काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करण मंसिर १५ गतेबाट हुने भएको छ । खेल पुस ६ गतेसम्म चल्नेछ । नेपाल क्रिकेट संघ (क्यान) ले आफैं आयोजना गर्न लागेको यस फ्रेन्चाइज प्रतियोगिताको सोमबार बेलुका युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले लोगो सार्वजनिक गर्नुभएको थियो ।
क्यानले मार्चमै एनपिएल आयोजना गर्ने घोषणा गरेको थियो । तर, ट्वान्टी-२० विश्वकपका लागि नेपाली टोली तयारीका क्रममा रहेकाले पछाडि धकेल्नुपरेको क्यानका सचिव पारस खड्काले कार्यक्रममा जानकारी दिनुभयो । सचिव खड्काले नेपाली क्रिकेट आज ब्राण्डका रूपमा प्रस्तुत भएको जिकिर गर्नुभयो । नेपाल प्रिमियर लिगले अझ माथि पुर्याउने बताउनुभयो । उहाँले नयाँ कार्यसमिति आएलगत्तै नेपाल प्रिमियर लिगको सोच बनाएको बताउनुभयो ।
नेपालमा यसअघि एभरेस्ट प्रिमियर लिग, धनगढी प्रिमियर लिग र पोखरा प्रिमियर लिग आयोजना भएका थिए । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले नेपाली क्रिकेटको सर्वोच्च निकाय क्यानलाई निलम्बन गरेका अवस्थामा आएका यी प्रतियोगिताहरू अहिले अस्तित्वमा रहेका छैनन् ।
खेलकुदमा लगानी बढाउन आवश्यकः मन्त्री चौधरी
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुदमा लगानी बढाउन आवश्यक रहेको बताउनुभएको छ । एनपिएलको लोगो सार्वजनिक कार्यक्रममा बोल्दै उहाँले खेलकुदमा पर्याप्त लगानी हुन नसकेको बताउनुभयो । उहाँले खेलाडीलाई अवसर, सेवा सुविधा र पूर्वाधार बढाइदिनु राज्यको दायित्व भएको बताउनुभयो ।
उहाँले क्रिकेट नेपालको पहिचान भएको बताउनुभयो । उहाँले क्रिकेटले अन्तर्राष्ट्रिय जगत्मा आफ्नो छाप छोडिसकेको उल्लेख गर्नुभयो । उहाँले नेपालमा क्रिकेट रंगशालाको अभाव हुँदाहुँदै खेलाडीको मिहिनेत, नेपाल क्रिकेट संघको संघर्ष र खेलप्रेमीको मायाले खेलाडीहरू राष्ट्रिय र अन्तर्राष्ट्रिय जगत्मा परिचित भएको बताउनुभयो । उहाँले खेलाडीहरूलाई पर्याप्त सुविधा र भौतिक पूर्वाधार दिन नसकेको स्वीकार गर्नुभयो । चितवनस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला चाँडोभन्दा चाँडो तयार हुने पनि बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘क्रिकेट नेपालका लागि एउटा पहिचानमात्र होइन, अन्तर्राष्ट्रिय जगत्मा आफ्नो छाप छोडिसकेको छ । नेपालमा क्रिकेट रंगशालाको अभाव हुँदाहुँदै पनि यसो हेर्दा अहिले पनि व्यवस्थित रूपमा कुनै रंगशाला हुन सकेको छैन । तर, खेलाडीको मिहिनेत, नेपाल क्रिकेट संघको संघर्ष र सम्पूर्ण खेलप्रेमीको मायाले आज खेलाडीहरू राष्ट्रिय र अन्तर्राष्ट्रिय जगत्मा परिचित छन् । खेलाडीहरू राष्ट्रका गहना हुन् । खेलाडीहरूलाई सुविधा र भौतिक पूर्वाधार दिन सकिएको छैन । ट्रेनरहरूलाई राम्रो व्यवस्थापन गर्न सकिएको छैन । खेलाडीलाई अवसर, सेवा सुविधा र पूर्वाधार बढाइदिनु राज्यको दायित्व हो । यसमा पर्याप्त लगानी गर्नुपर्छ । खेलकुदको भौतिक पूर्वाधारमा म आफैं चासो दिएर पहल गरिरहेको छु ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच