
सुर्खेत । कर्णालीका २३ स्थानीय तह पूर्ण साक्षर घोषणा हुन बाँकी छन् । २३ स्थानीय तह पूर्ण साक्षर घोषणा हुन बाँकी रहेपछि कर्णाली साक्षर प्रदेश घोषणा कार्यक्रम पछि धकेलिएको छ । साक्षर प्रदेश घोषणा कार्यक्रम पछि सर्दै गएपछि आगामी भदौ २३ गते एकैपटक २३ वटै स्थानीय तहलाई पूर्ण साक्षर घोषणा गर्ने तयारी छ । उक्त घोषणासँगै कर्णालीका सबै जिल्ला र पालिका पूर्ण साक्षर बन्ने सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसर पारेर स्थानीय तहलाई साक्षर घोषणा गरिने जनाइएको छ । प्रदेश सरकारले साक्षर स्थानीय घोषणासम्बन्धी अवधारणापत्र तयार गरेको हो । गत वर्ष बजेटको स्रोत सुनिश्चितता नहुँदा साक्षर पालिका घोषणा हुन सकेका थिएनन् । यो वर्ष चालु आर्थिक वर्षको सुरुमै स्थानीय तहमा बजेट पठाइएको प्रदेश शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार साक्षर घोषणाको तयारीका लागि बजेट सम्बन्धित पालिकामा पठाइसकिएको छ । केन्द्रका निर्देशक निलकण्ठ ढकालका अनुसार नगरपालिकामा चार लाख र गाउँपालिकामा तीन लाखका दरले बजेट पठाइएको हो । कर्णालीका दशमध्ये जाजरकोट, दैलेख, सुर्खेत, सल्यान र रूकुम-पश्चिम साक्षर जिल्ला घोषणा भइसकेका छन् भने कालीकोट, मुगु, जुम्ला, हुम्ला र डोल्पा घोषणा हुन बाँकी छन् । बाँकी रहेका जिल्लामा स्थानीय तहमार्फत् साक्षर अभियान घोषणा गर्न लागिएको हो ।
साबिक कर्णालीका पाँच जिल्लाका ३६ पालिकामध्ये २३ पालिका साक्षर घोषणा हुन बाँकी रहेका हुन् । जसमा मुुगुुका चार, जुुम्लाका आठ, कालीकोटका ६, हुुम्लाको एक र डोल्पाका चार वटा गरी २३ पालिका साक्षर घोषणा भएका छैनन् । सबै स्थानीय तहहरूले भने भदौ २३ गते अन्तर्राष्ट्रिय साक्षरता दिवस पारेर पालिकालाई साक्षर घोषणा गर्ने प्रतिबद्धता जनाएका छन् । प्रदेश सरकारले सुरुवाती वर्षदेखि नै साक्षर घोषणाका लागि बजेट विनियोजन गरे पनि कार्यान्वयन हुन सकेको छैन । प्रत्येक वर्ष प्रदेश सरकारले बजेट विनियोजन गर्दै आइरहेको छ ।
अघिल्ला वर्षहरूमा २५ लाखदेखि दुई करोडसम्म बजेट विनियोजन हुने गरेको थियो । कर्णाली साक्षर घोषणाका लागि चालु आर्थिक वर्षमा समेत प्रदेश सरकारले ४० लाख बजेट विनियोजन गरेको छ । यो वर्ष कर्णालीलाई साक्षर घोषणा गर्ने गरी तयारी थालिएको सामाजिक विकास मन्त्रालयका शैक्षिक महाशाखा प्रमुख जवाहरलाल हमाल बताउनुहुन्छ ।
यता प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले पनि यही वर्षभित्र ‘साक्षर कर्णाली’ घोषणा गर्ने प्रतिबद्धता जनाउनुभएको छ । सुर्खेतको वीरेन्द्रनगरमा आयोजित साक्षर कर्णाली प्रदेश तयारीसम्बन्धी अभिमुखीकरण कार्यक्रममा उहाँले साक्षर पालिका घोषणा गर्नमा विलम्ब गर्न नहुने बताउनुभयो । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका उप-महानिर्देशक महेन्द्र पराजुलीले यो वर्ष बाँकी रहेका पालिकालाई साक्षर घोषणा गर्ने गरी लागिपरेको बताउनुभयो । उहाँका अनुसार संघीय सरकारले यो वर्ष नै बाँकी रहेका प्रदेशलाई पूर्ण साक्षर गर्ने गरी कार्ययोजना निर्माण गरेको छ ।
स्थानीय तहमा तीव्र तयारी
मुगुको सोरु गाउँपालिका ‘साक्षर अभियान’ घोषणाको अन्तिम तयारीमा छ । पालिकाले भदौ २३ गते साक्षर घोषणा गर्ने गरी तयारी भइरहेको जनाएको छ । गाउँपालिकाका शिक्षा शाखा प्रमुख नारायणप्रसाद भट्टले तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । यता मुगुकै छायाँनाथ रारा नगरपालिकाले असोजसम्म पालिकालाई साक्षर घोषणा गर्ने प्रतिबद्धता जनाएको छ । नगरपालिकाका शिक्षा शाखा प्रमुख हस्तबहादुर भाम छिटोमा भदौ र ढिलोमा असोजसम्म साक्षर घोषणाको तयारी भइरहेको बताउनुहुन्छ ।
यसैगरी मुगुको खत्याड गाउँपालिकाका शिक्षा शाखा प्रमुख लोकेन्द्र बुढाका अनुसार यसै वर्ष साक्षर घोषणा गर्ने गरी पालिका लागिपरेको छ । जुम्लाको तिला गाउँपालिकाले भदौ २३ गते साक्षर घोषणाका लागि तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । जुम्लाकै पातारासी गाउँपालिकाले पनि यसै वर्ष पालिका साक्षर घोषणा गर्ने जनाएको छ । कालीकोटको शुभकालिका गाउँपालिका र पलाता गाउँपालिकाले समेत साक्षर घोषणाको तयारी तीव्र पारेका छन् । भदौमा नै साक्षर स्थानीय तह घोषणा गर्ने पालिकाहरूले प्रतिबद्धता जनाएका छन् ।
गत वर्ष नै पालिकाहरूले साक्षर घोषणाको तयारी गरेका थिए । तर, बजेट प्राप्त नहुँदा घोषणाको काम रोकिएको थियो । यो वर्ष चालु आर्थिक वर्षको सुरुमा नै शिक्षा तथा मानव स्रोत विकास केन्द्रले बजेट पालिकामा पठाएसँगै साक्षर घोषणाका गतिविधि तीव्र पारिएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच