्ये रुद्र पनि एक हो । एउटै भगवान्का दुई रूप छन् घोर र शान्त । घोर रूपलाई रुद्र र शान्त रूपलाई शिव भनिन्छ । रुद्रसूक्तमा भगवान्का दुवै रूपको स्तुति गरिएको छ । यसरी रुद्राभिषेकको अर्थ भगवान् शिवजीलाई विशेष विधिपूर्वक स्नान गर्नु भन्ने हुन्छ ।
विधिपूर्वक भगवान्लाई स्नान गरी पूजा आराधना गर्ने विधि विशेष नै रुद्राभिषेक हो जसलाई सामान्य अर्थमा रुद्री भनेर पनि सम्बोधन गरिन्छ । जसबट भगवान् प्रशन्न हुनुहुन्छ र अभीष्ट वर प्रदान गर्नुहुन्छ भन्ने शास्त्रीय वचन पाइन्छ । यसरी गरिने रुद्राभिषेक शिववास चक्र जुरेको अवस्थामा गर्न सकिन्छ । श्रावण शिवजीको प्रिय महिना हो । यसैले प्रिय समयमा वा उचित समयमा गरिएको कार्य पूर्णतः फलदायी रहन्छ । यसैले श्रावण महिनामा विशेष रुद्राभिषेक हुने गर्दछ ।
भगवान्को उपासना गर्ने तीन मुख्य विधि छन् । पहिलो हो अभिषेकात्मक । जसअन्तर्गत भगवान्को प्रतिमा राखी पञ्चामृतले अभिषेक गरिन्छ । यसका साथै अभीष्टसिद्धिका निम्ति कामना अनुसारका वस्तुले स्नान गर्ने विधि पनि पाइन्छन् । अर्को हो जपात्मक, जसअन्तर्गत भगवान्का मन्त्र जपद्वारा उपासना गरिन्छ । यसै गरी अर्को यज्ञ हुन्छ हवनात्म जसमा मन्त्रोच्चारणपूर्वक हवन गरिन्छ । यी तीन यज्ञमध्येको एक अभिषेकात्मक यज्ञ नै रुद्राभिषेक हो ।
रुद्राभिषेकका आवृत्तिअनुसारका फल वर्णन पाइन्छन् । बालग्रह शान्तिका निम्ति एक आवृत्ति, उपसर्ग शान्तिका निम्ति तीन आवृत्ति, ग्रह शान्तिका निम्ति पाँच आवृत्ति, महाभय शान्तिका निम्त सात आवृत्ति, वाजपेय यज्ञको फल बराबर प्राप्तिका निम्ति नौ आवृत्ति रुद्री पाठ गर्नुपर्दछ ।
नीलकण्ठ भगवान्ले कालकूट विषलाई कण्ठप्रदेशमा धारण गर्नुभएको छ । जसले उत्पन्न गर्ने तापलाई अभिषेकले शमन गर्दछ । जसबाट भगवान् प्रसन्न भई वरदान दिनुहुन्छ ।
‘धारणा पारणे कुर्यादुपोषणमथापि च ।
पञ्चामृताभिषेकं च मम प्रीतिकरं परम् ।।’
(स्कन्दपुराण, श्रावणमाहात्म्य, ईशसनत्कुमार-संवाद, २।८) भगवानको प्रीतिका निम्ति पञ्चामृतको अभिषेक उत्तम मानिएको छ । पञ्चामृतमा गाईको दुध, दही, घ्यू, मह, चिनी वा सखर पर्दछन् ।
अभीष्ट सिद्धिका निम्ति भगवान्को उपासना गर्ने एक सरल विधि रुद्राभिषेक हो । श्रावणमा नक्तव्रत गरी प्रत्येकदिन रुद्राभिषेक गर्नाले आशुतोष भगवान् प्रसन्न हुनुहुन्छ :
‘कुर्यान्नक्तव्रतं योगिन् श्रावणे नियतो नरः ।
रुद्राभिषेकं कुर्वीत मासमात्रं दिने दिने ।।’
(स्कन्दपुराण, श्रावणमाहात्म्य, ईशसनत्कुमार-संवाद, २।५) अर्थात् श्राणमा गरिएको रुद्राभिषेक भगवान्लाई अझ प्रीतिदायी र आफ्नो अभीष्ट सिद्धिदायी रहने भएकाले पनि श्रावणमा रुद्राभिषेक विशेष रूपमा गरिएको हो । यसै गरी भगवान्ले कण्ठप्रदेशमा कालकूल विष धारण गर्नुभएको छ । जसले अत्यन्त ताप उत्पन्न हुन्छ । सोही तपाबाट शान्तिका निम्ति देवगणले जलवर्ष गरेको समय श्रावण रहेकाले पनि यो महिना रुद्राभिषेक शिवप्रीतिदायी रहने गर्दछ ।
रुद्राभिषेक : आवृत्ति र फल
यसरी गरिने रुद्राभिषेकका आवृत्तिअनुसारका फल वर्णन पाइन्छन् । बालग्रह शान्तिका निम्ति एक आवृत्ति, उपसर्ग शान्तिका निम्ति तीन आवृत्ति, ग्रह शान्तिका निम्ति पाँच आवृत्ति, महाभय शान्तिका निम्त सात आवृत्ति, वाजपेय यज्ञको फल बराबर प्राप्तिका निम्ति नौ आवृत्ति रुद्री पाठ गर्नुपर्दछ । राजसूय यज्ञ गरे बराबरको फल प्राप्तिका निम्ति एघार (रुद्र) आवृत्ति पाठ गर्नुपर्दछ ।
‘बालग्रहोपशान्त्यर्थमेकावृत्तिमुदीरयेत् ।
उपसर्गोपशान्त्यर्थं त्रिरावृत्तिं पठेन्नरः ।।
ग्रहोपशान्त्यै कर्तव्या पञ्चावृत्तिर्वरानने ।
महाभये समुत्पन्ने सप्तावृत्तिमुदीरयेत् ।।
नवावृत्या भवेच्छान्तिर्वाजपेयफलं लभेत् ।
राजवश्ये विभूत्यै च रुद्रावृत्तिमुदीरयेत् ।।’ (रुद्रयामल, मेरुतन्त्र)
यसैगरी शत्रु नाश एवम् कामना सिद्धिका निम्ति तेत्तीस अवृत्ति, वशीकरणका निम्ति ५५ आवृत्ति, सुख प्राप्तिका निम्ति ७७ आवृत्ति, पुत्र–पौत्र धनधान्य प्राप्तिका लागि ९९ आवृत्ति रुद्री पाठ गर्न सकिने कुरा पनि पाइन्छ । धर्म, अर्थ, काम र मोक्ष प्राप्तिका साथै अल्पमृत्यु विनाशका निम्ति महारुद्राभिषेक रुद्री गर्नुपर्दछ । साधना सिद्धिका निम्ति तीन महारुद्र, राज्य प्राप्तिका लागि पाँच महारुद्र, सात लोक सिद्धिका निम्ति सात महारुद्र, पुनर्जन्मको निवृत्तिका निम्ति नौ महारुद्र अभिषेक गर्नुपर्छ ।
एकादशभिरेतैस्तु महारुद्रः प्रकीत्र्तितः ।
धनप्रदोद्रधनानाश्च महापातकनाशनाः ।। (मेरुतन्त्र, १२।१३८) ।
यसै गरी भूत, प्रेत, डाकिनी आदिको भय निवृत्तिका साथै देवत्व प्राप्तिका निम्त एक अतिरुद्र, ग्रहदोष शान्तिका निम्ति ५ अतिरुद्र, सर्वरोग शान्तिका लागि सात अतिरुद्र लगाउनुपर्छ (कर्मकाण्ड, पृ.६१-६२) । एघार आवृृत्ति पाठ हुने रुद्री हो । (११× ११)=१२१ आवृत्ति पाठ हुने लघुरुद्र, (१२१× ११)=१३३१ आवृत्ति पाठ हुने महारुद्र र (१३३१ × ११)=१४६४१ आवृत्ति पाठ अुने अतिरुद्र हो (पूर्ववत्, पृ.४१) । कामना सिद्धि तथा शत्रु पराजयका लागि ३३ आवृत्ति पाठ, स्त्रीलाई वश तथा शत्रु नाशका लागि ५५ आवृत्ति पाठ, धन प्राप्तिका लागि ७७ आवृत्ति पाठ, पुत्रपौत्र तथा धनधान्य प्राप्तिका लागि ९९ आवृत्ति पाठ गर्नुपर्छ । राजभय निवारण, शत्रुको नाश, धर्म, अर्थ, काम, मोक्षको साधन, अल्पमृत्युको निवारण, आरोग्य, यश, श्रीको प्राप्ति, राज्यबाट सम्मान प्राप्तिका लागि एक महारुद्र पाठ गर्नुपर्छ ।
‘रुद्रैस्त्रिभिः कामसिद्धिर्वैरिहानिश्च जायते ।
रुद्रैः पञ्चभिः शत्रुश्च तथा स्त्रीवश्यतामियात् ।।
रुद्रै सप्तभि संख्यास्याच्छि«यमाप्नोति मानवः ।
नवरुद्रैः पुत्रपौत्रधनधान्यसमन्वितः ।।
राजभीतिविनाशाय वैरस्योच्चाटनाय च ।
धर्मार्थकाममोक्षाणां साधनाय ततः परम् ।।
अल्पमृत्युविनाशाय तथारोग्ययशः श्रियैः ।
राजवृद्धिप्रदेयाय महारुद्रैकसंख्यया ।।’ अर्थात्
त्रिभिश्चैव महारुद्रैरसाध्यसाधनाय च ।
पञ्चभिश्च महारुद्रैः राज्यकामः मध्यते ।।
सप्तभिश्च महारुद्रैः सप्तलोकः प्रसाध्यते ।
नवभिश्च महारुद्रैर्पुनर्जन्म नविद्यते ।।
अतिरुद्रैक सङ्ख्येन देवत्वं प्राप्नुयान्नरः ।’ (शुक्लयजुर्वेद रुद्राष्टाध्यायी, पृ. ६)
असाध्यको साधनको लागि तीन रुद्र पाठ, राज्यको कल्याणको लागि पन्चरुद्र पाठ, सातै भुवनमा कीर्ति विस्तारका लागि सप्तरुद्र पाठ गर्नुपर्छ । नवरुद्र पाठ गर्नाले पुनर्जन्म हुँदैन भन्ने पनि फल वर्णन पाइन्छ ।
संसारमा जति सूक्ष्म वस्तु छन् ती अधिक शक्तिशाली रहन्छन् । आध्यात्मिक शक्ति पनि सूक्ष्म तत्व हो । यसरी अध्यात्म उपासनाका अनेकौं विधि छन् । जसमध्ये अभिषेकात्मक उपासना विधि एक हो, जसलाई रुद्राभिषेक वा रुद्री पनि भनिन्छ ।
कामनाअनुसार रुद्राभिषेक
वर्षाको कामना गर्नेले केवल जलले रुद्राभिषेक गर्नुपर्दछ । कुशसहित जलले रुद्राभिषेक गरे शान्ति प्राप्त हुन्छ । दहीले रुद्राभिषेक गरे पशु प्राप्ति हुन्छ । लक्ष्मी प्राप्तिका निम्ति उखुको रसले रुद्राभिषेक गर्नुपर्दछ । यसैगरी धन प्राप्तिका निम्ति मह र घ्यूले अभिषेक गर्न सकिन्छ । मोक्षको कामना गर्नेले तीर्थको जलले रुद्राभिषेक गर्नुपर्दछ । यसैगरी पुत्र/सन्तान प्राप्तिका निम्ति दूधको धारा लगाई रुद्री गर्नुपर्दछ । सन्तानसम्बन्धी कुनै समस्या समाधानका निम्ति पनि दूधको धाराले रुद्राभिषेक गर्नु पर्दछ ।
‘जलेन वृष्टिमाप्नोति व्याधिशान्त्यै कुशोदकैः । दध्ना च पशुकामाय श्रिया इक्षुरसेन च । मध्वाज्येन धनार्थी स्यान्मुमुक्षुस्तीर्थवारिणा । पुत्रार्थी पुत्रमाप्नोति पयसा चाभिषेचनात् ।। बन्ध्या वा काकबन्ध्या वा मृतवत्सा च यांगना । सद्यः पुत्रमवाप्नोति पयसाचाभिषेचनात् ।।’ (रुद्रयामल, मेरुतन्त्र) यसैगरी रोगबाट शान्ति पाउनका निम्ति शुद्ध जलले अभिषेक गर्नुपर्दछ । यसैगरी वंश विस्तार चाहनेले घ्यूको धाराले, बुद्धि बढाउन सखर र दुधको मिश्रणले र शत्रु नाशका निम्ति सस्र्युंको तेलले रुद्राभिषेक गर्नुपर्दछ भनी कर्मकाण्ड (कक्षा ८, पृ.६१) पुस्तकमा उल्लेख गरिएको छ ।
रुद्राभिषेकमा रुद्रसूक्तको विशेष पाठ हुने गर्दछ । संसारको सृष्टि स्थिति र लय कर्ता स्वयं महेश्वर हुनुहुन्छ । शिवदेखिमाथि कोही नभएकाले सर्वकल्याणार्थ शिवस्तुति गान गरिएको हो । रुद्री पनि भगवान्कै स्तुति हो । जहाँ भगवान्लाई प्रार्थना गरिएका ऋचा पाइन्छन् : ‘नमस्तेरुद्रमन्यवद्रउतोतद्रइषवेनमः । बाहुभ्यामुततेनमः ।।’ (यजुर्वेद,१६।१) यसैगरी अनेकौँ नामले सम्बोधन गर्दै भगवान्का चरण कमलमा निम्न ऋचाले स्तुति गान गरिएको छ ‘नमोस्तुनीलग्ग्रीवायसहस्राक्षायमीढुषे ।। अथोयेऽअस्यसत्वानोहन्तेभ्योकरन्नमः ।।’ (यजुर्वेद, १६।८) हरेक कण कणमा शिववास हुने र त्यस्ता कण कणरूपी महेश्वरलाई शतत नमन गरिएको छ । ‘नमो हिरण्यवाहवे सेनान्येदिशाञ्चपतयेनमो नमो वृक्षेभ्यो हरिकेशेभ्यः पशूनाम्पतये नमोनमः ।।’(यजुर्वेद, १६।१७) ‘नमो गणेभ्यो गणपतिभ्यश्चवोनमोनमोव्व्रातेभ्यो व्व्रातपतिभ्यश्चवोनमोनमो...’ (यजुर्वेद, १६।२५)
स्वर्ग, अन्तरिक्ष, पृथ्वी आदि सर्वत्र व्याप्त परब्रहृमलाई शतत नमन गरिएको छ : ‘नमोस्तुरुद्रेभ्योयेदिवियेषांव्वर्षमिषवः..’ (शु.यजुर्वेद, १६।६४) नमोस्तु रुद्रेभ्योयेअन्तरिक्षेयेषां....(शु. यजुर्वेद, १६।६५) नमोस्तुरुद्रभ्योयेपृथिव्यां...(शु. यजुर्वेद, १६।६६) ।हरेक मन्त्रमा शिव शक्ति अन्तर्निहित रहने भएकाले पनि आध्यात्मिक शक्ति आर्जनका निम्ति पनि रुद्राभिषेक गरिन्छ ।
संसारमा जति सूक्ष्म वस्तु छन् ती अधिक शक्तिशाली रहन्छन् । आध्यात्मिक शक्ति पनि सूक्ष्म तत्त्व हो । यसरी अध्यात्म उपासनाका अनेकौं विधि छन् । जसमध्ये अभिषेकात्मक उपासना विधि एक हो, जसलाई रुद्राभिषेक वा रुद्री पनि भनिन्छ । आशुतोष भगवान्को आरधाधना सर्वकल्याणकारी रहने भएकाले रुद्राभिषेक गरिन्छ । विशेषतः रुद्राभिषेक गर्नाले समस्त मनोकामना सिद्धि हुने कुरा शास्त्रमा फल वर्णन पाइन्छ । यसैले सर्वकल्याणार्थ रुद्राभिषेक गरिन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच