
काठमाडौं । देशमा आर्थिक गतिविधि सुस्ताए पनि अर्थतन्त्रका मुख्य सूचक भने सबल बन्दै गएका छन् । त्यसो त बाहृय क्षेत्रमा निरन्तर सुधार देखिएको पनि आन्तरिक अर्थतन्त्रमा भने खासै सुधार छैन । बाहृय क्षेत्रअन्तर्गत शोधनान्तर बचत निरन्तर रूपमा बढ्दो क्रममा रहेको छ भने रेमिट्यान्स आप्रवाह पनि सन्तोषजक नै देखिएको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक तथ्यांकअनुसार शोधनान्तर बचत बढेर पाँच खर्ब दुई अर्ब ४९ करोड पुगेको छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति दुई खर्ब ८५ अर्ब ८२ करोडले मात्रै बचतमा थियो । अमेरिकी डलरमा अघिल्लो वर्ष दुई अर्ब १७ करोडले बचतमा रहेको शोधनान्तर समीक्षा वर्षमा तीन अर्ब ७७ करोडले बचतमा रहेको छ ।
त्यसैगरी, २०८० असारमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ३२.६ प्रतिशतले वृद्घि भई २०८१ असारमा २० खर्ब ४१ अर्ब १० करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असारमा ११ अर्ब ७१ करोड रहेकोमा २०८१ असारमा ३०.४ प्रतिशतले वृद्घि भई १५ अर्ब २७ करोड कायम भएको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असारमा १३ खर्ब ४५ अर्ब ७८ करोड रहेकोमा २०८१ असारमा ३७.४ प्रतिशतले वृद्घि भई १८ खर्ब ४८ अर्ब ५५ करोड कायम भएको छ । बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असारमा एक खर्ब ९३ अर्ब ५९ करोड रहेकोमा २०८१ असारमा ०.५ प्रतिशतले घटेर एक खर्ब ९२ अर्ब ५५ करोड कायम भएको छ । २०८१ असार मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.५ प्रतिशत रहेको छ । तथापि, आर्थिक वर्ष २०८०/८१ को आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १५.६ महिनाको वस्तु आयात र १३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने केन्द्रीय बैंकले जनाएको छ ।
त्यसैगरी, आर्थिक वर्ष २०८०/८१ मा चालु खाता दुई खर्ब २१ अर्ब ३४ करोडले बचतमा रहेको छ । अघिल्लो वर्ष चालु खाता ४६ अर्ब ५७ करोडले घाटामा थियो । अमेरिकी डलरमा अघिल्लो वर्ष ३६ करोड ६ लाखले घाटामा रहेको चालु खाता समीक्षा वर्षमा एक अर्ब ६६ करोडले बचतमा रहेको छ । तर, पुँजीगत ट्रान्सफर २२.९ प्रतिशतले घटेर पाँच अर्ब ८१ करोडमा झरेको भने खुद प्रत्यक्ष वैदेशिक लगानी आठ अर्ब ४० करोड कायम भएको छ । अघिल्लो वर्ष पुँजीगत ट्रान्सफर सात अर्ब ५४ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी छ अर्ब १७ करोड थियो ।
१४ खर्बभन्दा बढी रेमिट्यान्स
आर्थिक वर्ष २०८०/८१ मा विप्रेषण आप्रवाह १६.५ प्रतिशतले वृद्धि भई १४ खर्ब ४५ अर्ब ३२ करोड पुगेको छ । अघिल्लो वर्ष विप्रेषण आप्रवाह २३.२ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १४.५ प्रतिशतले वृद्धि भई १० अर्ब ८६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.९ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको संख्या चार लाख ६० हजार १०३ र पुनः श्रम स्वीकृति लिनेको संख्या दुई लाख ८१ हजार १९९ रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः चार लाख ९७ हजार सातसय चार र दुई लाख ७७ हजार २७२ रहेको थियो ।
मूल्यवृद्धि ५.४४ प्रतिशत
महँगी पनि अघिल्लो आर्थिकभन्दा घटेको छ । २०८१ असारमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३.५७ प्रतिशतमा झरेको हो । २०८० असार महिनामा यस्तो मुद्रास्फीति ७.४४ प्रतिशत थियो । आर्थिक वर्ष २०८०/८१ मा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ५.४४ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०८०/८१ मा खाद्य तथा पेय पदार्थ समूहको वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ६.४७ प्रतिशत रहेको छ ।
अघिल्लो आर्थिक वर्ष उक्त समूहको यस्तो मुद्रास्फीति ६.६२ प्रतिशत थियो । २०८१ असारमा खाद्य तथा पेय पदार्थ समूहको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.१० प्रतिशत रहेको छ । २०८० असारमा उक्त समूहको मुद्रास्फीति ७.३८ प्रतिशत थियो ।
त्यस्तै, आर्थिक वर्ष २०८०/८१ मा गैरखाद्य तथा सेवा समूहको वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ४.६४ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्ष उक्त समूहको यस्तो मुद्रास्फीति ८.६२ प्रतिशत थियो । २०८१ असारमा गैरखाद्य तथा सेवा समूहको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३.१५ प्रतिशत रहेको छ । २०८० असारमा उक्त समूहको मुद्रास्फीति ७.४८ प्रतिशत थियो । आर्थिक वर्ष २०८०/८१ मा काठमाडौं उपत्यकाको वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ५.९९, तराई ४.८२, पहाड ५.७८ र हिमालको ६.८६ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्ष उक्त क्षेत्रहरूको मुद्रास्फीति क्रमशः ७.५५, ८.००, ७.५६ र ७.१२ प्रतिशत थियो ।
१६ खर्बको आयात
आर्थिक वर्ष २०८०/८१ मा कुल वस्तु निर्यात ३.० प्रतिशतले घटेर एक खर्ब ५२ अर्ब ३८ करोडमा झरेको छ । अघिल्लो वर्ष यस्तो निर्यात २१.४ प्रतिशतले घटेको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः ३.३ र ४.३ प्रतिशतले घटेको छ भने चीनतर्फको निर्यात ४६.६ प्रतिशतले बढेको छ । वस्तुगत आधारमा जिंक सिट, पार्टिकल बोर्ड, जुस, पोलिष्टर धागो, पिना लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, सोयाविन तेल, ऊनी गलैँचा, ब्रान्स, जुटका सामान लगायतको निर्यात घटेको छ । समीक्षा वर्षमा कुल वस्तु आयात १.२ प्रतिशतले कमी आई १५ खर्ब ९२ अर्ब ९९ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आयात १६.१ प्रतिशतले घटेको थियो ।
वस्तु आयात गरिने मुलुकका आधारमा भारत तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ३.० र १७.६ प्रतिशतले घटेको छ भने चीनबाट भएको आयात ३४.२ प्रतिशतले बढेको छ । वस्तुगत आधारमा यातायात उपकरण, सवारीसाधन तथा स्पेयर पार्टपुर्जा, तयारी पोशाक, हवाईजहाजको स्पेयर पार्टपुर्जा, विद्युतीय उपकरण, अन्य मेशिनरी तथा पार्ट्स लगायतको आयात बढेको छ भने कच्चा सोयाविन तेल, सुन, हट रोल्ड सिट इन क्वायल, कच्चा पाम तेल, धान तथा चामल लगायतका वस्तुको आयात घटेको छ । समीक्षा वर्षमा कुल वस्तु व्यापार घाटा १.० प्रतिशतले घटेर १४ खर्ब ४० अर्ब ६० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो घाटा १५.५ प्रतिशतले घटेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच