काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई गरिबीबाट मुक्त पार्न नसकिए समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा नहुने बताउनुभएको छ । ‘लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ के’ को जिल्ला पदस्थापना र प्रथम क्याबिनेटलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाललाई अल्पविकसित अवस्थाबाट स्तरोन्नति गराउन रोजगारी, उत्पादन र उद्यमशीलतामा जोड दिँदै आइएको बताउनुभयो । ‘मुलुकमा अझै पनि २० प्रतिशत नागरिक गरिबीको रेखामुनि छन् । भोका बालबालिका र मानिसलाई खान लाउने वातावरण दिन सकिएन भने हामीले समृद्ध नेपालको परिकल्पना गर्नुको सार्थकता रहँदैन’, ओलीले भन्नुभयोे, ‘हालै संयुक्त राष्ट्रसंघका प्रतिनिधिसँगको भेटमा मैले यो कुरा गरेको थिएँ । आउँदो असोजको पहिलो साता राष्ट्रसंघको महासभामा पनि म यिनै विषयलाई महत्व दिएर बोल्नेछु । मानव जगत्को सुरक्षा, शान्ति र समृद्धि हाम्रो साझा चिन्ता हो । मानव जगत नै सुरक्षित हुन सकेन भने पृथ्वीको सुरक्षामै खतरा पर्नसक्छ । अशान्ति मच्चिन सक्छ । त्यसैले मानव अधिकारको रक्षा पहिलो दायित्व हो भन्ने भावनाले सबैले काम गर्नुपर्छ ।’
ओलीले आफूले सत्यको बाटोको राजनीति गर्दै आएकाले सत्यसँग नलड्ने र शक्तिसँग नझुक्ने मान्यताका साथ काम गरिरहेको बताउनुभयो । सत्य र मानव सेवामा लाग्ने लायन्सहरूका साथमा अहिलेको सरकार रहने उहाँको भनाइ छ । ‘म भ्रष्टाचार गर्दिनँ र गर्न दिन्नँ । म राष्ट्रको सम्पत्ति जालझेल गरेर आफ्नोे नाममा कुनै पनि हालतमा ल्याउँदिनँ,’ उहाँले भन्नुभयो । प्रधानमन्त्री ओलीले समाजलाई सुव्यवस्थित गर्ने काम राजनीति र राजनीतिक दलको भएको उल्लेख गर्दै आफूलाई अग्लो देखाउन अरूलाई होचो भन्ने वा असत्य कुराहरूलाई आधार मानेर गाली गलौज र बदनाम गर्नेहरूको प्रवृत्ति सही नहुने बताउनुभयो ।
‘उन्माद र स्वार्थप्रेरित व्यवहारले विश्वमा अशान्ति छायो’
प्रधानमन्त्री ओलीले अहिलेको विश्वलाई पहिलेको भन्दा अझ बढी शान्ति आवश्यक भएको बताउनुभएको छ । उन्माद र स्वार्थप्रेरित व्यवहारका कारण विश्वमा अशान्ति छाएको पनि प्रधानमन्त्री ओलीको भनाइ थियो । काठमाडौंमा रहेको धर्मकीर्ति बिहारमा एक वर्षसम्म सञ्चालित गृहस्थ जीवनसम्बन्धी प्रशिक्षणका सहभागीलाई शनिबार प्रमाणपत्र वितरण गर्दै प्रधानमन्त्री ओलीले अहिलेको विश्वलाई शान्ति, करुणा, मानवता, स्नेह, ममता र परोपकार भाव अति आवश्यक भएकाले बौद्धशिक्षा अझ सामयिक भएको बताउनुभयो । दम्भको मार्ग त्यागेर मानवनीयता र आत्मीयता अवलम्बन गर्न सके विश्वमा शान्ति कायम हुने र पृथ्वीको पनि रक्षा गर्न सकिने प्रधानमन्त्री ओली बताउनुभयो । उहाँले भन्नुभयोे, ‘आज विश्वमा उन्माद र स्वार्थप्रेरित व्यवहारका कारण अशान्ति छाएको छ । आफ्नो जिद्धीका लागि निर्दोष मान्छेमाथि पनि कसले कतिबेला कहाँ सशस्त्र आक्रमण गर्ने हो भन्ने भयको वातावरणमा बस्नुपरेको छ । त्यसको अन्त्यका लागि बुद्धमार्गको अनुशीलन उपयोगी हुन्छ ।’ प्रधानमन्त्री ओलीले परस्पर बेमेल र अशान्ति मानवीय प्रवृत्ति नभएकाले त्यसले विनाश मात्रै निम्त्याउने धारणा व्यक्त गर्नुभएको थियो । विहारका प्रमुख धम्मवतीले प्रधानमन्त्रीको आरोग्यको कामना गर्दै उहाँको नेतृत्वमा देश समृद्धिको पथमा अग्रसर हुने विश्वास व्यक्त गर्नुभएको थियो । त्यस अवसरमा प्रधानमन्त्री ओलीकी धर्मपत्नी राधिका शाक्य र काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोललगायत सहभागी थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच