काठमाडौं । बंगलादेशमा विद्यार्थी आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री शेख हसिनाले देश छाडेको २४ घण्टापछि देशको संसद् भंग भएको छ । आन्दोलनरत विद्यार्थी नेताहरूले मंगलबार दिउँसोसम्म संसद् भंग गर्न अल्टिमेटम दिएका थिए । उनीहरूले संसद् भंग नगरे आन्दोलनका थप कार्यक्रमहरू घोषणा गर्ने चेतावनी पनि दिएका थिए । सोहीअनुसार राष्ट्रपति मोहम्मद शहाबुद्दिनले मंगलबार देशको संसद् भंग गर्नुभएको हो । राष्ट्रपति कार्यालयको प्रेस विभागले एक सूचना जारी गर्दै संसद् भंग भएको जानकारी दिएको छ । सूचनामा तीनै सेनाका प्रमुख, विभिन्न राजनीतिक दलका नेता, नागरिक समाजका सदस्य र विद्यार्थी आन्दोलनका नेतासँग राष्ट्रपतिको वार्तापछि यो निर्णय लिइएको उल्लेख छ ।
विज्ञप्तिमा बिएनपी अध्यक्ष खालिदा जियालाई रिहा गरिएको पनि उल्लेख छ । विद्यार्थी आन्दोलन र विभिन्न मुद्दामा थुनामा परेकाहरूलाई रिहा गर्ने प्रक्रिया सुरु भइसकेको र धेरैलाई रिहा गर्ने पनि जनाइएको छ । उता, बंगलादेश सेना प्रमुख वाकेर उज जमनले नयाँ सरकार बनाउने तयारी थालिसक्नु भएको छ । सरकार बनाउन उहाँले विभिन्न राजनीतिक दलका नेताहरूसँग छलफल गरिरहनु भएको छ । विद्यार्थी नेताहरूले भने सेना समर्थित वा सेना नेतृत्वको सरकार स्वीकार्य नहुने बताउँदै आएका छन् ।
बंगलादेशका विद्यार्थी नेताले अन्तरिम सरकार नोबेल विजेता मोहम्मद युनुसको नेतृत्वमा गठन गरिनुपर्ने बताएका छन् । ‘विभेदविरोधी विद्यार्थी आन्दोलन’ का संयोजक नाहिद इस्लाम, असिम महमद र अबु बाकर मजुम्दारका तर्फबाट मंगलबार सबेरै सार्वजनिक गरिएको भिडियोमा युनुसलाई अन्तरिम सरकारको जिम्मेवारी दिइनुपर्ने बताइएको हो । युनुस सन् २००६ मा नोबेल शान्ति पुरस्कार विजेता अर्थशास्त्री हुनुहुन्छ । उहाँ बंगलादेशको ग्रामीण बैंकका संस्थापकसमेत हुनुहुन्छ ।
युनुस बंगलादेशमा बनाउने भनिएको अन्तरिम सरकारको प्रमुख सल्लाहकार बन्न सहमत हुनुभएको छ । द डेली स्टारले विश्वसनीय स्रोतको हवाला दिँदै प्राध्यापक युनुस अन्तरिम सरकारको नेतृत्व गर्न सहमत भएको जनाएको हो । युनुसको भनाइ उद्धृत गर्दै डेली स्टारले लेखेको छ, ‘सुरुमा छात्रहरूले मलाई सम्पर्क गर्दा त म सहमत थिइनँ । मैले उनीहरूलाई मेरा धेरै कामहरू बाँकी रहेको बताएको थिएँ । तर, विद्यार्थीहरूले बारम्बार आग्रह गरिरहे ।’ युनुस यतिबेला विदेशमा हुनुहुन्छ । उहाँ पेरिस ओलम्पिकको उद्घाटन समारोहमा सहभागी हुन जानुभएको थियो । त्यसपछि उपचारका लागि भन्दै उहाँको विदेश भ्रमण लम्बिएको छ । छिट्टै नै उहाँ स्वदेश फर्कने बताइएको छ । यसअघि युनुसले शेख हसिनाको राजीनामापछि बंगलादेश ‘स्वतन्त्र’ भएको टिप्पणी गर्नुभएको थियो ।
शैक्षिक संस्थाहरू खोल्न निर्देशन
बंगलादेशमा सेनाले सत्ता सम्हालेपछि शैक्षिक संस्थाहरू खोल्न निर्देशन दिएको छ । प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएपछि सेनाले सत्ता सम्हालेको छ । राष्ट्रपति मोहम्मद शाहबुद्दिनले अन्तरिम सरकार गठनका लागि निर्देशन दिइसक्नु भएको छ । त्यतिन्जेल मुलुकको शान्ति सुरक्षा सेनाले सम्हाल्ने बताइएको छ । सेनाको सञ्चार निर्देशनालय इन्टर–सर्भिसेज पब्लिक रिलेसन्स (अन्तवाहिनी जनसंयोग) ले मंगलबारदेखि सम्पूर्ण शैक्षिक संस्थाहरू खोल्न निर्देशन दिइएको जनाएको छ ।
ढाकामा केही विद्यालयहरू खुले पनि न्यून संख्यामा विद्यार्थी उपस्थित रहेको ढाका ट्रिब्युनले जनाएको छ । कक्षा ११ को भर्ना खुलिरहेकाले पनि केही विद्यार्थी आइरहेको उदयन उच्च माविकी प्राचार्य जोहरा बेगमले जनाएकी छन् । बुधबारदेखि भने शैक्षिक संस्थाहरूमा विद्यार्थीको उपस्थिति धेरै हुन सक्ने बताइएको छ । जुलाई १६ देखि विद्यार्थीहरूले आन्दोलन चर्काएपछि जुलाई १७ देखि बंगलादेशको शिक्षा मन्त्रालयले अनिश्चित कालका लागि शैक्षिक संस्थाहरू बन्द गर्न निदर्शेन दिएको थियो ।
हडतालमा प्रहरी एसोसिएसन
बंगलादेशमा नयाँ अन्तरिम सरकार बनाउने तयारी भइरहेको बेला त्यहाँको प्रहरी एसोसिएसनले सुरक्षाको चुनौती रहेको भन्दै हडतालको घोषणा गरेको छ । बिबिसीका अनुसार बंगलादेशका हजारौँ प्रहरी अधिकारीहरू आबद्ध रहेको पुलिस सर्भिस एसोसिएसनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हरेक प्रहरी अधिकारीहरूको सुरक्षाको सुनिश्चितता नभएसम्मका लागि हामीले हडतालको घोषणा गरेका छौँ ।’
सोमबार प्रधानमन्त्री देश नै छोडेर भाग्ने गरी भएको विद्यार्थी आन्दोलनको क्रममा मात्रै कम्तीमा ४५० प्रहरी चौकीमा आक्रमण भएको विज्ञप्तिमा उल्लेख छ । झडपमा प्रहरी अधिकारीसमेत मारिएका छन् । बिबिसीका अनुसार मंगलबार ढाकामा सवारी साधनहरूको चहलपहल भए पनि सडकमा ट्राफिक प्रहरीहरू भने देखिएका छैनन् । बंगलादेश प्रहरीका एडिसनल इन्स्पेक्टर जनरल सोहेल रानाले विज्ञप्ति जारी गर्दै भन्नुभएको छ, ‘समस्या नेतृत्वमा छ, प्रहरी बलमा होइन । दोषीलाई कारबाही हुन्छ । कृपया निर्दोष प्रहरी अधिकारीहरूमाथि आक्रमण नगरिदिनुस् ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच