पाल्पा । तागाधारीको पहिचान हो जनै । तर, पछिल्लो समय तागाधारीहरू नै जनैको महत्वबारे अनविज्ञ बन्दै गएका छन् । जनैको महत्व पछिल्लो समय युवापुस्ताले नबुझ्दा संस्कृति लोप हुन थालेको छ । जेनतेन पुरानो पुस्ताले जनै बनाउँदै आए पनि नयाँ पुस्ताले यसतर्फ चासो नदेखाउँदा संस्कृति नै हराउँदै जान थालेपछि ब्राहृमण समाज नेपाल पाल्पाले भने संरक्षणका लागि चासो देखाएको छ । समाजले तानसेन नगरपालिका-२ वडा कार्यालयको आर्थिक सहयोगमा तानसेन नगरभित्रका विद्यार्थी, महिला, पुरुषहरूलाई जनै बाट्ने परम्परा सिकाएको छ । समाजले नयाँ पुस्तामा जनै बनाउने सीपको विकास गराई संस्कृति बचाइराख्न जनै बनाउने तालिम दिएको हो ।
नयाँ पुस्ताप्रति जनै बाट्ने परम्पराको विस्तार गरी विदेशी मुलुकबाट करोडौँ रुपैयाँको जनै आयात हुने र उक्त जनै विधिपूर्वकसमेत नहुने हुँदा त्यसलाई रोक्न तालिम सञ्चालन गरिएको समाजका अध्यक्ष धर्मचन्द्र नेपालले बताउनुभयो । जनैको आयात रोक्ने र संस्कृतिमा नयाँ पुस्तालाई आकर्षित गर्नुका साथै रोजगारसँग जोड्ने अभियानमा आफूहरू लागेको उहाँको भनाइ छ । ‘तागाधारीको पहिचान भनेकै जनै रहेकाले यसको संरक्षणका लागि स्थानीय सरकारले अभियानकै रूपमा अगाडि बढाउनुपर्ने उहाँको तर्क छ । तालिमको शुभारम्भ गर्न पुग्नुभएकी तानसेन नगरपालिकाकी निमित्त नगरप्रमुख प्रतीक्षा सिंजालीले तालिमले नयाँ पुस्तामा जनै बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले संस्कृतिको संरक्षणमा समाजले देखाएको चासो र चिन्ता प्रशंसनीय रहेको बताउनुभयो । सिंजालीले भन्नुभयो, ‘नयाँ पुस्ताले जनै बनाउन सिके हुने भन्ने थियो अहिले सिकाउने काम भएको छ । यो त सबैका लागि खुसीको कुरा हो । एकातिर संस्कृतिको जगेर्ना हुने र अर्काेतर्फ आयआर्जनमा टेवा पुग्ने भएकाले युवा पुस्ताले जनै बनाउन चासो दिए हुने हो ।’ उहाँले यस्ता संस्कृतिको संरक्षणमा नगर सरकारले समेत विशेष ध्यान दिँदै आएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा तानसेन-१ का वडाध्यक्ष सुनिल बस्याल, २ का वडाध्यक्ष महेश्वर श्रेष्ठ, २ की महिला वडा सदस्य सविता भट्टराई, प्राचार्य चक्रपाणि गौतम, सामाजिक तथा बौद्धिक व्यक्तित्व बुद्धिप्रसाद शर्मा, पत्रकार सेनानी मेघराज शर्मा, विश्व हिन्दू महासंघका केन्द्रीय सदस्य हरिशंकर बस्याल, तानसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिला, अधिकृतहरू दुर्गा थापा, भरत आचार्य, कौशल न्यौपानेलगायतले हिन्दूहरूका लागि जनैको निकै महत्व रहे पनि बाहिरबाट करोडौँको जनै आयात गर्नुपर्दा नेपाली पैसा विदेश पठाउनुपर्ने बाध्यता रहेकाले त्यसलाई रोक्न यस्ता तालिम महत्वपूर्ण हुने बताए ।
उनीहरूले स्थानीयस्तरमा जनै बनाउने तालिम लिई जनै उत्पादन गर्न सके संस्कृतिको जगेर्ना हुने र व्यावसायिक रूपमा उत्पादन गर्न सके निम्न आय भएका व्यक्तिहरूका लागि जीविकोपार्जनसमेत हुनेमा जोड दिए । मुख्य प्रशिक्षक नारायणप्रसाद अर्यालले यो पहिलोपटक आयोजना गरिएको तालिम भएकाले नयाँ पुस्तालाई सिक्न केही समय लाग्ने बताउनुभयो । उहाँले छोटो समयको तालिमले मात्र सिकाइ पूर्ण नहुने भन्दै आगामी दिनहरूमा यसका लागि समय र दायरा फराकिलो पार्नुपर्नेमा जोड दिनुभयो । प्रशिक्षक नारायणप्रसाद अर्याल, ध्रुव ज्ञवाली, हरिशंकर बस्याल, डुकुलराज ढकाल, गोविन्द नेपाललगायतले जनै बनाउन सिकाएका थिए । उनीहरूले तालिममा सिकेका कुराहरूलाई व्यवहारमा उतार्न सहभागीहरूलाई आग्रहसमेत गरे ।
के हो जनै ?
हिन्दूहरूले बायाँ काँधबाट छड्के पारी दायाँ हातमुनि खोकिलासम्म पहिरिने सेतो सुती धागोबाट बनेको पवित्र धार्मिक डोरीलाई जनै वा यज्ञोपवित भनिन्छ । खासगरी हिन्दूका सोह्र संस्कारमध्ये एक उपनयन वा व्रतबन्ध गर्दा वैदिक मन्त्रका साथ गुरूले जनै पहिराइदिने प्रचलन रहेको छ । जनै लगाउँदा येन बद्धो बलिराजा दानवेन्द्रो महाबलः, तेन त्वां प्रतिबध्नामी रक्षेमा चलमा चल मन्त्र पढ्दै लगाइन्छ । शास्त्रीय भाषामा जनैलाई यज्ञोपवित भनिन्छ । ब्राहृमणले उपनयन गरेपछि वेद पढ्नुपर्ने र वेद पढ्न जनै (बहृमसूत्र) लगाएरै पढ्नुपर्ने मान्यता छ । यसले मान्छेलाई सांस्कृतिक रूपमा अनुशासित बनाउने विश्वास रहिआएको छ ।
यसरी बन्छ जनै
बजारबाट ल्याएको काँचो धागोलाई सानो चर्खाको सहायताले संगालेर जनै बनाउने गरिन्छ । कतुवाको सहायताले काँचो धागो बाटेपछि जनैको डोरा तयार हुन्छ । काँचो धागोको २७ सरा बेरेर ३ सरे र ५४ सरा बेरेर ६ सरे जनै तयार हुन्छ । शिखासहितको जनैलाई वैदिक मन्त्रले मन्त्रेपछि त्यो पूर्ण हुन्छ । शिखा जनैको महत्वपूर्ण भाग हो । यसलाई ब्रहृमगाँठोसमेत भनिन्छ । स-साना नियमलाई उन्दै गएर जनै तयार हुन्छ । जनै बनाउँदा पाँच ग्रन्थी अर्थात् पाँच गाँठा पारिन्छन् । यी पाँच गाँठा पञ्चमहायज्ञका प्रतीक हुन् । हिन्दू दर्शनअनुसार जनैलाई ब्रहृमसूत्र अर्थात् ज्ञानको धागो पनि भनिन्छ । जनैका दुई शिखामध्ये एउटा शिखामा रहेका तीन डोरालाई ब्रहृमा, विष्णु र महेश्वर तथा अर्को शिखाको डोरालाई कर्म, उपासना र ज्ञानका तीन योग मानिन्छ । जनै शब्दको अर्थ जनाउनु अथवा जानकारी दिनु हुन जान्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच