हुन त प्रकृति नै यो विश्व चराचर जगतको जीवनको मूल आधार र स्रोत हो । त्यसबाटै आजको विश्वको ५० प्रतिशत सकल घरेलु उत्पादन अर्थात आम्दानी अर्थात् जिडिपी प्राप्त हुने गरेको विश्वको तथ्यांक छ तर अब बिग्रदो पर्यावरणको असन्तुलनका कारणले मानव सहयोगी कीटपतंगहरूको तीव्र विनाश भएर गइरहेको छ । त्यसले गर्दा महुरी जस्ता सहयोगी कीरा जो विश्वको झण्डै एक तिहाइ खानाका लागि जिम्मेवार छन् त्यस प्रकारका उपयोगी कीटपतंगको ठूलो संख्यामा गिरावट आइरहेको छ । यसप्रति मानिसहरूले दिनुपर्ने जति ध्यान दिन सकिरहेका छैनन् । यस सम्बन्धी विज्ञ विशेषज्ञ भनिरहेका छन् कि यस बिग्रँदो स्थितिप्रति ध्यान दिन निक्कै ढिलो भइरसकेको र भइरहेको छ ।
तापक्रम बदलिएर आज गर्मी यत्तिका बढेको छ कि बाँदरहरूजस्ता प्रकृतिमै रमाउने जनावहरू पनि गर्मीले गर्दा रूखबाट खसेर मर्न थालेका छन् । उदाहरणका लागि मेक्सिकोको तटीय राज्य तबास्कोमा गएको साता अर्थात् मई महिनाको दोस्रो सातामात्रै १३८ हाउलर जातका बाँदर मृत पाइएका थिए । यतिबेला मेक्सिकोमा तीव्र गर्मी बढेको छ । त्यहाँ गएको मार्चदेखि अहिलेसम्म अत्याधिक गर्मीले गर्दा २७ जना मानिसको मृत्यु भइसकेको छ । यो बढ्दो तापक्रममा अब अलिकति मात्रै वृद्धिहुँदा पनि त्यो जीवजन्तुको ज्यानै जाने स्थिति उत्पन्न हुने गर्दछ भन्ने जानकार विज्ञ बताइरहेका छन् ।
मानिसका कारणले जैविक विविधतामा हुनेगरेको नोक्सानी विश्वमा जीवजन्तुहरूको छैटौं सबैभन्दा ठूलो नोक्सानीको कारण बनिरहेको अनुसन्धानमा उल्लेख छ । त्यसले गर्दा जीव जन्तु र बोटविरुवाको एक तिहाइ प्रजाति आउँदा केही शताब्दीभित्र बिल्कुलै समाप्त हुन पुग्ने गम्भीर स्थिति छ ।
अमेरिकाको नासा विज्ञान प्रतिष्ठानका अनुसार २१औं शताब्दीको औद्योगिक कालखण्डभन्दा पहिलाको सरदर तापक्रमको तुलनामा गएको वर्ष २०२३ मा पृथ्वीको सरदर तापक्रम २.५ डिग्री बढेको थियो । बितेको दश वर्ष वास्तवमा लगातार बढ्दो गर्मीका वर्ष रहे । बढ्दो गर्मीको यो घातक स्थितिले गर्दा वास्तवमा जैविक विविधतामा अपूरणीय क्षति पुगिसकेको र पुगिरहेको छ ।
विश्वमा जैविक विविधताका अनेक शत्रु छन्
हुन पनि विश्व तापमान (ग्लोबल वार्मिङ)का अतिरिक्त जैविक विविधतामाथि यस्ता अनेक खतरा छन् । बढ्दो प्रकृति-अमैत्री औद्योगिकीकरण र प्रदुषणले पनि जैविक विविधतालाई निरन्तर खतरामा धकेलिरहेका छन् । झण्डै तीन दशक जति पहिला डिसेम्बर १९९३ मा नै संयुक्त राष्ट्र संघले जैविक विविधताको विषयलाई लिएर विश्वभरिका लागि केही महत्वपूर्ण नियम निर्धारण गरिरहेको थियो । अहिलेसम्म त्यस सम्झौतामा १९६ सदस्य सामेल छन् । यसै परिप्रेक्षमा संयुक्त राष्ट्र संघ महासभाले २२ मईका दिनलाई अन्तर्राष्ट्रिय जैविक विविधता संरक्षण दिवस घोषित गरिसकेको पनि हो । किनकि सम्झौताको आरम्भिक मस्यौदा सहमतिमा त्यही दिन हस्ताक्षर भएको थियो ।
अहिले त्यो सम्झौता विश्वका १९६ देशले मान्दछन् । पूरै विश्वका देशले यो नियमलाई मान्दछन् । अनि गएको २००० सालमै त्यो सहमति बनेको दिनलाई संयुक्त राष्ट्र संघको माहासभाले जैविक-विविधता संरक्षण दिवस घोषणा गरेको थियो । आजको दिनानुदिन बिग्रँदो स्थितिलाई हेर्दा जैविक विविधतालाई लिएर नियम र कानुनहरूलाई अझ कडा र ठोस तुल्याइनुपर्ने विज्ञले बताइरहेका छन् । अहिले विश्वको केवल १७ प्रतिशत जमिन र आठ प्रतिशत सामुद्रिक हिस्सामात्र संरक्षित रहेका छन् । जहाँ जैविक विविधता कथित रूपमा वन विनाश, संशाधाहरूको शोषण र प्रदुषणबाट सुरक्षित छन् । तर, ती संरिक्षत ठानिएका र मानिएका क्षेत्रहरूमा पनि जलवायु परिवर्तन, बाढी, खडेरी र जंगली आगलागी जस्ता खतराले नोक्सान पुर्याइरहेको स्थिति छ ।
समाप्त हुँदैछन् बंगलादेश जत्रा सुन्दरवनका जंगली क्षेत्र
जैविक विविधता संरक्षण दिवसमा लुप्त प्राय बनेका प्रजातिहरूको सूची जारी गर्ने गरेको संस्था इन्टरनेसनल युनियन फर कन्जरभेसन अफ नेचर (आइयुसिएन) ले सुन्दर वन अर्थात् (मेग्रोब वन)लाई लिएर एउटा अध्ययन जारी राखेको छ । त्यसले भनेको के छ भने जलवायु परिवर्तन, बन फँडानी र प्रदुषणका कारण विश्वका आधाभन्दा बढी यस्ता सुन्दर वन अर्थात मेग्रोब वन समाप्त हुने गम्भीर खतराको सँघारमा पुगेका छन् । त्यो अध्ययन गर्ने संस्थाले पहिलो पटक विश्वका ३७ बेग्लाबेग्लै इलाकामा त्यस्ता सुन्दर वनको अध्ययन गरिसकेपछि यो तथ्यको उजागर गरेको हो । आजको विश्वमा १५ प्रतिशत वन यस्तै तटीय मेग्रिब (सुन्दर) वन विनाशको घेरमा परेका छन् ।
यस्ता वन पृथ्वीको १.५ लाख वर्ग किलोमिटर क्षेत्रमा फैलिएका छन् । त्यो मिलाउने हो भने अहिलेको बंगालादेश जत्रै क्षेत्र बन्छ । त्यसमा पनि विज्ञहरू ६० प्रतिशत यस्तो वन नराम्रो किसिमले समाप्त हुने संघारमा पुगेको छ भनिरहेका छन् । अध्ययन गर्ने संस्थाका प्रमुख ग्रेथल आगिलारले भनेका छन्, ‘यी सबै कुरालाई हेरेर र मिलाएर यस्ता मेग्रोब वनहरूको संरक्षणका बारेमा तुरुन्त कदम चाल्नुपर्ने तीव्र आवश्यकता बनेको छ । यो क्षेत्र विश्वका लाखौंलाख महत्वपूर्ण जीव जन्तुहरूको बासस्थान छ’ ।
विश्वमा प्रकृतिबाटै आउँछ ५० प्रतिशत जिडिपी
मानिसका कारणले जैविक विविधतामा हुनेगरेको नोक्सानी विश्वमा जीवजन्तुको छैटौं सबैभन्दा ठूलो नोक्सानीको कारण बनिरहेको अनुसन्धानमा उल्लेख छ । त्यसले गर्दा जीव जन्तु र बोटविरुवाहरूको एक तिहाइ प्रजाति आउँदा केही शताब्दीभित्र विल्कुलै समाप्त हुन पुग्ने गम्भीर स्थिति छ । यो केवल प्रकृतिको नोक्सानीमात्र हुने छैन त्यसभन्दा अझ बढी त्यस प्रकृतिको नोक्सानीको डरलाग्दो दुष्परिणाम मानिसले पनि उठाउनुपर्नेछ । सबैलाई थाहा भएकै कुरा हो कि यो जैविक विविधताले विश्व अर्थ व्यवस्थाका लागि पनि अत्यन्तै महŒवपूर्ण र प्रत्यक्ष अर्थ राख्दछ ।
संयुक्त राष्ट्र पर्यावरण कार्यक्रमकी उपप्रमुख एलिजाबेथ मारुम मेर्माले एउटा अन्तर्वार्तामा बताएकी छन् कि-विश्वको कूल जिडिपी उत्पादनको ५० प्रशित हिस्सा प्रकृतिबाटै आउँदछ । त्यसैले जैविक विविधताको संरक्षण गर्नाले धरतीमा जीवनको रक्षामात्र हुने होइन आगामी २०३० सम्ममा ४० करोड अतिरिक्त रोजगारी पनि यसबाट पैदा हुनेछ’ । आजको विश्वमा यो पनि कम महत्वको कुरा होइन ।
कीटपतंग नभए खाद्यान्न पनि हुँदैन ।
विश्वमा यतिबेला विद्यमान खाद्य संकटका बीच थप यस्तो स्थिति उत्पन्न हुनुपुग्नु भयावह परिणाम हुनजानेछ । त्यसले यस विषयमा अहिलेदेखि नै गम्भीर भएर विश्व लाग्नुपर्ने र कीटपतंगको रक्षा गर्न जाग्नुपर्ने स्थिति छ ।
विश्वमा कीट पतंगको घट्दो संख्या र खतराको संघारमा पुगेका तिनका प्रजातिहरूलाई लिएर यतिबेला जानकार गम्भीर चिन्ता व्यक्त गरिरहेका छन् । किनभने बोटबिरुवाका लागि अपरिहार्य पराग सेचन अर्थात् ‘पोलिनेससन’ का लागि ती कीटपतंगको जुन महत्वपूर्ण भूमिका हुन्थ्यो त्यो कम भएर गयो र त्यसले ठूलो प्रभाव पार्न थाल्यो र अझ स्थिति तीव्ररूपमा बिग्रने अवस्था बनेको छ । यही क्रम जारी रहेमा स्थिति निश्चयनै अझ नाजुक हुनेछ ।
सन् २०१९ मा गरिएको एउटा अध्ययनले पनि के भनेको छ भने केवल आउँदा एक दुई दशकभित्र नै यस्ता कीटपतंगको संख्यामा ४० प्रतिशतले कमी आउनेछ र त्यसको नराम्रो र गम्भीर असर पर्नेछ । विश्वमा यतिबेला विद्यमान खाद्य संकटका बीच थप यस्तो स्थिति उत्पन्न हुनुपुग्नु भयावह परिणाम हुनजानेछ । त्यसले यस विषयमा अहिलेदेखि नै गम्भीर भएर विश्व लाग्नुपर्ने र कीटपतंगको रक्षा गर्न जाग्नुपर्ने स्थिति छ ।
अहिले विश्वमा पोर्चुगल देश जत्रो क्षेत्रको जंगल हरेक वर्ष काटिँदै फाँडिँदै गएको स्थिति छ । अनि यसरी बनका बोटविरुवा काटिएको क्षेत्रको जैविक विविधतामा पनि ठूलो असर पर्ने कुरा निश्चित छ । यसरी काटिएको जंगलको आधाजसोमा वृक्षरोपण पनि गरिँदो होला । तर, नयाँ लगाइएको जंगलमा पुरानै सरहको जैविक स्थिति बन्न लामो समय लाग्ने हुन्छ र पूर्ववत् जैविक विविधतको स्थितिमा आउन सक्ने सम्भावना कम हुन्छ । त्यसैले त्यस्ता वन क्षेत्रमा रहँदै बस्तै आएका समुदायहरू जंगली जमिनमाथिको आफ्नो हकलाई लिएर सम्झौता गर्न विश्वभरि नै आवाज पनि उठाइरहेका छन् र सम्झौता गर्न चाहन्छन् ।
त्यसमा उनीहरूले वन सम्पदा जोगाउने, वन्यसंस्कृति कायम राख्ने र वन जंगलको रक्षा र विकास गर्ने कुरा पनि सन्निहीत छ । यस कुरामा दृष्टि पुर्याउनुपर्ने आवश्यकता आज अझ बढ्न गएको छ । यसो गरेर वनविनास रोक्न २०३० सम्म हरेक वर्ष ८२४ बिलियन डलरको लगानी गर्नुपर्ने आवश्यकता रहेको बताइन्छ । यो खर्च यो २०२४ को अमेरिकी सेनाको बजेटभन्दा ४० प्रतिशत कम हो तर यत्रो ठूलो खर्च विकासोन्मुख र विकासशील गरिब देशहरू स्वयंले गर्न सक्ने देखिँदैन ।
त्यसैले अहिले पनि गरिब देशहरूले यस सम्बन्धमा धनी सम्पन्न देशहरूसँग फण्डको याचना गर्नुपर्ने स्थिति छ । अनि यस्तो फन्डमा डलर आवश्यकताभन्दा निकै कम छ र अहिलेसम्म केवल ३०० बिलियन डलरसम्ममै यो सीमित रहेको देखिन्छ । त्यसैले बिगारिएको जैविक विविधता, कीटपतंगको बिलोपन र मानव जीवनकै भविष्य अभूतपूर्व खतरामा पर्न सक्ने यो विषयलाई धरतीवासी सबैले अत्यन्तै गम्भीर भएर सामना गर्न र जोगाउन मन फुकाएर लाग्नुको कुनै विकल्प छैन । पृथ्वी र पर्यावरण जोगिएमात्र आफू पनि जोगिने हो । अरू कुनै उपाय नरहेको आजको वस्तुगत यथार्थ हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच