दक्षिण एसियाको सबैभन्दा कान्छो मुलुक बंगलादेश पुनः अर्को अस्थिरताको दौरमा प्रवेश गरेको छ । प्रधानमन्त्री शेख हसिना वाजेदले राजीनामा दिएर देशबाट पलायन भएसँगै अनिश्चयको नयाँ चरण सुरु भएको हो । विद्रोहका लागि डढेलो आवश्यक पर्दैन । सानो झिल्काले बालेको बत्तीमा हावा लाग्नासाथ त्यो भयानक विष्फोटक हुन्छ भन्ने पछिल्लो उदाहरण हो बंगलादेशको परिघटना । वितेका चार वर्षमा पहिले अफगानिस्तानका तत्कालीन राष्ट्रपति डा.घानी, श्रीलंकाका राष्ट्रपति राजा पाक्षे हुँदै अहिले बंगलादेशकी प्रधानमन्त्रीले सत्ता र देश दुवै छाड्नुपर्ने अवस्था आएको छ । सानो टापु देश माल्दिभ्स पनि स्थिरताको पर्खाइमा पौडी खेलिरहेको छ । यस्तो किन भइरहेको छ दक्षिण एसियामा ? यो प्रश्न भविष्यमा समेत विवेच्य हुनेछ ।
शेख हसिनाका पिताजी शेख मुजिवर रहमानको नायकत्वमा बंगलादेश निर्माण भएको हो । सन् १९७१ मा मुक्ति वाहिनीको नेतृत्व गर्दै पाकिस्तानबाट पृथक भएको बंगलादेशको सहयोगी भारत रहेको थियो । त्यस समयमा पनि बंगलादेशलाई स्वतन्त्र राष्ट्र बनाउन भारतीय सेनाको मुख्य सहयोग थियो । तर, स्थापनाकालदेखि नै निरन्तर यो देश अस्थिरताको व्यूहबाट निस्कन सकेको छैन । वंगबन्धु वा बंगालका पिताजस्तो आदरपूर्वक पुकारिने नेताको हत्या बंगलादेश बनेको चार वर्ष नपुग्दै भयो । शेख मुजिवको सपरिवार हत्याको त्यो घटनामा विदेश भएका कारण जेठी छोरी शेख हसिना र उनकी बहिनीमात्रै जोगिएका थिए । शेख हसिना बाजेदले सन् १९८१ देखि नै सैनिक सत्ताविरुद्ध संघर्ष गर्दै पहिलो पटक सन् १९९६ मा सफलता पाएकी थिइन् । त्यसपछि जियाउर रहमानकी पत्नी खालिदा जियाको शक्तिशाली बंगलादेश नेसनल पार्टीले उनलाई विस्थापित ग¥यो । तर, सन् २००९ मा पुनरागमन पश्चात् त्यही समयदेखि नै शेख हसिनाले सत्ता सम्हाल्दै आएकी थिइन् । उनको १५ वर्षेकाल आर्थिक वृद्धि, औद्योगीकरण र स्थायित्वका लागि मानिएको छ ।
तर, सत्तामदले गरेका त्रुटिहरू, विपक्षीविरुद्धको ज्यादती र भारतीय सरकारसँगको बढी निर्भरताले उनलाई अन्ततः देश परित्याग गर्न विवश हुनुप¥यो । नियतीको खेल पनि आश्चर्यजनक हुन्छ । बंगलादेश निर्माण गर्ने मुक्तिनायक शेखमुजिवुर रहमानको स्मारकलाई क्रेनले ढाल्दै गरेको दृश्य ढाकाबाट अनेक सामाजिक सञ्जालहरूले देखाएका छन् । सन् १९९१ मा लेनिनको स्मारक रुसी भूमिबाट जसरी हटाइएको थियो, जसरी इराकबाट सद्दाम हुसेनको स्मारक ढालिएको थियो र जुनरूपमा नेपालमा पृथ्वीनारायण शाहको शालिक र भानुभक्तको शालिक भत्काइएको थियो बंगलादेशको भिडले पनि त्यसरी नै आफ्ना देश निर्माणका नायकको स्मारक धुलोमा मिलाउन पुगेका छन् ।
शेख हसिना वाजेदको सत्ताविस्थापन र देशबाट पलायनको यो दुःखद् अवस्था आउनुमा स्वयं शेख हसिना पनि जिम्मेदार जस्तो देखिएकी छिन् । उनले सन् १९७१ को स्वतन्त्रता आन्दोलनमा सहभागीहरूका सन्तान दरसन्तानलाई अनन्तकालसम्म आरक्षण दिन गरेको निर्णय, गत जनवरीमा सम्पन्न निर्वाचनमा गरेको बल प्रयोग र विपक्षीमाथिको ज्यादती मुख्य कारण हुन् भन्नेमा सन्देश छैन । प्रमुख विषय आरक्षण नै हो । आरक्षणको विषयले योग्यलाई चिन्दैन । जसका लागि तोकिएको हो त्यो मात्रै योग्य हुन्छ आरक्षणमा । भारतमा पनि पिछडा वर्गका नाममा आरक्षण छ । नेपालमा त खास जातिहरूका लागि आरक्षणको व्यवस्था छ । एकथरीले सम्पूर्ण अधिकार र अर्कोथरीले आधा अधिकारको उपयोग भएको छ नेपालमा पनि । यद्यपि यो व्यवस्थाले सीमान्तक्षेत्रका, पिछडिएका, शिक्षा र आर्थिक रूपमा विपन्न अनि जाति विभेदका कारण छुवाछूतमा परेका वर्गलाई माथिल्लो श्रेणीमा उकास्न सहयोग पुगेको छ । तर, यस्तो आरक्षण सामाजिक रूपमा छुवाछूत मेट्ने अभियानका रूपमा हुनुपर्ने थियो भने समग्रमा आर्थिक आधारमा हुनुपर्ने थियो । कथित माथिल्लो जातमा जन्मेकै कारण भरिया, किसान, मजदुर, विपन्न भए पनि राज्यको स्पष्ट विभेदमा परेका छन् । कदाचित कुनै दिन यस्तो विभेदविरुद्ध जनमत उठ्यो भने नेपालमा पनि बंगलादेशको जस्तो हुँदैन भन्ने छैन । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले आरक्षणलाई निरन्तर राख्न गरेको जिरहले उनलाई सत्ताबाट सडकमा पुग्ने अवस्था आयो । कति कठोर हुन्छ नियती । उनको यो जिरहकै परिणाम शेखमुजिवको शालिकले समेत अपमानजनक विस्थापनको सिकार हुनुपरेको छ । नेपालमा तत्कालीन राजा ज्ञानेन्द्रको हठकै परिणाम पृथ्वीनारायण शाहको शालिक पनि अपमानित हुनुपरेको उदाहरणसँग यो घटना मिल्दोजुल्दो छ ।
जे भए पनि निर्वाचित सरकारलाई अपदस्त गरी सेनाले परिस्थितिलाई अनुकूल गराउने प्रयास गरेको छ । समाचार सत्य हुन् भने राजीनामा दिएर ४५ मिनेटभित्र नै देश छाड्न प्रधानमन्त्रीलाई सेनाले कठोर सुझाव दिएको थियो । प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्न खोज्दा पनि उनलाई समय दिइएन । प्रश्न उठ्छ के अव बंगलादेश पुनः सेनाको छत्रछायाँमा नै सत्ता सञ्चालन हुने अवस्थामा पुगेको हो ? वर्तमान राष्ट्रपति शहाबुद्दीनको कदम कस्तो होला ? सेनापति वाकर जमिनको महŒवाकांक्षा कुन रूपमा प्रकट होला ? हिरासतमुक्त भएकी खालिदा जियाको भूमिका कुन रूपमा हुने हो ? आन्दोलनकारी विद्यार्थीहरूले भने जस्तै नोबल पुरस्कार विजेता मोहम्मद युनुसलाई कार्यकारी अधिकार प्रदान गर्ने सम्भावना छ कि छैन ? त्यहाँ यतिखेर अल्पसंख्यक हिन्दुहरूका घर लुटिँदै छन् र उनीहरू आतंकको छायामा भयभीत छन् । अवामी लिगका कार्यकर्ता र सदस्यहरू पनि शासकीय प्रतिशोधको सामना गर्दैछन् । के अबको सत्ताले यी विषयको सही समाधान दिनसक्ला र कस्तो परिवेश सिर्जित होला ?
अर्कोतिर भारतीय सत्ताको निकट मित्र भएकी शेख हसिनाको पहिलो कदम शरणार्थीका रूपमा भारत भूमिमा नै परेको छ । उनले अबका दिनमा राजनीतिक शरण लिनै पर्ने देखिएको छ । के उनी भारतमा नै बस्छिन् वा अर्को कुनै देश जाने हुन् ? निश्चित देखिएको छैन । त्योभन्दा पनि सत्ताविस्थापित भएकी उनले बंगलादेशको राजनीतिमा आफूलाई कुन रूपमा प्रस्तुत गर्ने हुन् ? यसअघि पाकिस्तानका नवाज शरिफ पटक–पटक निर्वासति हुँदै सत्तामा फर्कँदै गरेका हुन् । त्यो उदाहरण अफगानिस्तानका डा.घानी र श्रीलंकाका राजपाक्षेसँग मिल्दैन । शेख हसिनाको सक्रियताले अथवा उनको भावी कदमले नै उनको राजनीतिक भविष्य खोज्नेछ ।
बंगलादेशको विद्रोह र परिवर्तनले दक्षिण एसियामा समेत केही न केही प्रभाव छाड्नेछ । खासगरी भारतको अनन्य सहयोगी शेख हसिनाको सत्ता विस्थापनले भारतीय सत्तालाई झस्काएको देखिन्छ । भारतीय सञ्चारमाध्यमहरूले विद्रोह र शेख हसिनाको सत्ताविस्थापनका पछि आइएसआई, पाकिस्तान र चीनको हात रहेको आरोप लगाइरहेका छन् । दक्षिण एसियामा माल्दिभ्स, श्रीलंका र पाकिस्तानकै रूपमा बंगलादेश पुगेको उनीहरूको मूल्यांकन छ । अब विस्तारै यहीक्रम नेपालमा पनि देखिने हो कि भन्ने शंंका गरिँदैछ । नेपालका परिवर्तनविरोधीहरू, शासकीयशैलीबाट दिक्क हुनेहरू पनि उत्साहित जस्तै भएको अवस्था छ ।
तर, अराजकतावादका लक्षणहरू बंगलादेशमा मात्रै प्रकट छैनन् । पाँच वर्ष पहिलेको युक्रेन होस् कि आजको बेलायत अराजकताका चरम अभ्यासका उदाहरण हुन् । फ्रान्सेली समाज पनि अराजकताकै छायाँमा छ । शासनका लागि अराजकताले अमेरिका पनि आक्रान्त नदेखिएको होइन । कतिपय अफ्रिकी देशहरूमा आज पनि अराजक भिडको वर्चस्व छ । त्यस्तै अराजकताको उत्कर्ष ढाकाका सडकमा प्रधानमन्त्री निवासबाट कुर्सी, टेबुल, थाल, कचौरा, टिभी, भाँडावर्तन, प्mयान, कुदाउने र भान्सामा पुगेर विर्यानी खाँदैको भिडयो खिच्ने भिड राजनीतिक परिवर्तनको अनुशासित माध्यम मान्न सकिँदैन । यस्तै भिडले अराजकताको शिखर छोइरहेको देखिन्छ । त्यस्तै आँखा र मस्तिष्क विनाको भिड जाग्यो भने कुनै पनि देशका कुनै पनि नामका सत्ता र प्रणाली समाप्त हुनसक्छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच