काठमाडौं । साहित्यकार किरण आचार्यको पौराणिक कथामा आधारित उपन्यास ‘अहिल्या’ विमोचन गरिएको छ । शनिबार काठमाडौंमा एक विशेष कार्यक्रमबीच साहित्यिक पत्रकार संघको आयोजनामा उक्त कृतिको विमोचन गरिएको हो ।
संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्व तथा प्राडा.जयराज अवस्थीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सापसका पूर्व अध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठ, समालोचकत्रय प्राडा.गोविन्दमानसिंह कार्की, प्रमोद प्रधान तथा ज्ञानु अधिकारीलगायत स्रष्टा समाज नेपालका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’, लेखक तथा पत्रकार राजकुमार बानियाँ तथा शिखा बुक्स प्रा.लि.का अध्यक्ष पुष्पराज पौडेल समेतको आतिथ्यतामा उक्त कृतिको लोकार्पण गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि काठमाडौं विश्वविद्यालयका अनुसन्धान विभागका सदस्य जयराज अवस्थीले नेपालगञ्ज जस्तो ठाउँमा बसेर यस्ता कृतिहरू आउनु खुशीको कुरा भएको बताउनुभयो । उहाँले पौराणिक कथामा आधारित उपन्यासहरू लेखेर स्थापित भइसकेको अवस्थामा अब सामाजिक विषयवस्तुमा केन्द्रित कृति लेख्न लेखकलाई अनुरोध गर्नुभयो ।
सभापतिका आसनबाट संघका अध्यक्ष लेकालीले उपन्यासकार आचार्यको पौराणिक उपन्यासहरूका बारेमा संक्षेपमा प्रकाश पार्नुभएको थियो । ‘जरत्कारू’ र ‘परशुराम’जस्ता पौराणिक उपन्यास लेखेर प्रसिद्धि पाइसकेकी लेखिकाले अब ‘सीता, सुपर्णखा र दुर्गा’का बारेमा समेत लेख्न अध्यक्ष लेकालीले आग्रह गर्नुभयो ।
समालोचक प्रा.डा.गोविन्दमानसिंह कार्कीले किरण आचार्य पौराणिक विषयवस्तुमा आधारित उपन्यास लेखनमा स्थापित नाम भइसकेको जिकिर गर्नुभयो । अर्का समालोचक ज्ञानु अधिकारीले कतिपय कृतिका सन्दर्भमा लेखकले भन्न चाहेको र पाठकले पढ्न चाहेको कुरा फरक हुने सुनाउनुभयो । समालोचक प्रमोद प्रधानले लेखकले उपन्यासका लागि विषयवस्तु र पात्रको चयन गर्दा आफ्नो विशिष्टता देखाएको धारणा राख्नुभयो । प्रकाशक शिखा बुक्सका अध्यक्ष पौडेलले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
उपन्यासकार आचार्यले आफ्नो लेखकीय मन्तव्यमा इच्छा जागेपछि मान्छेले जे पनि गर्न सक्छ भनेर बताउनुभयो । साथै, उहाँले कसैलाई खसाल्नु छ भने स्त्री जातिलाई प्रयोग गर्ने गरेको पौराणिक इतिहास रहेको कुरा औँल्याउँदै देवराज इन्द्रले अहिल्यामाथि गरेको यौन शोषणका कारण गौतम ऋषिले कुरै नबुझी अहिल्यालाई सराप दिएको र ढुंगा बन्नु परेको कथा सुनाउनुभयो ।
उपन्यास अहिल्याका सम्पादकसमेत रहनुभएका लेखक तथा पत्रकार राजकुमार बानियाँले किरण आचार्यका अन्य अरू कृतिहरू पनि आफूले सम्पादन गर्ने मौका पाएको र उहाँका पौराणिक उपन्यासहरू ज्यादै राम्रो हुने जिकिर गर्नुभयो ।
उपन्यासकार किरण आचार्यको यो नवौं कृति हो । यसअघि उहाँका उपन्यास ‘जरत्कारू’, ‘परशुराम’ कवितासंग्र्रह ‘अनुभूति’, मुक्तकसंग्र्रह ‘अस्तित्व’, कथासंग्र्रह ‘क्यान्टोनमेण्ट’, लघुकथासंग्रह ‘सृष्टिचक्र’, ‘हाम्रा देवदेवी धन र यथार्थ’ गद्यलेखसंग्र्रह र एउटा थारू जातिका लोककथा थारू भाषामै लेखिएको कथासंग्र्रह प्रकाशनमा आइसकेका छन् ।
कार्यक्रममा अमेरिकाबाट आउनुभएका साहित्यकार तारा निरौलालाई स्वागत सम्मानसमेत गरिएको थियो भने कार्यक्रममा कलाकार नरहरि प्रेमीले इन्द्र र अहिल्याको बारेमा गीत प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा सापसका महासचिव डा.दामोदर पुडासैनी ‘किशोर’ले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन यादव भट्टराईले गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच