घोराही क्षेत्रमा डेंगु संक्रमित बढ्दै

हिमालय टाइम्स
Read Time = 5 mins

विवेक खड्का/हिटा
दाङ । दाङको घोराही क्षेत्रमा देखिएको डेंगु लमही र तुलसीपुर क्षेत्रमा पनि देखिन सुरु गरेको छ । सबैभन्दा बढी घोराही क्षेत्रमा डेंगु संक्रमित रहेको पाइएको छ । घोराही उपमहानगरपालिकाको स्वास्थ्य शाखाले दिएको जानकारीअनुसार भदौ १६ गतेसम्म घोराही उपमहानगरपालिका अन्तर्गतका अस्पतालहरूमा परीक्षणको क्रममा १४८ जनामा डेंगु संक्रमण भएको छ । ज्वरो आएर जाँच गर्न अस्पताल पुगेकाको डेंगु परीक्षण गर्दा उक्त संख्यामा संक्रमण देखिएको हो । सोमबारसम्म प्रतिष्ठानमा मात्रै १३२ जना संक्रमित रहेका छन् ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका ल्याब प्रमुख दामोदर शर्माले साउन १ गतेदेखि ३१ गतेसम्म १०२ जनामा डेंगु जाँच भएकोमा १६ जनामा पोजेटिभ देखिएको जानकारी दिनुभयो । साउनमा ८६ नेगेटिभ रिपोर्ट आएको थियो । भदौ १ गतेदेखि १९ गते साँझसम्म २६४ जनामा डेंगु परीक्षण गर्दा ११६ जनामा पोजेटिभ र १४८ नेगेटिभ रिपोर्ट आएको शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार भदौ १५ गते ३२ जनामा डेंगु परीक्षण गर्दा २८ जनामा डेंगु पोजेटिभ रिपोर्ट आएको थियो । ‘दैनिक १०/१२ जना जतिमा डेंगुको पोजेटिभ रिपोर्ट आएको छ’- ल्याब प्रमुख शर्माले बताउनुभयो ।

घोराहीमा मात्रै नभएर तुलसीपुर र लमहीमा समेत डेंगुका बिरामी बढेको पाइएको छ । स्वास्थ्य कार्यालय दाङले दिएको जानकारी अनुसार राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा नौजना डेंगु संक्रमित बिरामी फेला परेका छन् भने लमही अस्पतालमा चारजना फेला परेका छन् । स्वास्थ्य कार्यालय दाङका ल्याब टेक्निसियन अधिकृत देवीलाल डाँगीले मेडिकलमा गएका बिरामीको रेकर्ड नआएको जानकारी दिनुभयो । ‘यो प्रादेशिक अस्पताल र लमही अस्पतालको तथ्यांक हो, मेडिकलको रेकर्ड आएको छैन’ उहाँले भन्नुभयो, ‘अन्य घोराही, तुलसीपुर र लमही बाहेकका पालिकाबाट डेंगु संक्रमितको विवरण आएको छैन ।’

दाङका अन्य पालिकामा संक्रमित भएको जानकारी नआएको उहाँले जानकारी दिनुभयो । ल्याब टेक्निसियन अधिकृत डाँगीले लामखुट्टेको बासस्थान नष्ट गर्ने अभियान चलाउनुपर्ने बताउनुभयो । ‘लामखुट्टेको अण्डा र लार्भा नष्ट गर्ने, झुलमा सुत्ने, सफा पानी जम्ने ठाउँ नराख्ने गर्नुपर्छ’- उहाँले भन्नुभयो, ‘सबै सचेत हुनुपर्ने अवस्था छ ।’

दाङमा अघिल्ला वर्षहरूमा भन्दा यस वर्ष धेरैमा डेंगु संक्रमण भएको देखिएको छ । आर्थिक वर्ष ०७६/०७७ मा ४१ जना पुरुष र ३० जना महिलामा गरी ७१ जनामा डेंगु संक्रमण देखिएको थियो । स्वास्थ्य कार्यालय दाङले दिएको जानकारीअनुसार आर्थिक वर्ष ०७७/७८ मा नौ जना पुरुष र ६ जना महिला गरी १५ जनामा डेंगु संक्रमण देखिएको थियो । आव ०७८/७९ मा जिल्लामा ६ जनामा मात्रै डेंगु संक्रमण देखिएको थियो ।

घोराही उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद घर्तीले बिरामी भएर स्वास्थ्य संस्था पुगेर परीक्षणका क्रममा डेंगु संक्रमण देखिएकाको अवस्था हेर्दा लक्षण नदेखिएको डेंगु संक्रमित धेरैको संख्यामा रहेको हुनसक्ने बताउनुभयो । ‘एक हजार संक्रमितमा नौ सय जनालाई त लक्षण नै देखिँदैन तर उनीहरूबाट स्वस्थ मान्छेमा सर्ने जोखिम हुन्छ’, उहाँले भन्नुभयो, ‘लक्षण देखिएकामध्ये पनि ४० प्रतिशतलाई त अस्पताल भर्ना गर्नुपर्ने हुन सक्छ ।’

उहाँले ज्वरो आएका बिरामीले डाक्टरको सल्लाहबिना औषधि सेवन नगर्न सुझाव दिनुभयो । ‘निम्स, ब्रुफिन, रगत पातलो बनाउने एस्प्रिन जस्ता औषधि सेवन गर्नै हुँदैन’ उहाँले भन्नुभयो, ‘कडा ज्वरो आएमा मेडिकलमा गएर औषधि किनेर खानुहुँदैन, अस्पतालमा जँचाएर मात्रै सेवन गर्नुपर्छ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?