काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको युवा उद्यमी मञ्चको अध्यक्षमा कुशलसुन्दर श्रेष्ठ नियुक्त हुनुभएको छ । काठमाडौंमा शुक्रबार सम्पन्न मञ्चको २०औँ वार्षिक साधारणसभाका अवसरमा साबिक नेतृत्वले उहाँलाई अध्यक्ष नियुक्त गरेको हो ।
मञ्चको प्रथम उपाध्यक्षमा निभिता प्रधान, द्वितीय उपाध्यक्षमा आभूषण ज्योति कंसाकार र महिला उपाध्यक्षमा रिचा श्रेष्ठ रहेका छन् । मञ्चको विधानअनुसार प्रमुख कार्यसम्पादन सूचकांक (केपीआई)का आधारमा साबिकका अध्यक्ष र उपाध्यक्ष संलग्न नेतृत्वले आगामी नेतृत्व र कार्यसमिति सदस्य नियुक्त गर्छ । कार्यसमितिको अवधि एक वर्ष हुन्छ ।
मञ्चको सदस्यमा सुदिप घिमिरे, कृष्ण सापकोटा, पवित्रबहादुर गौतम, विलाशा श्रेष्ठ, युनेशराज श्रेष्ठ र सुविन श्रेष्ठ रहेका छन् भने निवर्तमान अध्यक्ष सहारा जोशी पदेन सदस्यका रूपमा रहनुहुनेछ । पद तथा गोपनीयताको शपथ ग्रहणपछि नवनियुक्त अध्यक्ष श्रेष्ठले ‘आकांक्षा’ थिममा आफ्नो कार्ययोजना (भिजन २०२५) सार्वजनिक गर्नुभएको छ । उत्कृष्टता, प्रगति र नवीनतालाई जोड दिएको उहाँको कार्ययोजनाको लक्ष्य मञ्चका प्रत्येक सदस्यलाई सम्भावनाको अधिकतम उपयोग गर्न सक्ने तहमा पुग्ने गरी सशक्तीकरण गर्नु रहेको छ ।
नवनियुक्त अध्यक्ष श्रेष्ठले भन्नुभयो, ‘आगामी वर्षका लागि मञ्चका सदस्यलाई उच्चतम लाभ दिलाउन आकांक्षा थिम प्रस्तुत गर्न पाउँदा म निकै उत्साहित छु । आकांक्षाले उत्कृष्टता, प्रगति र नवीनताको हाम्रो अथक प्रयास जनाउँछ ।’ मञ्चका हरेक पहल, कार्यक्रम र गतिविधिले सदस्यले पाउने लाभको मात्रा बढाउने, व्यक्तिगत एवं पेशागत प्रगतिलाई सघाउने कुरा सुनिश्चित गर्न आफू प्रतिबद्ध रहेको पनि अध्यक्ष श्रेष्ठले बताउनुभयो । नेटवर्किङ, सिकाइ तथा विकास, प्रगति र संस्थाको प्रवद्र्धन तथा ब्राण्डिङलाई प्राथमिकता दिइने उहाँले बताउनुभयो ।
नयाँ कार्यसमितिले मित्र प्रणाली, मेन्टरसिप कार्यक्रम, मिनी ओलम्पिक, उद्यमशीलतासम्बन्धी छलफल, खेल गतिविधि, मनाङसम्मको मोटर र्याली र अन्तर्राष्ट्रिय यात्राका कार्यक्रम गर्ने जनाएको छ । घोषित लक्ष्य प्राप्तिका लागि अन्तर्राष्ट्रियस्तरका वक्ताको प्रवचन, कक्षाकोठा र प्रयोगमा आधारित सिकाइ कार्यक्रम पनि सञ्चालन रहेको छ । च्याप्टर संख्या हालको १३ बाट १७ र सदस्य संख्या १५ सय पुर्याउने नयाँ कार्यसमितिको लक्ष्य छ ।
सो अवसरमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले राष्ट्रिय आवश्यकता पूरा गर्न सरकारले निजी क्षेत्रसँग सहकार्य गर्ने भन्दै आशावादी रहन उद्यमी व्यवसायीलाई आग्रह गर्नुभएको थियो । मन्त्रालयले समस्याको गहिराइ पत्ता लगाउँदै महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, पूर्वमन्त्री, सचिव र पार्टीका घोषणापत्रका आधारमा साझा निष्कर्ष निकालेर लगानीमैत्री वातावरण निर्माण गर्ने उहाँले बताउनुभयो ।
महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको संशोधित विधानले महासंघका कार्यसमितिमा मञ्चको अनिवार्य प्रतिनिधित्वको व्यवस्था गरेको बताउनुभयो भने वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले नेपालमा उद्यमशीलता प्रवद्र्धनमा मञ्चको योगदान प्रशंसनीय रहेको बताउनुभयो । मञ्चका संस्थापक अध्यक्ष गौरव अग्रवाल र निवर्तमान अध्यक्ष सहारा जोशीले आर्थिक वृद्धिलाई अगाडि लैजान र दिगो विकासका लगि सरकार, निजी क्षेत्र र युवा उद्यमीबीच सहकार्यमा जोड दिएका थिए ।
उक्त सत्रमा युवा उद्यमी मञ्चका विभिन्न च्याप्टरलाई सम्मानित गरिएको थियो । ललितपुर च्याप्टरले बेस्ट भ्यालु मेम्मर्स च्याप्टर २०२४ को उपाधि पायो भने जनकपुर च्याटरलाई बेस्ट रिभाइभिङ च्याप्टर, रूपन्देही च्याप्टरले बेस्ट आइडिया एण्ड इन्नोभेसन च्याप्टर तथा काठमाडौं र जनकपुरले संयुक्त रूपमा बेस्ट च्याप्टरको अवार्ड प्राप्त गरेका छन् । हाल देशभर मञ्चका १३ च्याप्टरमा आठ सय ५० भन्दा बढी युवा उद्यमी सदस्यका रूपमा आबद्ध रहेका मञ्चले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच