भूमिहीन सुकुम्वासीलाई निस्सा बाँड्दा रकम असुली

Read Time = 6 mins

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका-५ को जितपुरमा भूमिहीन सुकुम्वासीलाई अस्थायी निस्सा वितरणका क्रममा जनप्रतिनिधिकै रोहवरमा जितपुुर टोल विकास संस्थाले रकम असुली गरेको छ । संस्थाको छापसमेत नलगाएको रसिदमा अस्थायी निस्साका लागि रकम असुली गरेको भन्दै स्थानीय बासिन्दाले जनप्रतिनिधिको चर्काे आलोचना गर्दै आएका छन् । नाम उल्लेख नगर्ने शर्तमा एक भूमिहीन सुकुम्वासीले भने, ‘एउटा टेबुलमा रसिद काट्ने काम भयो, सँगै रहेको अर्काे टेबुलमा निस्साको कागजात मिलाउने काम भएको हो, निस्साकै लागि पैसा लिइयो तर अहिले झाराका लागि लिएको बहाना बनाइएको छ ।’ निस्सा दिने बेलामा पैसा बुझाउन नसकेपछि आफ्नो हातबाट निस्सा खोस्ने काम भएको ती पीडितको दाबी छ ।

पाँच हजार रुपैयाँ दिनेलाई निस्सा दिने भन्दै रकम असुलिएको पीडितले बताएका छन् । रसिदको ठेलीसमेत एक नम्बर सिरियलबाट नकाटेर ५० नम्बर सिरियलबाट काट्ने काम भएको देखिन्छ । अर्का भूमिहीन सुकुम्वासी भन्छन्, ‘रकम असुली धन्दा सुरु भएको थियो । अहिले घटना सार्वजनिक भएपछि ढाकछोप गर्ने प्रपञ्चअनुरूप झाराको नाटक रचिएको छ, त्यो बेला वडाका जनप्रतिनिधि पनि सँगै थिए । एउटा टेबुलमा पैसा लिँदै रसिद दिइयो । अर्काे टेबुलबाट निस्साको कागजात दिइयो । अहिले विषयलाई अन्यत्रै मोड्ने प्रयास भएको देख्दा अचम्म लाग्छ ।’

त्यसो त निस्सा वितरणको समयमा गज्जवको दृश्य देखिन्थ्यो । एकातर्फ संस्थाका पदाधिकारी र केही अगुवाले रसिद काट्दै रकम लिने र जनप्रतिनिधिले सोही स्थानमा निस्सा वितरण गरेको देखिन्थ्यो । तर, अहिले आएर जनप्रतिनिधि टोल विकास संस्थाको रसिद दुरूपयोग भएको भन्दै पन्छिन खोजिरहेका छन् ।

स्थानीयवासीले जनप्रतिनिधिहरू वडाध्यक्ष विमला गुरुङ र वडासदस्य शोभाकान्त लामिछानेलगायतको सहभागिता र उपस्थितिमै रकम असुलीको रसिद काटिएको थाहा पाएपछि टोली आश्चर्यमा परेको थियो । स्थानीय दीपक गुरुङले गाउँमा गुपचुपमा निस्साका लागि रकम असुली गर्ने काम ठीक नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘रकम असुली गर्नु बेठीक हो, विकास निर्माणका लागि रकम लिएको भन्नु हास्यास्पद छ । गाउँमा कुनै योजनाका काम नभएको समयमा रकम उठाइएछ । कहाँ बाटो बनाउने योजना छ ? कहाँ नाला बनाइएको छ ?’
घटनाबारे केही जनप्रतिनिधिले समेत टोल विकास संस्थाका पदाधिकारीको योजनामा आफूहरूलाई रकम असुलीजस्तो अपराधमा फसाइएको बताउँदै आएका छन् । तर, जितपुर टोल विकास संस्थाका अध्यक्ष दुधनाथ चौधरी (दिनेश)ले यसअघिसमेत टोलमा विकास निर्माणका लागि भन्दै रकम लिने कार्य भएकाले अहिले पनि लिएको दाबी गर्नुभयो । उहाँले भ्न्नुभयो, ‘म सोझो मान्छे सबै कुरा थाहा हुने कुरा नै भएन ।’ झाराका लागि रकम लिएको दाबी गरिरहँदा अध्यक्ष चौधरीले झाराको हाजिरी नगरिएको र नरहेको पनि खुलासा गर्नुभएको छ ।

सयपत्री सामुदायिक वन उपभोक्ता समूहका अध्यक्षसमेत रहनुभएका जगतबहादुर बुढा मगरले यसअघिसमेत रकम संकलन गरिँदै आएको दाबी गर्नुभयो ।

भूमि अधिकारकर्मीसमेत रहनुभएका किसान नेता तथा राष्ट्रिय भूमि आयोगका केन्द्रीय उपाध्यक्ष तथा प्रवक्ता नहेन्द्र खड्काले सामाजिक सञ्जाल फेसबुकमा रकम असुल गरेको सन्दर्भको समाचार सेयर गर्दै आयोगबाट लालपुर्जा लिन सरकारी खातामा पैसा जम्मा गर्नुपर्ने बताउँदै टोल विकास संस्थाले रकम लिनु आयोगको नीति र कानुनविपरीत रहेको बताउनुभएको छ । टोल विकास संस्थाले निस्साका लागि रकम असुलेको सार्वजनिक भएपछि बर्दघाट नगरपालिका–५ को कार्यालयतर्फबाट वडाध्यक्ष विमला गुरुङले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त रकम फिर्ता गर्न र आगामी दिनमा वडाका कुनै पनि टोल विकास संस्थाले वडाको निर्णयबिना कुनै पनि रकम उठाउने निर्णय नगर्न आग्रह गर्नुभएको छ । निस्सा वितरणका क्रममा केही व्यक्तिले रसिद दुरूपयोग गरेको दाबी गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?