काठमाडौं । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री बहादुर सिं लामाले आज पद तथा गोपनीयताको शपथ लिनुहुने भएको छ । लामासहित १३ मन्त्रीको शपथ ग्रहण पनि आज नै हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज बिहान ११ बजेर ११ मिनेटमा लामालाई शपथग्रहण गराउने कार्यक्रम रहेको प्रदेश प्रमुखको कार्यालय हेटौँडाले जनाएको छ । लामा मंगलबार संविधानको धारा १६८ को (२) अनुसार मुख्यमन्त्रीमा नियुक्त हुनुभएकाे हाे । उहाँलाई नेपाली कांग्रेसका ३७ र एमालेका २७ गरी ६४ सांसदको समर्थन रहेको छ ।
संघमा कांग्रेस–एमाले समीकरण बनेसँगै प्रदेशमा पनि राजनीतिक परिवर्तन भएको हो । बागमती प्रदेशमा यसअघि एमाले–माओवादी गठबन्धन अन्तर्गत माओवादीका शालिकराम जम्कट्टेल मुख्यमन्त्री हुनुहुन्थ्यो । तर एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका जम्कट्टेलले आइतबार राजीनामा दिनुभएको थियो ।
को हुनुहुन्छ लामा ?
२०२७ कात्तिक ८ गते बुवा दीपबहादुर र माता पूर्णिमायाको कोखबाट नुवाकोटको किस्पाङ गाउँपालिका-५ मनकामनामा जन्मिनुभएका बहादुरसिं लामा कांग्रेसको भ्रातृ संगठन नेविसंघको राजनीति गर्दै पार्टी राजनीतिमा लाग्नुभएको हो ।
हाल उहाँ कांग्रेस केन्द्रीय समिति सदस्यको भूमिकामा हुनुहुन्छ । सानै उमेरदेखि अब्बल र हक्की स्वभावका लामाले गाउँकै स्कुलबाट आधारभूत तहको शिक्षा हासिल गर्नुभयो भने माध्यमिक तह अध्ययन नुवाकोटको सदरमुकाम विदुरबाट पूरा गर्नुभयो । यस्तै, काठमाडौंको शंकरदेव क्याम्पसबाट उहाँको स्नातक सम्मको उच्च शिक्षा पूरा भयो ।
२०४५ सालमा नेविसंघ नुवाकोटको क्षेत्रीय सभापति भएका उहाँ पछि कांग्रेस नुवाकोटको जिल्ला उपसभापति हुनुभयो । २०५४ को स्थानीय तहको निर्वाचनमा नुवाकोटको तत्कालीन मनकामना गाविस अध्यक्षमा निर्वाचित भएका लामा पार्टीको १३औँ महाधिवेशनमा निर्वाचित केन्द्रीय सदस्य हुनुभएको थियो ।
यस्तै, १४औँ महाधिवेशनमा पनि उहाँले केन्द्रीय सदस्यमा निरन्तरता पाउनुभयो । २०६४ सालमा नुवाकोट क्षेत्र नम्बर(३ बाट संविधानसभा सदस्य पदको निर्वाचनमा पराजित भए पनि उहाँ २०७० को दोस्रो संविधानसभा निर्वाचनमा विजयी बन्नुभयो । २०७४ मा समानुपातिक कोटाबाट प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभएका लामा २०७९ मा भने बागमती प्रदेशसभा सदस्य निर्वाचित हुनुभएको थियो ।
बागमतीको आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारीसमेत सम्हालिसक्नु भएका उहाँ अहिले मुख्यमन्त्री बन्न सफल बन्नुभएको हो । लामा देशकै पहिलो तामाङ समुदायका मुख्यमन्त्री बन्नुभएको छ । उहाँ निर्माण व्यावसायीका रूपमा समेत चिनिनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच