काठमाडौं । उपसभामुख इन्दिरा रानाले पाँच जनालाई अमेरिकी भिसामा सहजीकरण गरिदिन अमेरिकी दूतावासमा लेखेको पत्रको विषयमा प्रतिनिधि सभामा सांसदहरूबीच सवालजवाफ भएको छ । सत्ता गठबन्धनमा आबद्ध सांसदहरूले उपसभामुखले दूतावासलाई पत्र लेख्नु असंवैधानिक भएको भन्दै उचित छानविन र आवश्यक कारबाहीको माग गरे भने प्रतिपक्षी दलहहरूले उपसभामुख रानाको बचाउ गरे ।
उपसभामुखले राजीनामा दिनुपर्छ : खतिवडा
आइतबारको संसद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनुअघि विशेष समय लिएर बोल्दै नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले उपसभामुख रानाले राजीनामा दिनुपर्ने बताउनुभयो । ‘संसद्सँग कुनै साइनो नभएका पाँचजना मान्छेलाई मानव तस्करले प्रयोग गरेर संसद्बाटै चिठी बनाएर अमेरिकी दूतावासमा पठाएका रहेछन् । यस्तो पत्र लेख्ने उपसभामुखले संसद्को कमाण्ड गर्न सुहाउँछ कि सुहाउँदैन ? सभामुख महोदय ?’, खतिवडाले प्रश्न गर्नुभयो । उहाँले उपसभामुखको कार्यालय भिसा सहजीकरणको कन्सल्ट्यान्सी नरहेको भन्दै खतिवडाले मानव तस्करहरूले संसद् प्रयोग गर्नु दुर्भाग्यपूर्ण रहेको भन्दै उपसभामुखमाथि छानविन गर्न माग गर्नुभयो । ‘संसद् र उहाँको इज्जतका लागि पनि उहाँले राजीनामा दिनु वेश हुन्छ’, उहाँले भन्नुभयो ।
मानव तस्करी पुष्टि भइसक्यो : वैरागी
प्रमुख सत्तारूढ दल नेकपा एमालेका सांसद दामोदर पौडेल वैरागीले मानव तस्करीमा उपसभामुखको संलग्नता पुष्टि भइसकेको दाबी गर्नुभएको छ । प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै उहाँले उपसभामुखले अमेरिकी दूतावासलाई लेखेको पत्र मात्रै नभएर उपसभामुखले जारी गरेको विज्ञप्तिले पनि आरोप पुष्टि गरेको बताउनुभयो । ‘मानव तस्करी गरेको हो÷होइन भन्ने कुरा पत्रले नै बोलिसकेको छ । मिडिया ट्रायल हो÷होइन त्यो उहाँले लेखेको पत्रले नै बोल्छ । पत्र मात्रै होइन उपसभामुखले जारी गरेको विज्ञप्तिले पनि बोल्छ’, उहाँले भन्नुभयो । उहाँले ‘देशको चौथो दल हौँ, युवा हौँ, नयाँ हौँ, पुरानाले गरेनन् भनेर अंग्रेजीमा भाषण गर्ने र तथ्य बजार्नेहरूको विज्ञप्तिमै लेनदेन भएको खुलेको छ । हामीलाई पदको दुरुपयोग गरेर मानव तस्करी गर्ने उपसभामुख र संवैधानिक परिषद्को सदस्य चाहिँदैन’, वैरागीले भन्नुभयो । उहाँले महिला सम्मेलनमा जाने भन्दै सरोकार नै नभएका पुरुषहरूलाई उपसभामुखले सिफारिश गर्नु गम्भीर अपराध भएकाले छानविन जरुरी रहेको बताउनुभयो ।
संवैधानिक परिषद्मा बहुमत नहुँदा उपसभामुखमाथि प्रहार : सुमना
प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद एवं पूर्वमन्त्री सुमना श्रेष्ठले भने उपसभामुखको बचाउ गर्नुभयो । उहाँले पुरानो पत्र सार्वजनिक गराएर उपसभामुखविरुद्ध मिडिया ट्रायल गराइएको भन्दै उपसभामुखको चरित्र हत्या नगर्न चेतावनी दिनुभयो । उहाँले संवैधानिक परिषद्मा सत्तापक्ष अल्पमतमा परेकै कारण उपसभामुखले दूतावासलाई लेखेको पत्र सार्वजनिक गरिएको आरोप लगाउनुभयो । ‘उपसभामुखको नाममा मिडिया ट्रायल गरी चरित्र हत्याको प्रयास भएकोमा मेरो घोर आपत्ति छ । एक वर्ष अगाडि पत्र हातमा बोकेर बस्नुभएको रहेछ त । त्यो पनि अहिले संवैधानिक परिषद्मा अल्पमतमा परियो भनेर मानव तस्करको आरोप लगाउने ?’, श्रेष्ठले भन्नुभयो । उहाँले आफ्नो भएभरको जायजेथा अनाथ आश्रमलाई दिने महिलालाई सामान्य कुरामा मानव तस्कर जस्तो गम्भीर आरोप लगाएर हेप्ने काम भएको आरोप लगाउनुभयो । उहाँले संवैधानिक परिषद्मा बहुमत नपुगेकै कारणले सत्तापक्षले उपसभामुखलाई गलत आरोप लगाएर राजनीतिक स्वार्थ सिद्ध गर्न खोजेको बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच