काठमाडौं । एक प्रतिभाशाली गायक प्रकाश तिमिल्सिनाको निधन भएको छ । शनिबार बेलुका ललितपुरको भैँसेपाटी डेरामा अचेत अवस्थामा भेटिनुभएका उहाँलाई परिवारका सदस्य र आफन्तले तत्काल पाटन अस्पताल पुर्याएका थिए । तर, डाक्टरले मृत घोषणा गरेका थिए । सुनसरीका स्थायी बासिन्दा तिमिल्सिना गायन प्रतियोगिता ‘नेपाली तारा’मार्फत संगीत क्षेत्रमा उदाउनुभएको थियो । उहाँका ‘प्रिय तिम्रो सिउँदोमा सिन्दूर भर्न देऊ’, ‘तिम्रो हातको सिन्दूर’, ‘नमान लाज यसरी’, ‘तिमीलाई देखेर आँखा त्यहीँ छोडी हिंडे म’, ‘नआए नि हुन्थ्यो’लगायत गीत धेरै रुचाइएका छन् । उहाँले बाल्यकालमै आँखाको ज्योति गुमाउनुभएको थियो । गायक तिमिल्सिनाको निधनमा संगीतकर्मी, शुभेच्छुक, सर्वसाधारणलगायतले सामाजिक सञ्जालमा अन्तिम श्रद्धाञ्जलि व्यक्त गरिरहेका छन् ।
३५ वर्षीय तिमल्सिना श्रीमतीसहित भैँसेपाटीमा बस्दै आउनुभएको थियो । तर, घटना हुँदा पत्नी भने विराटनगरमा हुनुहुन्थ्यो । उहाँ काठमाडौं आइपुगेपछि प्रहरीले आवश्यक प्रक्रिया अगाडि बढाएको थियो । प्रहरीका अनुसार तिमल्सिना खाटमा लडिरहेको अवस्थामा भेटिनुभएको थियो । उहाँको मुखबाट केही रगत निस्किएको पाइएको थियो । १० वर्षअघि विवाह गर्नु भएका तिमल्सिनाका बच्चाबच्ची भने थिएनन् ।
उहाँको पाटन अस्पतालमा पोष्ट मार्टम गरिएको थियो । चिकित्सकले मुटु, कलेजोलगायत भित्री अंगले काम नगरेपछि तिमल्सिनाको मृत्यु भएको बताएका छन् । ‘चिकित्सकले खासगरी मुटु र कलेजोमा समस्या देखिएकाले मृत्यु भएको बताएका छन् । विस्तृत आउन बाँकी छ’, ललितपुर प्रहरी स्रोतले भन्यो ।
अन्तर्राष्ट्रिय सांगीतिक क्षेत्रमा समेत दृष्टिविहीन नेपाली गायकको रूपमा स्थापित हुनुहुन्थ्यो, प्रकाश । थुप्रै भाषामा गीत गाउन सक्ने प्रतिभाशाली गायकको रूपमा उहाँलाई चिन्दै आएको थियो । प्रकाश २०४५ सालको भूकम्पपछि आएको बाढीका कारण घरसँगै बुवा–आमा गुमाएर अभिभावकविहीन बन्नुभएको थियो । त्यही समय उहाँको आँखाको ज्योति पनि गुमेको थियो ।
झण्डै एक सय हाराहारी गीत रेकर्ड गराउनुभएका उहाँ आफ्नो गायन क्षमता भगवानको उपहार ठान्नुहुन्थ्यो । उहाँले केही समय सोल्टी होटेलको क्यासिनोमा अंग्रेजी गीत पनि गाउनुभएको थियो । प्रकाशको निधनले नेपाली सांगीतिक क्षेत्रले एक होनाहार प्रतिभा गुमाएको छ । प्रकाशप्रति हिमाल टाइम्स परिवार हार्दिक श्रद्धासुमन अर्पण गर्दछ साथै शोक सन्तप्त परिवारप्रति गहिरो समवेदना अर्पण गर्दछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच