पार्टी अध्यक्ष दाहालको कार्यशैलीबाट आजित गजुरेलले त्यागे पद !

राजेन्द्र गौतम झापा, संवाददाता
Read Time = 10 mins

झापा । वैशाख २२ गते झापाको बिर्तामोडमा आयोजित कार्यक्रममा नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले नेतृत्वले यथार्थ बुझ्न नसक्दा पार्टीको दुर्गति भएको सार्वजनिक अभिव्यक्ति दिनुभएको थियो ।

त्यही अभिव्यक्ति दिएको तीन महिनापछि नेता गजुरेल पार्टीको जिम्मेवारीबाट स्वेच्छिक रूपमा अलग हुनुभएको छ । यसले उहाँ पार्टी नेतृत्वको कार्यशैलीप्रति असन्तुष्ट हुनुहुन्छ भन्ने मात्र देखाउँदैन अहिलेकै अवस्थाबाट पार्टी अघि बढ्न सक्दैन भन्ने पुष्टि गर्छ ।

उहाँले समाजवादी चेतनाको केन्द्र पूर्व भएको र त्यसमा पार्टी जोडिनु पर्ने फरक मत राखेर तीन महिना अन्तर संघर्ष गर्नुभयो । तीन महिने अन्तरसंघर्षबाट पनि पार्टी नेतृत्व सच्चिने लक्षणसम्म नदेखेपछि गजुरेलले जिम्मेवारी त्याग्नु भएको छ । पार्टी नेतृत्वलाई सुधारका योजनासहितको रणनीतिक कार्यक्रम लिखित तीन महिना संघर्ष गर्नुभयो।

गजुरेलले अघि सारेको कार्यक्रम र योजनामा पार्टी नेतृत्व सहमत हुनुको सट्टा उहाँलाई नै दोषी सावित गर्ने अवस्थामा पुगेपछि गजुरेलले जिम्मेवारी त्याग्नु भएको हो । १४ साउनमा पार्टी पदाधिकारी बैठकमा पदबाट राजीनामा दिएको लिखित पत्र बुझाउनु भएको छ।

विगतमा पार्टी अध्यक्ष पुष्पकमल दाहालको निकट सहयोगी र विश्वास पात्र मानिनु भएको गजुरेलले पदाधिकारी बैठकमा अध्यक्ष दाहालबाट भएका ६ मुख्य गल्ती औल्याइएको राजीनामा पत्र लिखित रूपमा पेस गजुरेलले बुझाउनु भएको छ । गजुरेलले दाहाल प्रधानमन्त्री हुँदा पारिवारिक राजनीतिले प्रश्रय पाएको दाबी गर्नु भएको छ ।

पार्टी अध्यक्ष दाहालले भाइ नारायण दाहाललाई राष्ट्रियसभा अध्यक्ष बनाएकोप्रति गजुरेलले तीव्र असन्तुष्टि व्यक्त गर्नु भएको छ । नेताहरूलाई जिम्मेवारी दिँदा अध्यक्ष दाहालले गरेको गल्तीले नेतृत्वको अक्षमता छताछुल्ल भएको आरोप गजुरेलले लगाउनु भएको छ ।

पार्टीको आठौँ महाधिवेशनमा ४६ जनाको स्थायी समिति निर्माण गर्दा १५ सदस्यीय पदाधिकारी बनाइनु पर्नेमा २१ सदस्यीय बनाएर विधि, पद्धति र विधान उल्लंघन गरेको गजुरेलको ठम्याइ छ ।

उहाँले पूर्वबाट स्थायी कमिटीमा कोही पनि नपरेको गुनासो बिर्तामोडको सो कार्यक्रममा गर्नु भएको थियो । गजुरेलको राजीनामापत्रमा पनि त्यो कुराले स्पेस पाएको छ । स्थायी कमिटीमा ठाउँ नदिएर नेतृत्वले पूर्वलाई उपेक्षा गरेको पार्टी फोरममा उठाउँदै आएको विषय हो ।

राजीनामापत्रमा गजुरेलले पार्टी बिग्रनुमा आफू पनि दोषी रहेको स्वीकार गर्नु भएको छ । पार्टी बिग्रनुमा आफ्नो भागमा पर्ने नैतिक जिम्मेवारी लिन आफू तयार रहेको पनि गजुरेलले राजीनामापत्रमा खुलाउनु भएको छ ।

यद्यपि, उहाँले आफ्ना कुरा स्थायी कमिटीमा राख्न पाउने अपेक्षासमेत गरेको बेहोरा राजीनामापत्रमा उल्लेख गर्नु भएको छ । त्यही कारण गजुरेलको राजीनामा स्वीकृत भएको छैन । माओवादीले २५ साउनमा स्थायी कमिटीको बैठक बोलाएको छ ।

गजुरेलले दाहाल प्रधानमन्त्री छँदा प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार पदबाट पनि राजीनामा दिनु भएको थियो । प्रधानमन्त्रीको राजनीतिक सल्लाहकारबाट राजीनामा दिएपनि कोशी प्रदेश इन्चार्जको हैसियतले पूर्वेली संगठन सदृढीकरण अभियान चलाउनु भएको थियो ।

सोही अभियानअन्तर्गत शनिबार (आज ) झापाको बिर्तामोडमा पाँच सय व्यक्तिलाई माओवादीमा प्रवेश गराइदै छ । विभिन्न पार्टीबाट पाँच सय व्यक्ति माओवादीमा प्रवेश गर्ने कार्यक्रम तय भएको बिहीबार बिर्तामोडमा आयोजित पत्रकार भेटघाटमा पार्टीका झापा अध्यक्ष राजु आचार्यले बताउनु भएको थियो । झापा अध्यक्ष आचार्यले आजको कार्यक्रममा नेता गजुरेल आउनेमा कुनै शंका नरहेको बताउनुभयो ।

" नेतृत्वको कार्यशैलीले पार्टी कमजोर भयो, बिग्रियो भनेर हामीले त कुरा राख्छौँ, उहाँले ( नेता गजुरेल ) त ५० बुँदा राख्न सक्नुहुन्छ, राख्नुहुन्छ " आचार्यले भन्नुभयो," पद त्यागेको, राजीनामा दिएको हामीलाई थाहा हुने विषय होइन, एउटा नेताले पार्टी सुधारको कुरा गर्नु, सशक्त पार्टी निर्माणका लागि युवालाई नेतृत्व दिनुपर्छ भन्नु कुनै अनौठो कुरा होइन ।"

नेकपा माओवादी केन्द्र सच्चिने कि सकिने भन्ने बहस माथिदेखि तलैसम्म चलिरहेको छ । बिहीबार मात्रै पनि पार्टीका कोशी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङले बिर्तामोडमा पत्रकार समक्ष पार्टी सकिन्छ कि सच्चिने भन्ने बहस चलिरहेको स्वीकार्नु भएको थियो ।

उहाँले पार्टी सच्चिएर अघि बढ्ने र केन्द्रीय समितिको बैठकले उपयुक्त निर्णय लिनेमा आफू विश्वस्त रहेको बताउँदै जनतामा पार्टीको लोकप्रियता कायम रहेको दाबी गर्नुभएको थियो ।

गजुरेल पार्टीभित्र बैचारिक नेताको रुपमा चिनिनु हुन्छ। जनतामा पनि उहाँको छाप बैचारिक नेताकै छ। उहाँले यथार्थ नबुझ्दा पार्टीप्रति जनताको मोह भंग भएको बारम्बार बताउँदै आउनु भएको थियो । माओवादी क्रान्तिको केन्द्र पश्चिम र समाजवादको आधार पूर्व भएको मत राख्ने गजुरेल विगतमा पार्टी सरकारमा हुँदा मन्त्रीसमेत भइसक्नु भएको नेता हुनुहुन्छ ।

उहाँले पूर्वको समाजवादी चेतनासँग पार्टीलाई जोड्नु पर्ने र जोड्न नसके पार्टीको बेहाल हुने मत राख्दै आउनु भएको छ । पार्टी पूर्व र पश्चिमी जोड्न नसक्नु गम्भीर गल्ती भएको मतमा अडिग गजुरेलले पार्टी बेहाल हुनुको मुख्य कारण नै त्यही भएको लिखित दस्तावेज पनि नेतृत्वलाई बुझाइ सक्नु भएको थियो ।

क्रान्ति पछि पार्टी जीवनको आधार पूर्व बन्यो भनेर घोषणा गर्न नसक्दा गम्भीर गल्ती भएको बताउने र त्यसलाई व्यवहारिक रुप दिन माग गर्दै आउनु भएको गजुरेलले पूर्वको चेतना पश्चिम पुग्न नसकेको र अब पनि नेतृत्वले नबुझे पार्टी थप कमजोर हुने बसस छेड्नु भएको थियो ।

पार्टीलाई नयाँ जीवन दिन संविधानमा नोटअफ डिसेन्ट लेखेको विषय लिएर पार्टी जनता सामु जानुको विकल्प नभएको बारबार नेतृत्वलाई भन्नुभएको गजुरेलले आफ्नो कुरा सुनुवाइ नभएपछि पदबाट राजीनामा दिएको विश्लेषण गरिएको छ ।

देशको शासकीय स्वरुप कार्यकारी प्रणालीको नहुँदा समस्या उत्पन्न भएको बताउने नेता गजुरेलले संविधानसभा बहिष्कार गरेका मधेसवादी दललाई चुनावमा सहभागी गराउँदासम्म पार्टी ठिक ठाउँमा उभिएको र त्यसपछि निरन्तर स्खलित भएको सुझावसहितको मत नेतृत्व समक्ष राख्नु भएको थियो।

पूर्वकै बलले २०६४ सालमा पार्टी पहिलो दल बनेको तर अहिले पूर्वलाई नै उपेक्षा गर्दा फुकीफुकी हिड्नु पर्ने अवस्थामा पार्टी पुग्दा पनि नेतृत्वले कार्यशैली नसच्याएपछि गलेर गजुरेलले पद त्याग गरेको बुझ्न कुनै कठिनाई छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?