✍️ शर्वराज आचार्य
विसंं २०२९ आसार २९ गतेदेखि वर्तमान भानु नगरपालिका वडा नं.४ मा पर्ने तनहुँ जिल्लाको चुँदीरम्घामा आदिकवि भानुभक्त आचार्यले जन्मेको ठाउँ र उनको जन्मघर कहाँ थियोे भन्ने बारेमा चर्चा भइरहेको देखिन्छ । विसं २०२९ भन्दा अगाडिका लेखकहरूले भानुभक्त चुँदीरम्घाको कुन ठाउँमा जन्मेका थिए ? उनको जन्मघर कहाँ थियो भनेर कलम चलाएनन् । भानुभक्तले नै ‘घर तिनको तनहुँ त बेसी चुँदी हो, गाउँ छ रम्घा भनी’ लेखेका र बाजे श्रीकृष्ण आचार्य तथा भानुभक्तका सन्ततिहरू चुँदीरम्घामा बसोवास भएकाले मोतीराम भट्टले भानु जन्मघरको स्थल ठम्याउन चाहेनछन् । त्यसैले भानुभक्तको देहावसान भएको विसं १९२५ देखि विसं २०२८ सम्म यससम्बन्धी कुनै सोधखोज भएको सूचना भेटिँदैन ।
विसं २०२९ को असारमा नेपाली भाषासेवी गोपाल पाँडे असीमको नेपाल शिक्षा परिषद्को आयोजनामा भानु जयन्ती मनाउन काठमाडौंबाट चुँदीरम्घा गएका साहित्यकारहरूले भानुभक्त जन्मेको ठाउँ र जन्मघरका बारेमा सर्वप्रथम सोधखोज गरेको पाइन्छ । यसले भानु जयन्तीका दिन सर्वप्रथम विसंं २०२९ असारमा रम्घाको शिखर कटेरीमा भानुभक्तको भग्नावशेष घर फेला पार्यो र यो साहित्यकारको टोली काठमाडौं फक्र्यो ।
विसं २०५५ तिर आदिकवि भानुभक्तको चलचित्र निर्माण गर्दा तत्कालीन भानु जन्मस्थल विकास समितिलाई भानु जन्मस्थल र जन्मघरको आवश्यकता बोध भएछ । यसले छायांकनका निम्ति शिखर कटेरी (धर्मशाला वा शिखर कटेरी) मा भानुभक्तको जन्मघर निर्माण गरेको थियो ।
भानुभक्तका बाजे श्रीकृष्ण आचार्यको रम्घा गाउँको घर यो यो ठाउँमा थियो भन्ने किंवदन्तीहरू छँदै थिए । श्रीकृष्णका छोराहरू छुट्टभिन्न भएपछि घर बनाएका ठाउँ पनि किंवदन्ती बने । श्रीकृष्ण र उनका छोराहरूका रम्घा गाउँका घरले पनि अनुश्रुतिकै रूप लिए । विसं २०२९ सम्म अनुश्रुति अनुसार शिखर कटेरी (धर्मशाला) मा भानुपुत्र रमानाथ आचार्यको गाउँको घर थियो भन्ने कुरा रम्घावासीलाई सबैलाई अवगत थियो । विसं १९०२ को बर्खा याममा जन्मेका भए रमानाथको जन्मस्थल र जन्मघर दुबै शिखर कटेरी हुने भयो ।
तर, भानुभक्त भने बाबुहरू छुट्टभिन्न नहुँदै श्रीकृष्ण आचार्यको रम्घा गाउँ, धर्मशाला वा बेँसीको घर भएको ठाउँमा जन्मेका हुन् । डाँडामा श्रीकृष्ण आचार्यको जग्गा नभएकाले त्यहाँ उनको स्थायी घर थिएन भन्ने छ । डाँडो अर्कैको बिर्ता भएकाले तिरो तिरेर अस्थायी रूपमा तल्लो रम्घा, तामाकोट र शिखर कटेरीमा आदि ठाउँमा श्रीकृष्ण वा उनका छोराहरू बस्थे भन्ने अनुश्रुति भेटिन्छन् ।
विसं २०५५ तिर आदिकवि भानुभक्तको चलचित्र निर्माण गर्दा तत्कालीन भानु जन्मस्थल विकास समितिलाई भानु जन्मस्थल र जन्मघरको आवश्यकता बोध भएछ । यसले छायांकनका निम्ति शिखर कटेरी (धर्मशाला वा शिखर कटेरी) मा भानुभक्तको जन्मघर निर्माण गरेको थियो । त्यहाँदेखि रम्घाको शिखर कटेरीमा रहेको घरलाई आदिकवि भानुभक्त आचार्यको जन्मघर भन्न थालियो । चलचित्रले दर्शकहरूका मानस पटलमा त्यही घरलाई भानुभक्तको जन्मघर हो भन्ने छाप लगाएको छ । त्यो जन्मघर विसं २०६० को वैशाखतिर जंगलमा लागेको डँढेलोले सखाप पार्यो । त्यस ठाउँमा पुनः पश्चिमाञ्चल विकास मञ्चले विसं २०७३ चैत्र २२ गते भानुभक्तको जन्मघर बनाउन शिलान्यास गरेको थियो । अहिले सात/आठ वर्षपछि उक्त मञ्चले भानु जन्मघर निर्माण गर्ने कार्य अगाडि बढाउने प्रतिबद्धता जनसमक्ष ल्याएको छ । यसै सन्दर्भलाई लिएर यो लेख तयार गरिएको हो ।
भानुभक्तको जन्मघर भन्ने बित्तिकै बाजे श्रीकृष्ण आचार्य र उनका ६ भाइ छोराका सगोलको घर भन्ने बुझिन्छ । के शिखर कटेरी भएको ठाउँ भानुभक्तको जन्मघर वा उनका बाबुहरूको सगोलको घर रहेको ठाउँ हो ? शिखर कटेरीमा नै भानुभक्त जन्मेका हुन्, किन भनियो ? यतातर्फ विचार गरौँ । विसं १९४८ मा भानुभक्त जीवनी लेख्दा मोतीराम भट्टले भानुभक्त जन्मेको ठाउँ र घर कुन ठाउँमा थियो भनी श्रीकृष्णका कान्छा छोरापट्टिका पनाति र नाताले भानु भतिजा रामदत्त आचार्य (१९१५) र भानुभक्तका छोरा रमानाथ आचार्य (१९०२-१९६८) लाई सोधेको भए पत्ता लगाउन सक्थे तर सोधेनछन् ।
यसपछि श्रीकृष्ण आचार्यका सन्ततिले भानुभक्तको बारेमा लेखेको देख्न सकिन्छ । सर्वप्रथम श्रीकृष्ण आचार्यकी जनातिनी र भानुभक्तकी नातिनी विष्णुमायाले भानु साहित्य प्रचारप्रसार गर्ने उद्देश्यले ‘भानुभक्त मणिमाला’ (१९९८) प्रकाशित गरिन्, यस कृतिको ‘कवि परिचय’मा उनले आचार्यहरूको मूल घर वा भानु जन्मघर उल्लेख गरेकी छैनन् । यसपछि श्रीकृष्णका साहिँला छोरापट्टिका जनाति नरनाथ आचार्य (१९६२-२०४५) ले ‘आदिकवि कविसम्राट् भानुभक्त आचार्यको सच्चा जीवन चरित्र’ (२०१७) लेखे । त्यसमा श्रीकृष्ण आचार्यको गाउँको घर रहेको ठाउँ उल्लेख छैन ।
शर्वराज आचार्य लिखित ‘भानुभक्तको जीवनीका मतान्तरको तुलनात्मक विश्लेषण’ (२०७८ : ९७) भन्ने कृतिको वृद्धवृद्धाका कथन शीर्षकमा श्रीकृष्णका ठाहिँला छोरापट्टिका खनाति विजयराज आचार्यसँग विष्णुमायाले ‘म त धर्मशाला/शिखर कटेरीमा जन्मेकी हुँ तर हजुरबा भानुभक्त आचार्य भने तल्लो रम्घामा जन्मनु भएको हो’ भनेको देखिन्छ ।
यस प्रसंगमा शिखर कटेरीको ठाउँ खोज्ने र त्यो ठाउँ चिनाउने श्रीकृष्णका जनाति र भानुभक्तकै कान्छा नाति शिवभक्त आचार्य देखिन्छन् । विसं २०२९ आसार २९ मा भानुजयन्ती मनाउन, भानुजन्मस्थान र जन्मघर खोज्न चुँदीरम्घा पुगेका गोपाल पाँडे तथा अन्य साहित्यकारलाई शिवभक्तले शिखर कटेरीमा भानुभक्तको भत्केको घरको पुरानो गारो र ठाउँ देखाए, त्यो साहित्यकारको समूहलाई आफैंले खानपानको व्यवस्था गरे, आफू र अन्य भानुसन्ततिबाट चुँदीबेँसीमा भानुस्मृति भवन निर्माण गर्न जग्गा दान गरे ।
सम्भवतः गोपाल पाँडेले रवीन्द्रनाथ ठाकुर, सेक्पियर र वर्डस्वर्थहरूका जन्मघर र जन्मस्थल झैँ भानु जन्मस्थल, शिखर कटेरी र चुँदीरम्घाको विकास गर्न सकिने सपना देखेका थिए । आफ्नो सपना पूर्ण गराउन उनले मिति २०२९ असोज १९ गतेका दिन तत्कालीन श्री ५ को सरकारलाई बुझाएको भानु जन्मस्थलको विकाससम्बन्धी १३ बुँदे स्मृतिपत्र नेपाली शिक्षा परिषद्को वार्षिक पत्रिका ‘राष्ट्रभाषा’ (२०५४ : ४५-४८) मा यसका प्रधान सम्पादक रमा शर्माले प्रकाशित गरेकी छन् । स्मृतिपत्रको बुँदा नं. ६ मा भानुभक्त जन्मेको घर हाल खण्डहर भएकाले त्यसको संरक्षण र मर्मत गरिदिने कुरो रहेको छ । यसरी गोपाल पाँडेले नेपालीहरूमा विश्व कविहरूको जन्मघर र जन्मस्थल झैँ भानुभक्तको चुँदीरम्घाको विकास गरौँ भन्ने चेतना उद्बोध गराएको देखिन्छ ।
विष्णुमाया वा विजयराज आचार्यको भनाइ र भानुभक्तकै प्रश्नोत्तरको श्लोक पत्याउने हो भने भानुभक्तको जन्मघर तल्लो रम्घा हो । नरनाथको भनाइमा भानुभक्तको जन्मघर तामाकोटतिर हुनसक्छ । भानुका नाति शिवभक्त, पनाति मुक्तिनाथ र रामचन्द्र पौडेलको भनाइमा भानुभक्तको जन्मघर शिखर कटेरी हो ।
भानुभक्तका कान्छा नाति शिवभक्त आचार्यले मात्र होइन, ‘आदिकवि भानुभक्त आचार्यको खोजपूर्ण जीवनी’का लेखक भानु पनाति मुक्तिनाथ आचार्य (२०४२ : ३) ले पनि ‘कवि भानुभक्तको जन्म रम्घा धर्मशालामा भएको हो तर तल्लो रम्घामा भानुभक्तको जन्म भएको थियो भन्ने कुरा प्रमाणहीन किंवदन्ती हो’ भनेका छन् । प्रायः किंवदन्तीको के प्रमाण हुन्छ र ? उनका आमा हजुरआमाले आफ्नो गाउँको घर शिखर कटेरीबाट भएको कुरा नाति र पनातिलाई सुनाएका रहेछन् । त्यसैले भानुभक्तको रम्घागाउँको जन्मघर शिखर कटेरी (धर्मशाला) मा थियो भनियो ।
भानुभक्त तल्लो रम्घामा जन्मेका हुन् भन्ने दिदी र फुपू विष्णुमायाको भनाइसँग एउटै परिवारका क्रमशः शिवभक्त र मुक्तिनाथको भनाइको समन्वय देखिँदैन । विसं १९१९ भन्दापूर्व भानुभक्तले लेखेको प्रश्नोत्तराको अन्त्यको एउटा श्लोकमा आफ्नो गाउँघर रम्घा हो भनेका छन् । त्यहाँ डाँडामा तल्लो र माथिल्लो गरी दुईवटामात्र रम्घा छन् । माथिल्लो रम्घादेखि पश्चिम तामाकोट पर्छ । तिनताका भानुभक्तको कविताको रम्घा शब्दले माथिल्लो रम्घालाई बुझाउन सक्ने देखिँदैन । किनभने माथिल्लो रम्घामा भानुभक्त वा बाजे श्रीकृष्णको जग्गा जमिन थिएन । विसंं १९४३ पछि त्यहाँ रमानाथले आफ्ना बुढा मावलीका ईश्वरीदत्त पण्डितसँग जग्गा मागी गाउँको घर बनाएका थिए (मुक्तिनाथ आचार्य, २०४२ : ४-५) । तर, श्रीकृष्ण आचार्यको गाउँको घर अस्थायी प्रकृतिको हुँदा तामाकोटतिर पनि गाउँको घर थिएन भन्न सकिँदैन ।
तर, नरनाथ आचार्य (२०३६ : १९-२०) ले ‘आदिकवि भानुभक्त आचार्यको सच्चा जीवन चरित्र’ दोस्रो संस्करणमा भने ‘धनञ्जयको घर तल्लो रम्घा वा रम्घा वा धर्मशालामा बनेको भाइहरू छुट्टभिन्न भएपछि हो’ भनेको देखिन्छ । यो पङ्क्तिकार गाउँबेँसी गर्दा शिखर कटेरीमा पुगेपछि हाम्रा पुर्खाको मूल घर तल्लो रम्घातिर जाने बाटो यो हो भनेर गाउँबेँसी गर्ने बुढाबुढीले देखाउँथे । रमानाथको घर यहाँनेर (शिखर कटेरी) थियो भनी सुनाउथेँ । त्यहाँ भग्नावशेषको रूपमा रहेको गारो पनि देखिन्थ्यो ।
बाबुबाजेहरूको कथन अनुसार त्यहाँ श्रीकृष्णको घर पूर्वपट्टि र हाम्रो घर पश्चिमपट्टि थियो भनेर ‘संस्कृत अध्यात्म रामायण र भानुभक्तीय रामायणको तुलनात्मक अध्ययन’ (२०७०) का लेखक रामचन्द्र पौडेलले पटक-पटक यस पंक्तिकारलाई सुनाएको अद्यापि सम्झना छँदैछ । त्यस कारण श्रीकृष्ण आचार्यको मूल घर शिखर कटेरीमा पनि थियो भन्ने बुझिन्छ । त्यहाँका किंवदन्तीले के बुझाउँछन् भने श्रीकृष्ण आचार्यको गाउँको घर कुनै निश्चित एक ठाउँमा मात्र थिएन ।
विष्णुमाया वा विजयराज आचार्यको भनाइ र भानुभक्तकै प्रश्नोत्तरको श्लोक पत्याउने हो भने भानुभक्तको जन्मघर तल्लो रम्घा हो । नरनाथको भनाइ पत्याउने हो भने भानुभक्तको जन्मघर तामाकोटतिर हुनसक्छ । भानुका नाति शिवभक्त आचार्य, पनाति मुक्तिनाथ आचार्य र रामचन्द्र पौडेलको कुरा पत्याउने हो भने भानुभक्तको जन्मघर शिखर कटेरी हो । तर, भानुभक्त आचार्य जहाँ जन्मेका भए पनि जन्मघर हुन सक्ने शिखर कटेरीको घरमा भानुभक्त बस्थे, त्यहाँ उनको गाउँको घर थियो भन्ने कुरा कसैले अस्वीकार गर्न सक्दैन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच