गुल्मी । गुल्मीको रुरुक्षेत्र गाउँपालिकामा जनप्रतिनिधि तथा कर्मचारीसंग कार्यसम्पादन करार सम्झौता गरिएको छ । नीति तथा कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नका लागि प्रमुख प्रशासकीय अधिकृतले गाउँपालिका अध्यक्षसंग र गाउँपालिकाका विभिन्न शाखाका प्रमुख एवम् वडा सचिवहरुले प्रमुख प्रशासकीय अधिकृतसंग कार्यसम्पादन करार सम्झौता गर्नुभएको हो ।
त्यसअवसरमा गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले कार्यसम्पादन करार सम्झौताले कर्मचारीलाई अनुशासनमा बाँधी जवाफदेहीतासहित कार्य गर्ने वातावरण सृजना गर्ने बताउनुभयो । सोको प्रतिवेदन नियमित रुपमा प्रमुख प्रशासकीय अधिकृत समक्ष पेश गर्ने व्यवस्था मिलाइएको भन्दै उहाँले यहाँ सञ्चालन हुने विभिन्न योजना तथा कार्यक्रमलाई कार्ययोजनासहित परिणाममूखी बनाउन जरुरी रहेको बताउनुभयो । जनताले अनुभूत हुने गरी सेवा प्रवाहको व्यवस्था मिलाउनुका साथै विगतका कमीकमजोरीलाई सुधार गरी परिस्कृत रुपमा कार्यक्रम सञ्चालन गर्न कर्मचारीलाई आग्रह गर्नुभयो ।
आर्थिक वर्ष २०८१/०८२ को लागि गाउँपालिका अध्यक्ष ज्ञवालीसँग विभिन्न ५१ सूचकमा कार्यसम्पादन करार सम्झौता गर्नुहुँदै प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले सार्वजनिक प्रशासन र व्यवस्थापन प्रणालीलाई कार्यसम्पादनमुखी, परिणाममुखी, जनउत्तरदायी र व्यवसायिक मूल्य मान्यताका आधारमा गाउँपालिकालाई अघि बढाउने लक्ष्य लिएको बताउनुभयो । कार्यसम्पादनमा आधारित प्रोत्साहन प्रणालीमा आवद्ध गरी कर्मचारीलाई उत्प्रेरित बनाउन पुरस्कार र दण्डको व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । नागरिकलाई केन्द्रमा राखेर बिना झन्झट जवाफदेहीतासहित प्रभावकारी सेवा प्रवाहमा लाग्न र नागरिकमैत्री कार्यालय बनाउन सबै राष्ट्रसेवक कर्मचारीहरु लाग्नुपर्ने उहाँको भनाइ छ ।
त्यस्तै, प्रमुख प्रशासकीय अधिकृत पाण्डेसँग विभिन्न १२ वटा शाखाका शाखा प्रमुख र छ वटा वडाका वडा सचिवहरुले कार्यसम्पादन करार सम्झौतामा हस्ताक्षर गर्नुभयो । कार्यसम्पादन करार सम्झौता विभिन्न सूचकमा १०० पूर्णाङ्कमा कर्मचारीको कार्यसम्पादनको मूल्याङ्कन गरी ३/३ महिनामा प्रगती प्रतिवेदन पेश गर्ने व्यवस्था मिलाइएको छ । कार्यसम्पादन करार सम्झौताको सफलताका लागि स्पष्ट कार्यविवरण, आवश्यक अधिकार, भौतिक, वित्तीय सूचना तथा ज्ञानसम्बन्धी स्रोत साधन र उपकरणसहित उचित व्यवस्थापकीय एवम् प्रशासकीय स्वतन्त्रता र लचकता, जिम्मेवारीसहित विभिन्न सूचकहरु तयार गरिएको गाउँपालिकाले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच