स्याङ्जाकाे सेतीदोभान बजार बाढीका कारण जोखिममा

युवराज पौडेल स्याङ्जा, संवाददाता
Read Time = 3 mins

स्याङ्जा । स्याङ्जा जिल्ला आँधीखोला गाउँपालिका वडा नं ५ को सेतीदोभान बजार बाढीका कारण जोखिममा परेको छ । विगतका वर्षहरुबाटै खोलाको कटानमा परेको यो बस्ती असार २१ र २२ गते को भीषण वर्षाका कारण झनै जोखिममा परेपछि स्थानीय चिन्तित बनेका छन् ।

सेतीदोभानको मूल बजार क्षेत्र छहरेघाटदेखि पातीखोला मिसिने ठाउँसम्म आँधीखोलाको कटानमा परी प्रभावित बनेको छ । खोला किनारमा रहेको बस्ती भएकाले पानीको सतह बढ्दाखेरि खोला वारिपारि जमिन कटान गर्ने समस्याले बस्ती सङ्कटमा परेको हो ।

आँधीखोला ६ ढाँडीखेत क्षेत्रमा पर्ने आँधी किनारमा सडकको नाममा बाँध बाँधेपछि आँधीखोलाको बहाब बस्तीतिर सोझिँदै गएको स्थानीयहरुले गुनासो गरेका छन् । स्थानीय ध्रुव लामिछानेले भन्नुभयो, ‘प्रत्येक वर्ष आँधीखोलाले जमिन कटान गर्दै जाँदा बस्ती जोखिममा परेको छ । यसको समाधानका लागि सरकारले बलियो तटबन्धन गर्नुपर्ने आवश्यकता छ ।’

त्यस्तै सेतीखोलाले वरको रुख बजार क्षेत्र तथा सेतीदोभानको चौकी वरिपरिको क्षेत्र पनि जोखिममा पारेको छ । सेतीखोलाको धार बस्तीतिर सोझिँदै गएको छ । २२ गतेको वर्षाबाट उर्लिएको खोलाले वरको रुख बस्ती नजिकको जमिन कटान गरेपछि स्थानीय निकै चिन्तित छन् ।
स्थानीय नन्दलाल ढकालले भन्नुभयो ‘२२ गते रातभरि सुतिएन । कतै खोला आइहाल्ने हो कि भन्ने चिन्ता मात्रै भयो । सेतीखोलाको धार यतै सोझिएको छ । तटबन्धनको व्यवस्था नहुँदा हामी सधैं जोखिममा बस्नुपरेको छ ।’

सेतीदोभान बस्तीको जोखिमका सम्बन्धमा श्रावण ४ गते बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले विपद् अध्ययन जोखिम न्यूनीकरण तथा पुनर्लाभ शाखा र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण काठमाडौंलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 Comment
  1. Hami aadhikhola 5 setidovan basinda badhipahiro ko karad chintit chhau hamro yo joghim ko sunuwai hos..

रिलेटेड न्युज

छुटाउनुभयो कि ?