काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्यसमेत रहनुभएकी परराष्ट्रमन्त्री आरजु राणा देउवाले नेपालका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर गठन भएको एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारप्रति छिमेकी राष्ट्र भारत सकारात्मक रहेको बताउनुभएको छ । पाँचदिने भारतको औपचारिक भ्रमण सकेर बिहीबार स्वदेश फर्किनुभएकी मन्त्री राणाले भोलिपल्ट शुक्रबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा भ्रमणबारे ब्रिफिङ गर्दै दुई ठूला दल मिलेर बनेको सरकारप्रति भारतको रेसपोन्स राम्रै रहेको बताउनुभएको हो । भारत भ्रमणबारे पार्टीको केन्द्रीय समिति बैठकलाई जानकारी दिँदै उहाँले भारतीय अधिकारीहरूसँग पञ्चेश्वर, महाकाली नदीको पुल लगायतका एजेण्डामा कुराकानी भएको सुनाउनुभयो ।
आफ्नो भ्रमणको सकारात्मक प्रभाव देखिन थालेको जिकिर गर्नुभएकी मन्त्री राणाले डुबान समस्याबारे अध्ययन गर्न संयुक्त बैठक बस्ने खबर शुक्रबार मात्र आएको जानकारी दिँदै भन्नुभयो, ‘लक्किली प्रधानमन्त्री नरेन्द्र मोदीजीसँग पनि भेट भयो । सबैभन्दा राम्रो कुरा चाहिँ के भयो भने दुईटा ठूला पार्टी मिलेर बनेको सरकारप्रति उहाँहरूको कस्तो रेसपोन्स हुन्छ ? भन्दा रेसपोन्स राम्रो भएको यहाँ अवगत गराउन चाहन्छु ।’ भारत भ्रमणका क्रममा प्रधानमन्त्री मोदीसँगको भेटमा आफूले प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको नेपाल भ्रमणको निम्तापत्र हस्तान्तरण गरेको जानकारी दिँदै राणाले भन्नुभयो, ‘आउने कुरा भएको छ । तर, डेटचाहिँ तोकिएको छैन । भेटका क्रममा निकै राम्रो रेसपोन्स रहेको पाएँ । विकासमा सहयोग गर्छु भन्नुभएको छ ।’
यस्तै, भारतीय पक्षसँग टिआरसीका लागि सहयोग मागेको पनि उहाँले जानकारी दिनुभयो । नेपालको विकासका गति अगाडि बढ्ने भारतीय पक्षको विश्वास पाएको उहाँको भनाइ छ । नेपाल भ्रमणमा रहेका चिनियाँ मन्त्रीसँग शुक्रबार भेट भएको समेत जानकारी दिँदै परराष्ट्रमन्त्री राणाले केन्द्रीय समिति बैठकमा भन्नुभयो, ‘बिआरआईको मोडालिटीबारे कुरा गर्न खोज्नुभएको रहेछ, मैले हाम्रो पार्टीको यस्तो-यस्तो छ । हामीले पास गरेर दिइसकेका छौँ । मोडलिटी के हुनसक्छ भन्छौँ भनेको छु ।’
महामन्त्रीद्वयको प्रस्तावप्रति चर्को आलोचना
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा पार्टी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले प्रस्तुत गर्नुभएको गत फागुनमा ललितपुरमा सम्पन्न महासमिति बैठकबाट पारित परिर्माजित प्रतिवेदनप्रति चर्को आलोचना भएको छ । मुख्यगरी महामन्त्रीद्वयको प्रतिवेदनमा उल्लेख आगामी निर्वाचनमा एक्लै चुनावमा जाने र एक्जिट पोलिसीको विषयमा चर्को आलोचना भएको हो । संस्थापन पक्षका अधिकांश नेताहरूले एक्जिट पोलिसीको सन्दर्भमा महामन्त्री विश्वप्रकाश शर्माको आलोचना गरेका हुन् ।
महामन्त्री शर्माको एक्जिट पोलिसी अपरिपक्व भएको टिप्पणी गरेको संस्थापन पक्षका नेताहरूले जनताले चाहेसम्म जो जतिपटक पनि चुनाव लड्न र जिम्मेवारीमा पुग्नसक्ने तर्क गरेका छन् । महामन्त्री शर्माको परिमार्जित प्रतिवेदनमा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र सांसदको कार्यकाल तोक्नुपर्ने उल्लेख छ । प्रतिवेदनमा भनिएको छ, ‘राष्ट्रपति एकपटक, प्रधानमन्त्री दुईपटक, मन्त्री तीनपटक र सांसद चारपटक हुन पाउने पद्धति बसाल्नुपर्छ । कांग्रेसले यो पद्धतिको अनुशरण गर्नुपर्छ, संवैधानिक बस्दोबस्तका लागि पनि कांग्रेसले यो प्रस्ताव पारित गर्नुपर्छ ।’
प्रदेशको हकमा पनि मुख्यमन्त्री बढीमा दुईपटक, मन्त्री तीन र प्रदेश सांसद चार पटकभन्दा बढी हुन नपाउने पद्धति अवलम्बन गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ । संस्थापन पक्षका नेताहरूले पार्टी सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्न रोक्ने गरी प्रस्ताव ल्याइएको भनेर चर्को विरोध जनाएका छन् । महामन्त्री शर्माको प्रस्ताव संविधानको व्यवस्थाभन्दा विपरीत भएको उनीहरूको जिकिर छ ।
एक्जिट पोलिसी अलोकतान्त्रिक प्रस्ताव : कार्की
दुई पटकसम्म मात्र प्रधानमन्त्री बन्न पाउने नीतिगत व्यवस्था प्रस्ताव गर्नुभएका महामन्त्री विश्वप्रकाश शर्माको कांग्रेस केन्द्रीय समिति बैठकमा चर्को आलोचना भएको छ । आलोचकका अनुसार यस्तो नीति अलोकतान्त्रिक हुन्छ । केन्द्रीय समिति बैठकमा धारणा राख्दै नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले महामन्त्री विश्वप्रकाशको आलोचना गर्दै भन्नुभयो, ‘प्रधानमन्त्री दुईपटक मात्र बन्न पाउने गरी विश्वप्रकाशजीले ल्याएको प्रस्तावलाई पार्टीले नीति बनाउने हो भने त्यो अलोकतान्त्रिक हुन्छ । जनताले चाहँदासम्म प्रधानमन्त्री बन्न पाउनुपर्छ ।’ संविधानमा राष्ट्रपति र उपराष्ट्रपति दुई कार्यकालसम्म हुन पाउने व्यवस्था छ । अन्य पदहरूमा भने निश्चित सीमा तोकिएको छैन । संस्थापन पक्षका अधिकांश नेताहरूले विरोध गरे पनि आगामी निर्वाचनमा गठबन्धन गर्ने-नगर्ने विषय र एक्जिट पोलिसीका सन्दर्भमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा अडानमा अडिग छन् । चुनावकै नतिजामा गम्भीर प्रभाव पार्ने एजेण्डा भएकाले कांग्रेसको शीर्ष नेतृत्व महामन्त्रीद्वयको प्रस्तावप्रति सकारात्मक छैन । गठबन्धनको विषयमा एकरूपता नदेखिएपछि थप गृहकार्यका लागि भन्दै ११ दिन केन्द्रीय कार्यसमिति बैठक सारिएको थियो । केन्द्रीय समिति बैठक स्थगित गरेर पदाधिकारी तहमा निरन्तर अनौपचारिक छलफल भएका छन् । तर, सहमति जुट्न सकेको छैन । गठबन्धनको विषयमा महामन्त्रीद्वयको प्रस्ताव सान्दर्भिक नभएको तर्क गर्दै नेताहरूले ०८२ मा पार्टी महाधिवेशनपछि आउने नेतृत्वले तत्कालीन आवश्यकताका आधारमा निर्णय लिने भएकाले यसलाई नीतिको रूपमा जोड्न आवश्यक नरहेको जिकिर गरेका छन् ।
गत फागुनको महासमिति बैठकमा पेस गरेको प्रतिवेदन परिमार्जन गर्दै महामन्त्री शर्मा केन्द्रीय समिति बैठकमा निर्वाचनपूर्व गठबन्धन नगर्ने पक्षमा उभिनुभएको छ । यससँगै कांग्रेसका महामन्त्रीद्वय थापा र शर्मा चुनावपूर्व गठबन्धन गर्न नहुने गरी एकै ठाउँ आइपुगेका थिए । महामन्त्रीद्वय निर्वाचनपूर्व गठबन्धन नगर्ने र सरकार गठनमा भने गठबन्धन गरेर जानुपर्ने पक्षमा देखिएका छन् । उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव, महामन्त्री थापाले सांगठनिक र महामन्त्री शर्माले समसामयिक राजनीतिक प्रस्ताव परिमार्जनसहित राखेका छन् ।
२०८४ मा कांग्रेसको मुख्य प्रतिद्वन्द्वी एमाले : कोइराला
नेपाली कांग्रेसका नेता एवं पूर्वमहामन्त्री शशांक कोइरालाले पार्टीको ध्यान अब २०८४ को निर्वाचनका लागि हुनुपर्ने बताउनुभएको छ । पार्टी कार्यालय सानेपामा शुक्रबार बसेको केन्द्रीय समिति बैठकमा नेता कोइरालाले सरकारबारे चिन्ता लिन नपर्ने उल्लेख गर्दै ८४ को निर्वाचनमा पार्टीको प्रतिद्वन्द्वी एमाले भएकाले त्यसतर्फ ध्यान दिनुपर्ने बताउनुभएको हो । नेता कोइरालाले भन्नुभयो, ‘यो सरकार चल्छ । अब हाम्रो उद्देश्य के अब हुनुपर्छ भने ०८४ को चुनाव हुनुपर्छ । जहाँ हाम्रो मुख्य प्रतिद्वन्द्वी हुन्छ एमाले । त्यसका लागि हामी कडाइका साथ उभिएर संगठनतर्फ उभिनुपर्छ ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच