विद्यार्थीलाई प्रत्येक शुक्रबार बृहत् यौनिकता शिक्षा

निर्पेन्द्रबहादुर मल्ल
Read Time = 7 mins

मुगु । मुगु जिल्लाका ६ वटा विद्यालयहरुमा प्रत्येक शुक्रवार विधार्थीहरुलाइ बृहत् यौनिकता शिक्षा दिन थालिएको छ ।

राइट हेअर राइट नाओ र सिडिएस-पार्क नामक संस्थाहरुको समन्वय र सहकार्यमा छायानाथ रारा नगरपालिकामा रहेका ६ वटा माध्यामिक विद्यालयहरुमा प्रत्येक शुक्रवार विद्यार्थीहरुलाई बृहत् यौनिकता शिक्षा दिन थालिएको हो ।

समुदायमा मानिसहरुलाई बृहत् यौनिकता सम्वन्धि शिक्षा नहुँदा शारिरिक, मानसिक र शैक्षिक रुपमा परिपक्क नहुँदै विवाह गर्ने, महिलाका प्रजनन स्वास्थ्य अधिकार प्रयोग नगर्ने, छाउपडी प्रथा मान्ने, युवाहरुको शारिरिक रुपमा हुने विकासबाट आत्तिने भएकाले यस्तो शिक्षा विद्यालय तहबाटै दिन विद्यार्थीहरुलाई प्रत्यक शुक्रबार बृहत् यौनिकता शिक्षा दिन थालिएको सिडिएस-पार्कका कार्यकारी निर्देशक अज बहादुर शाहीले बताउनु भयो ।

हाम्रो देशमा यौन र यौनिकताको सवालमा कुरा गर्न अझै पनि बर्जित छ, त्यसैले युवालाई यौन सम्बन्धी कुरा गर्न, सिक्न र खोजी गर्न चूनौतीपुर्ण छ । आफूलाई जतिसुकै यौनका विषयमा सिक्न र जान्न इच्छा भए पनि सामाजिक मनोविज्ञानका कारण उनीहरू यस सम्बन्धी सूचना र ज्ञान प्राप्त गर्न हिच्किचाउँछन् । मानिसको यस्तो व्यवहारका कारणले शिक्षक तथा अभिभावकलाई बालबालिकासँग र बालबालिकालाई आफ्ना शिक्षक तथा अभिभावकसँग यौनका विषयमा खुलेर कुरा गर्न सहज छैन। समाजको सांस्कृतिक मूल्यमान्यता र धार्मिक आस्था र अभ्यासका कारणले गर्दा पनि मानिस यो विषय स्वीकार्न र छलफल गर्न अप्ठ्यारो मान्छन् त्यसैले विद्यालय तहबाटै यौन र यौनिकताका बारे बुझाएर खुल्ला र निर्धक्क रुपमा यी विषयमा कुरा गर्न र समुदायमा बुझाउन सकियोस् भनेर विद्यार्थीलाई बृहत् यौनिकता शिक्षा दिन थालिएको पनि निर्देशक शाहीले बताउनुभयाे ।

छायानाथ रारा नगरपालिका भित्रका महाकाली नमुना माध्यामिक विद्यालय, प्रभात मावि रोवा, कर्णाली मावि टोप्ला, नेरा मावि मुर्मा, मावि लुम र मावि बाममा प्रत्येक शुक्रबार सिडिएस-पार्कबाट निउक्त सहजकर्ताहरुले बृहत् यौनिकता शिक्षा बारे कक्षा संचालन गर्दै आएका छन् ।

विद्यालयमा यौन तथा प्रजनन स्वास्थ्य सम्वन्धि ज्ञान दिने खालका पुस्तकहरु पनि राखिएको र कक्षाका अलावा विद्यार्थीहरुले फुर्सदको समयमा ती पुस्तकहरु पढ्ने गरेकाे सहजकर्ता भिमचन्द्र बुढा बताउनुहुन्छ ।

यौनिकता शिक्षा र पुस्तकालयमा उपलब्ध पुस्तकले आफुहरु निर्धक्क रुपमा यौन, यौनिकता र प्रजनन स्वास्थ्य बारे बोल्न सक्ने हुँदै गएको प्रभात माध्यामिक विद्यालय रोवामा कक्षा ९ मा अध्ययनरत विद्यार्थी नवीन बढुवाल बताउनु हुन्छ ।

के हो बृहत यौनिकता शिक्षा ?

यौनिकता शिक्षा भनेको मानव यौन तथा यौनिकताको शारीरिक, भावनात्मक, सांस्कृतिक, सामाजिक र व्यावहारिक पक्षको अध्ययन हो ।

यौनिकताले मानिसको मूल्य तथा मान्यता, यौनसँग प्रत्यक्ष सम्बन्ध भएका बृहत अर्थ, यसप्रतिको बुझाइ तथा प्रयोग र नियन्त्रण वा सीमालाई बुझाउँछ। यौनिकता, यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी गरिएका विभिन्न अध्ययनका अनुसार यौनिकता शिक्षामा आधारित जीवनोपयोगी सीप अभावका कारण किशोरकिशोरीले विभिन्न किसिमका चुनौती सामना गरिरहेका हुन्छन्। विविध जिज्ञासा उपर सही जानकारी नहुँदा वा जानकारी पाउने अवसर नहुँदा गलत सूचना प्राप्त गर्ने सम्भावना हुन्छ। गलत वा भ्रमपूर्ण सूचनाका कारण उनीहरूले जोखिमपूर्ण यौन व्यवहार अपनाएका अध्ययनले बताएको छ। यसकारण किशोरकिशोरी तथा युवाका लागि पहुँच पुग्ने गरी सूचना र जानकारी दिन आवश्यक छ ।

युनेस्कोका अनुसार बालबालिका तथा किशोर किशोरीलाई आफ्ना यौनिक तथा सामाजिक सम्बन्धमा जिम्मेवारपूर्ण छनौट गर्न योग्य बनाउन यौन शिक्षासम्बन्धी मूल्यमान्यता, ज्ञान र सीप प्रदान गर्नु नै बृहत यौनिकता शिक्षाको आधारभूत लक्ष्य हो।’ आईपीपीएफको परिभाषा अनुसार, बृहत यौनिकता शिक्षा भन्नाले ‘युवालाई व्यक्तिगत सम्बन्धमा, शारीरिक र संवेगात्मकरूपमा आफ्नो यौनिकातालाई निर्धारण गर्न तथा सुखमय बनाउन उनीहरूमा यौनसम्बन्धी ज्ञान, सीप, अवधारणा र मान्यताको विकास गर्नु हो ।

बृहत यौनिकता शिक्षाले सन्तोषजनक यौन जीवनले सम्बन्धहरूलाई समेट्छ र साथसाथै विवाह गर्ने, आफ्नो साथी चुन्ने अधिकार र सहमतिका बारेमा शिक्षा दिन्छ ।

पाठ्यक्रममा यौनिकतालाई मानव जीवन, लैंगिकता र विविधताको अधारभूत पक्ष मानेर समेटिनुपर्छ । बृहत यौनिकता शिक्षालाई जीवन उपयोगी सीपको आधारमा विकास गरिनुपर्छ जसले विद्यार्थीको सैद्धान्तिक ज्ञानलाई अभ्यासमा रुपान्तरण गरी सुरक्षित यौन तथा प्रजनन जीवनका लागि व्यवहारमा परिवर्तन ल्याउन सहयोग पुग्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?