काठमाडौं । पेरिस ओलम्पिक-२०२४ को एक भव्य समारोहबीच शुक्रबार उद्घाटन गरिएको छ । शुक्रबार राती औपचारिक उद्घाटन भए पनि केही खेलहरू भने जुलाई २४ तारिखदेखि नै सुरु भइसकेका छन् । फुटबल, आर्चरी, रग्बी सेभेन्स र हृयाण्डबल उद्घाटनअघि नै सुरु भइसकेका छन् ।
ओलम्पिकको इतिहासमा उद्घाटन समारोह रंगशालाबाहिर पहिलोपटक भएको हो । सहभागी टोलीलाई डुंगा र ‘क्रुज’ मा राखेर सेन नदीमा मार्च पास्ट गराइएको थियो । पेरिसस्थित पोन्ट दि अस्टरलिजबाट सुरु भएको मार्च पास्ट विश्वचर्चित आइफल टावरमा पुगेर टुंगिएको थियो । कडा सुरक्षाबीच भएको उद्घाटन समारोहको मार्च पास्टका लागि ८५ डुंगा प्रयोग गरिएको थियो ।
मार्च पास्टमा नेपालको झण्डा स्यान्टु श्रेष्ठ र मनिता श्रेष्ठ प्रधानले बोकेका थिए । लैंगिक समानतालाई मध्यनजर गरी अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) ले टोकियो ओलम्पिक-२०२० को संस्करणदेखि पुरुष र महिला खेलाडीलाई मार्च पास्टमा राष्ट्रिय झण्डा बोक्न दिन सुरु गरेको हो । मार्च पास्टमा स्यान्टु र मनितासहित नेपालबाट आठजना सहभागी थिए ।
नेपाली टोलीका ‘सेफ दि मिसन’ राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल ओलम्पिक कमिटी (एनओसी) का उपाध्यक्ष एवं कार्यकारी निर्देशक चतुरानन्द राज वैद्य, एनओसीकी उपाध्यक्ष ज्योति राणा, एनओसीका सचिव रामजीबहादुर श्रेष्ठ, पौडी खेलाडी एलेक्जेन्डर शाह र ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल सहभागी हुनुहुन्थ्यो । मार्च पास्टका लागि नेपालसहित नामिबिया र नाउरुको टोलीलाई एउटै डुंगामा राखिएको थियो । मार्च पास्टमा सहभागी २०६ राष्ट्रका खेलाडी र अफिसियल गरी करिब सात हजारमात्र सहभागी थिए । फ्रान्सले एक सय वर्षपछि ओलम्पिक आयोजना गरेको हो । पछिल्लोपटक १९२४ को आठौँ संस्करण पेरिस शहरमै भएको थियो । फ्रान्सले ओलम्पिक आयोजना गरेको यो तेस्रोपटक हो । सन् १९०० को ओलम्पिक पनि फ्रान्समै भएको थियो ।
पेरिस ओलम्पिकको ३३औँ संस्करणमा नेपालबाट ६ खेलमा सात खेलाडी सहभागी छन् । तीन पुरुष र चार महिला खेलाडी सहभागी छन् । टेबलटेनिसमा स्यान्टु श्रेष्ठ र ब्याडमिन्टनमा प्रिन्स दाहालले पुरुष सिंगल्समा प्रतिस्पर्धा गर्नुहुनेछ । पुरुष एक सय मिटर फ्रिस्टायलमा एलेक्जेन्डर शाहले भाग लिनुहुनेछ ।
महिलामा सुटिङकी सुस्मिताले १० मिटर एयर राइफल, पौडीकी डुवाना लामाले दुई सय मिटर फ्रिस्टायल, जुडोकी मनिता श्रेष्ठ प्रधानले ५७ केजीमुनि र एथलेटिक्सकी सन्तोषी श्रेष्ठले म्याराथन (४२.१९५ किलोमिटर) मा नेपालको चुनौती प्रस्तुत गर्नुहुनेछ । सन्तोषीबाहेक सबै खेलाडी पेरिसमै छन् । सन्तोषी जुलाई ३० तारिखमा पेरिस पुग्नुहुनेछ । सन्तोषीको खेल पेरिस ओलम्पिकको अन्तिम दिन अगष्ट ११ तारिखमा छ ।
सातै नेपाली खेलाडीको यो ‘डेब्यु’ ओलम्पिक हो । सन् १९६४ को टोकियो ओलम्पिकदेखि नेपालले ग्रीष्मकालीन ओलम्पिकमा सहभागिता जनाउन थालेयता टेबलटेनिस र ब्याडमिन्टनमा नेपालले पहिलोपटक सहभागिता जनाउन लागेको हो । त्यसमा स्यान्टु छनोट चरण पार गरेरै ओलम्पिकमा सहभागी हुनुभएको हो । नेपालमै भएको दक्षिण एसियाली ओलम्पिक छनोट प्रतियोगितामा पहिलो हुँदै स्यान्टुले पेरिस ओलम्पिक-२०२४ मा स्थान पक्का गर्नुभएको थियो । ग्रीष्मकालीन ओलम्पिकमा यस्तो उपलब्धि हात पार्ने स्यान्टु तेस्रो नेपाली खेलाडी हुनुहुन्छ । यसअघि संगीना वैद्यले २००४ को एथेन्स ओलम्पिक तथा दीपक विष्टले २००८ को बेइजिङ ओलम्पिक छनोट चरण पार गर्दै नेपालको प्रतिनिधित्व गर्नुभएको थियो ।
पेरिस ओलम्पिकमा २०६ राष्ट्रका करिब १० हजार पाँच सय खेलाडीले ३२९ स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् । प्रत्येक चार वर्षको अन्तरालमा हुने ओलम्पिक यो पटक तीन वर्षमा भएको हो । ३२औँ संस्करणको टोकियो ओलम्पिक २०२० लाई तय भए पनि कोभिड-१९ का कारण २०२१ मा भएको थियो । यसैबीच उद्घाटन समारोहको अघिल्लो दिन फ्रान्सस्थित नेपाली दूतावासले पेरिस ओलम्पिकमा सहभागी हुने नेपाली टोलीलाई स्वागत गर्दै सफलताका लागि शुभकामना दिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच