हाम्रा शैक्षिक संस्थाहरूमा विभिन्न पार्टीहरूका नामका पेशागत संगठनहरू सशक्त क्रियाशील रहेको विषय नौलो छैन । पार्टीहरूका भ्रातृ संगठनहरूका पदाधिकारीहरूको हैसियतमा देशैभरका विद्यार्थी, शिक्षक, कर्मचारी र प्राध्यापकहरू आ-आफ्ना पार्टीहरूका भ्रातृ संगठनको रूपमा वर्षौंदेखि क्रियाशील भइरहेको विषय जगजाहेर छ । शैक्षिक क्षेत्रको सुधार र गुणस्तरीयताका लागि नेतृत्व पंक्तिमा रहनेहरू मौखिक रूपमा ओठे प्रतिबद्धता प्रकट गर्ने तर व्यवहारमा पेशागत संगठनहरूलाई मजबुत पार्ने शैली वास्तवमा गुणस्तरीय शिक्षाका दृष्टिकोणले धोका हो । सबै पार्टीहरूको नेतृत्वमा रहनेहरूको कथनी र करनीबीचको अन्तरको सिकार भएको छ गुणस्तरीय शिक्षा ।
नेतृत्वमा रहने नेताहरू पार्टीहरूका छुट्टाछुट्टै पेशागत संगठनहरू वास्तवमा हानिकारक हुन्छन् भन्छन् तर व्यवहारमा शीर्ष नेताहरू भातृ संगठनहरूको पृष्ठपोषक बनेको विषयलाई अहिले शिक्षा मन्त्रालयको जिम्मेवारीमा रहेकी शिक्षामन्त्रीले बहसको मात्रै विषय बनाइनन् यो कार्यान्वयनको विषय बन्ने कुरा सार्वजनिक रूपमै घोषणा गरिन् । गुणस्तरीय शिक्षाको एजेण्डा अहिले सरकारका शिक्षामन्त्रीको प्राथमिकतामा परेको छ । गुणस्तरीय शिक्षाको व्यवस्था आमनेपालीको पहुँचको विषय बन्ने बहसको प्रारम्भले पनि नेपाली जनतामा गुणस्तरीय शिक्षाका क्षेत्रमा काम प्रारम्भ हुन्छ कि भन्ने झिनो आशा पलाएको छ ।
पार्टीहरूका पेशागत संगठनहरू माथिको प्रतिबन्ध राष्ट्रको शिक्षाको गुणस्तरीयता वृद्धि गर्ने महत्वपूर्ण पूर्वाधार हो । यसअघि त्यो पूर्वाधारलाई बेवास्ता गर्दै सुधारका प्रयासहरूको झारा टार्ने ओठे भाषण गर्ने तर गुणस्तरीयताको पूर्वाधार निर्माणको दिशामा सिन्को नभाँच्ने प्रवृत्ति शैक्षिक अराजकताका लागि जिम्मेवार छ ।
सबै पार्टीहरूको नेतृत्वमा रहने नेताहरूले पेशागत संगठनहरूलाई पार्टीहरूको भ्रातृसंगठनको रूपमा प्रयोग गर्ने कार्यशैलीको नकारात्मक प्रभावहरू हाम्रा शिक्षणसंस्थाहरूमा अहिले छताछुल्ल छन् । यो रोग सर्वत्र महामारीको रूपमा फैलिएको छ । पेशागत हकहितका लागि सबैको साझा एउटामात्र संगठन खोल्ने अधिकारलाई प्रजातान्त्रिक प्रणालीले ग्यारेन्टी गर्नुपर्नेमा सबै पार्टीहरूका बेग्लाबेग्लै संगठनहरूका पदाधिकारीका कारण विशेषतः शैक्षिक संस्थाहरूले प्रदान गर्ने पठनपाठनको गुणस्तरीयता ह्रासोन्मुख छ । हाम्रो दुर्भाग्य अहलेको शिक्षाले हाम्रो विकासको पूर्वाधार होइन विनाशको र अन्धकारको पूर्वाधार तयार गर्दैछ ।
युवाहरूको एयरपोर्टमा देखिने लर्कन नै उदाहरणका लागि काफी छ । सबैले पार्टीहरूका पेशागत संगठनहरूको सशक्त उपस्थितिको नकारात्मक प्रभावको व्याख्या गर्ने तर त्यस्ता संगठनहरूको पृष्ठपोषण गर्ने चरित्रको सिकार बन्यो हाम्रो शिक्षा । पार्टीहरूका छुट्टाछुट्टै भ्रातृ संगठनहरूका कारण सिर्जित छताछुल्ल शैक्षिक अराजकता र ह्रासोन्मुख वातावरणलाई सम्बोधन गर्न शैक्षिक सुधारको रणनीति देशको आवश्यकता र युगको चाहना हो । पार्टीहरूका छुट्टाछुट्टै राजनीतिक संगठनहरूको उपस्थितिको रोगको निवारणमा शिक्षामन्त्रीको योजना सफल भयो भने यो बिन्दु शैक्षिक गुणस्तरीयताको सुरुवात हो भन्दा अत्युक्ति हुँदैन ।
शिक्षाका मन्दिरहरूमा सबै पार्टीहरूका विद्यार्थी, शिक्षक, कर्मचारी र प्राध्यापकहरूका पेशागत संगठनहरूको सशक्त उपस्थितिले अहिले देशको शिक्षाको गुणस्तर सम्भवतः इतिहासमै अत्यधिक खस्केको छ । यसअघिका सरकारका प्रमुखहरू र शिक्षा मन्त्रीसमेतले शिक्षाको गुणस्तरलाई कहिल्यै पनि प्राथमिकताको विषय बनाएनन् । जिम्मेवारहरूले शिक्षाको गुणस्तरीयता र विकासको अन्योन्याश्रित सम्बन्धलाई आत्मसात नगर्दा विकृतिहरू मौलाएका हुन् । भाषणमा पार्टीहरूका भ्रातृ संगठनहरूको उपस्थितिलाई नकार्ने तर सच्याउने आँट र योजना जिम्मेवारीमा बस्नेहरूबाट आजका मितिसम्म किन भएन ? यो शैक्षिक अराजकताको कारण नै पार्टीहरूसँग आबद्ध पेशागत संगठनहरू हुन् ।
पार्टीहरूका पेशागत संगठनहरू माथिको प्रतिबन्ध राष्ट्रको शिक्षाको गुणस्तरीयता वृद्धि गर्ने महत्वपूर्ण पूर्वाधार हो । यसअघि त्यो पूर्वाधारलाई बेवास्ता गर्दै सुधारका प्रयासको झारा टार्ने ओठे भाषण गर्ने तर गुणस्तरीयताको पूर्वाधार निर्माणको दिशामा सिन्को नभाँच्ने प्रवृत्ति शैक्षिक अराजकताका लागि जिम्मेवार छ । गुणस्तरीय शिक्षा हाम्रो आमपहुँचको विषय नभएर फगत भाषणको मात्रै विषय बन्दा शिक्षा गुणस्तरहीन बन्यो । परिणामस्वरूप गुणस्तरीयताको विषय झन्झन् पेचिलो बन्यो । शैक्षिक संस्थाहरूमा विद्यार्थी, शिक्षक, कर्मचारी र प्राध्यापकहरूको हकहित, सुरक्षा र पेशागत आवाजहरूलाई प्रतिनिधित्व गर्ने एकमात्र संस्थाको सट्टा २०६२/०६३ पश्चात् सबै पार्टीका पेशागत संगठनहरू निर्माण भए ।
परिणामस्वरूप गुणस्तरहीन शिक्षा हाम्रो विशेषता बन्यो । समस्याको पहिचानविनाको सुधारहरू अहिलेसम्म अर्थहीन भए । परिणामस्वरूप हामी शिक्षाको गुणस्तर सुधारको बाटोमा प्रवेशसम्म पनि नगरेको अवस्थामा छौं । सुधार अपरिहार्य छ भन्ने जान्दाजान्दै सुधारका प्रयासहरू नगर्ने रोगले यो क्षेत्र ग्रस्त छ । राजनीतिक परिवर्तनको सकारात्मक प्रभाव देशको शिक्षा क्षेत्रमा पर्नुपर्ने हो । तर सबै राजनीतिक परिवर्तनपछिका वर्षहरूमा शिक्षालाई गुणस्तरीय बनाउने प्रयास गर्नुभन्दा गुणस्तरहीन बनाउने काममै पार्टीहरूको नेतृत्वमा रहनेहरू सक्रिय बने । शिक्षालाई गुणस्तरहीन बनाउन मुख्य जिम्मेवार तिनै पार्टीका नेतृत्व पंक्तिमा रहनेहरू हुन् जसले नेतृत्व पंक्तिमा रहनेहरूले पेशागत संगठनका माध्यमले आफ्नो राजनीतिक स्वार्थ पूरा गर्न विद्यार्थी, शिक्षक र प्राध्यापकका संगठनहरूलाई दुरुपयोग गरे । साथै गुणस्तरलाई बलिको बोको बनाउने काम पार्टीहरूसँग आबद्ध विद्यार्थी, शिक्षक, कर्मचारी, प्राध्यापकहरूबाट भयो ।
शिक्षण संस्थामा पढ्ने, जागिर खाने तर संगठनका पदाधिकारीको हैसियतले पेशागत निष्ठा र इमानदारीलाई तिलाञ्जलि दिँदा अवसरवाद फष्टायो । पार्टीको आबद्धता नै वृत्तिविकासको अवसरहरूको खेती बन्यो । परिणामस्वरूप पार्टीहरूका भ्रातृ संगठनहरूका जिम्मेवारहरू नै शिक्षाको गुणस्तरहीनताका कारण बने । समयक्रममा पेशागत संगठनहरू जागिरको सुरक्षा र आत्मोन्नतिका लागि कुनै पार्टीको संगठनमा आबद्ध हुनैपर्छ भन्ने मानसिकताले सम्पूर्ण विद्यार्थी, कर्मचारी, शिक्षक र प्राध्यापकहरूमा कुनै न कुनै दलसँग आबद्ध हुने लहर अहिले देश र जनताका लागि अभिशप्त भएको छ ।
शिक्षकका, प्राध्यापकका र कर्मचारीका संगठनहरू खोल्न सबै दलहरूसँग सम्बन्धित प्राध्यापक, शिक्षक तथा कर्मचारीहरू तँछाडमछाडमा छन् । अहिले राजनीतिक पार्टी र पेशागत संगठनको अन्तर छुट्याउन नसक्ने अवस्थामा रहेका पेशागत संगठनलाई शिक्षणसंस्थाबाट निशेध गर्ने अभियान चुनौतीपूर्ण हुँदाहुँदै प्रयोग अनिवार्य भएको शिक्षामन्त्रीको निक्र्याैलले सुधारको आशा जागेको छ । पेशागत संगठनहरूको नेतृत्वमा बस्नेहरू आफ्नो पेशागत जिम्मेवारीभन्दा आबद्ध पार्टीको काममा समय खर्च गर्ने विषय सामान्य मानिन्छ । यसले ती कर्मचारी, शिक्षक र प्राध्यापकहरूको योगदान आबद्ध पार्टीमा बढी र कार्यरत संगठनमा कम भएको विषयलाई जतिसुकै आलोचना र भत्र्सना गरे पनि कम हुन्छ ।
परिणामस्वरूप विद्यार्थी, शिक्षक, कर्मचारी र प्राध्यापक सबैले कार्य समय र कार्यक्षमताको दुरूपयोग गरिरहेका छन् । यसले शिक्षाको गुणस्तरमा ह्रास आएको छ । पेशागत संगठनहरूका मुखियाहरू आफ्नो जिम्मेवारी पढ्ने, पढाउने हो भन्ने चटक्कै बिर्सेर आ-आफ्नो पार्टी संगठनमा क्रियाशील हुन्छन् । लाग्छ तिनीहरू विद्यार्थी, कर्मचारी, शिक्षक, प्राध्यापक नभएर पार्टीका जुझारु र कर्मठ कार्यकर्ता हुन् । शिक्षा आयोग, त्रिवि सेवाआयोगमा राजनीतिक नियुक्तिका पदाधिकारी भएकाले संगठनमा क्रियाशील हुने तर आफू सेवारत भएको कार्यालयको काम नगर्नेहरूको सहज बढुवा हुँदा सबै शिक्षक, प्राध्यापक र कर्मचारीहरू वृत्तिविकासका लागि पनि कुनै न कुनै पार्टीको पेशागत संगठनमा आबद्ध हुन बाध्य हुन्छन् ।
शिक्षकहरू कुनै पार्टीसँग आबद्ध नभएको खण्डमा उनीहरू असुरक्षित हुने हुँदा सबै शिक्षक, प्राध्यापक र कर्मचारीहरू पार्टीको पेशागत संगठनको सदस्य हुन बाध्य छन् । यस्ता संगठनहरूको आकार र सदस्यता पार्टीहरूको आकार र संगठनको अनुपातमा निर्भर गर्छ । अहिले प्रायः सबै शिक्षक र प्राध्यापकहरूले कुनै न कुनै पार्टीको सदस्यता लिएका छन् । नयाँ पार्टी भएकाले राष्ट्रिय स्वतन्त्र पार्टीले तिनीहरूको संगठन बनाएको विषय अहिलेसम्म मेरो जानकारीमा छैन तर मलाई लाग्छ त्यो पार्टीमा आबद्ध विद्यार्थी, शिक्षक, प्राध्यापक र कर्मचारीहरूले पनि आफू संगठित हुने र पार्टी संगठनलाई मजबुत बनाउने योजनामा पक्कै पनि हुनुपर्छ ।
पुराना पार्टीका नेताहरू र प्रधानमन्त्री, मन्त्रीहरूले भ्रष्टाचार निवारण प्रमुख प्राथमिकता हो भनेर भाषण गरे तर व्यवहारमा तिनीहरू नै भ्रष्ट प्रमाणित भए । यहाँ भन्ने एउटा र गर्ने अर्को भएको संस्कार र संस्कृतिलाई संस्थागत गरेको अवस्थामा भ्रष्टाचार, अनियमिततालाई भाषणमा आलोचना गरेर सार्वजनिक खपतको विषय बनाउनेभन्दा वचन, मन र व्यवहारमा कार्यान्वयन गर्ने राजनीति र राजनीतिज्ञ देशले खोजेको छ । जनताको खोज र रोजाइ अनुसार वर्तमान विकृति र विसंगतिहरूलाई नष्ट गर्ने कामको थालनी के वर्तमान शिक्षामन्त्री सुमना श्रेष्ठबाट होला ? उहाँको श्रेष्ठ थर जस्तै श्रेष्ठ काम भएको अनुभूति नेपाली जनताले गर्न पाउछन् ? यदि यो काममा उनले सफलता हासिल गरिन् भने दस वर्षभित्रै देशमा आर्थिक समृद्धिको र दिगो विकासको चरण प्रारम्भ हुन्छ ।
देश बिग्रने र बिगार्ने मुख्य भूमिका राजनीतिको मात्रै नभएर शिक्षा, विद्यार्थी, शिक्षक र प्राध्यापकको पनि हो । असल, अनुशासित, चरित्रवान, नैतिकवानप्रति निष्ठावान नागरिक शिक्षाले उत्पादन गरेको भए अहिलेको जस्तो बेइमानी, भ्रष्ट, दलाल र गतिछाडा राजनीति किमार्थ हुँदैनथ्यो ।
विकास विज्ञ र विकासका इमानदार कार्यकर्ता शिक्षाले उत्पादन नगरेका कारण नै हामीले विकासको पूर्वाधारसम्म पनि निर्माण गर्न सकेका छैनौँ । शिक्षा मन्त्रीजीले शिक्षक, प्राध्यापकहरू पार्टी सदस्य भएको पाइएमा कारबाही गर्छु भन्ने भाषा यदि सक्कली हो भने शिक्षालाई गुणस्तरीय बनाउने यो अभियान वास्तवमा कोसेढुंगा प्रमाणित हुन्छ । पेशागत संगठनका पदाधिकारी विभिन्न पार्टीसँग आबद्ध र क्रियाशील भएपछि अब शिक्षक प्राध्यापकहरूको पार्टीहरूसँग आबद्धता भएको अर्को के प्रमाण चाहियो ? को कहाँ आबद्ध छ भन्ने विषय स्पष्ट हुँदाहुँदै आबद्ध भएको पाइएमा कार्बाही गर्छु भन्ने भाषा प्रोपोगण्डा हो कि यथार्थ हो यो समयले प्रमाणित गर्ने नै छ । यहाँ नयाँ मानिसहरू सत्तामा आउँछन् नयाँ प्रोपोगण्डा मच्चाउँछन् र केही समय लोकप्रिय हुन्छन् । अन्ततः सबै भन्ने हुन् गर्ने कसैले होइन भन्ने विषय प्रमाणित भएको विषय वर्तमान शिक्षामन्त्रीमा पनि लागू हुने हो कि नयाँ काम, नयाँ व्यवस्थालाई लागू गरेर उनी अपवाद बन्छिन् यो समयलाई नै जिम्मा दिनु उपयुक्त होला । उत्ताउलो कुकुर समसाँझै भुक्छ भन्ने उखान वर्तमान शिक्षामन्त्रीमा लागू नहोस् ।
त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिको विषययमा आवेदन गर्नेहरू र सर्टलिस्टमा परेका व्यक्तिहरूको चरित्रको नांगेझार गरिएको थियो । त्यो व्यवहारमा लागू गर्ने अवसरलाई कसरी प्रयोग गर्नुहुन्छ त्यो पर्खाइमा नेपाली जनता छन् । उहाँ देशको शिक्षामन्त्री बन्ने कि, पार्टीको शिक्षामन्त्री बन्ने वा परिवार र नातेदारको शिक्षामन्त्री बन्नुहुन्छ त्यो कुरा समयक्रममा पक्कै पनि लुक्ने छैन । आमविद्यार्थीहरूमा म कसरी, के गर्दा धेरै सिक्न सक्छु भन्ने विषयमा उत्प्रेरणात्मक भावना अभिवृद्धि गर्ने उपायहरूको खोज र ती उपायहरूलाई विद्यार्थीमार्फत व्यवहारमा सशक्त अनुवाद गर्ने दायित्व र भूमिका शिक्षकको हुन्छ ।
उनीहरूको ध्यान र साधना भनेको आमविद्यार्थीहरूमा सिक्ने, जान्ने विषयमा खोजमूलक दृष्टिकोण र जिज्ञासाको भोक जगाउन सक्ने क्षमता र योग्यता हो । हाम्रो शिक्षा प्रणाली र शिक्षकहरूले घोकन्ते शैली र नोट लेखाउने शैलीले विद्यार्थीहरूमा सिक्ने, जान्ने, उत्साह, उमंग साथै त्यसका लागि विद्यार्थीहरूमा अनुसन्धानमुखी अवधारणालाई ध्वस्त पार्छन् । विकास गर्ने विधि, प्रविधिहरूलाई प्रयोग गर्ने चरित्र गुणस्तरीय शिक्षाको पहिलो शर्त हो । त्यसका लागि खोजमूलक शैली र प्रणालीको भोक शिक्षक स्वयंमा जाग्रत हुनुपर्छ ।
गुणस्तरीय शिक्षाको दीर्घकालीन प्रभाव र शिक्षकको गहनतम जिम्मेवारी र उत्तरदायित्व बोध जुन शिक्षक, प्राध्यापकमा छैन ती शिक्षक, प्रध्यापकबाट गुणस्तरीय शिक्षाको अपेक्षा पूरा हुँदैन । शिक्षक, प्राध्यापकलाई नै सर्वप्रथम सिकाइका वैज्ञानिक विधि, प्रविधि बारे प्रशिक्षित गर्ने राष्ट्रिय कार्यक्रम तर्जुमा गर्नुपर्छ । राजनीतिले शिक्षकको एकाग्रता र उत्पादकत्वमा कमी ल्याउँछ । त्यसैले शिक्षा क्षेत्रका राजनीतिक पार्टीहरूका भ्रातृ संगठनलाई प्रतिबन्धित गर्ने शिक्षामन्त्रीज्यूको दृष्टिकोण फगत भाषणको विषय नभएर व्यवहारमा अनुवाद गर्न सफलता मिलोस्, शुभकामना । (अष्ट्रेलियाको सिड्नीबाट)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच