काठमाडौं । घरेलु टिम नेपालविरुद्ध चार-एकको सहज जित निकाल्दै बंगलादेशले साफ यू-२० च्याम्पियनसिपको उपाधि जितेको छ । बुधबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा भएको खेलमा बंगलादेशलाई जित दिलाउन मिराजुली इस्लामले दुई गोल गर्नुभएको थियो ।
मोहम्मद रब्बी हुसेन राहुल र मोहम्मद पिएस अहमेद नोभाले समान एक गोल गर्नुभयो । नेपालका समिर तामाङले एक गोल फर्काउनुभयो । साफ च्याम्पियनसिपको तीनपटकको उपविजेता बंगलादेशले नेपाललाई हराउँदै पहिलोपटक उपाधि चुमेको छ । सेमिफाइनलमा भुटानलाई टाइब्रेकरमा हराउँदै उपाधि नजिक पुगेको नेपाली युवा टोली बंगाली युवा टोलीसँग स्तब्ध भयो ।
सन् २०१७ मा नेपालसँग हेड टु हेडमा पछि पर्दै बंगलादेश उपविजेता बनेको थियो । यस्तै, सन् २०१९ र २०२२ को फाइनलमा भारतसँग पराजित हुँदै उपविजेतामा सीमित भएको थियो ।
एकै समूह चरणमा रहेको नेपालले बंगलादेशलाई दुई-एकले हराउँदै समूह विजेता बनेर सेमिफाइनल खेलेको थियो । तर, फाइनलमा भने नेपाल बंगालसँग पराजित भयो । फाइनलमा नेपाललाई घरेलु मैदानमा पराजित गर्दै बंगाली टोलीले समूह चरणमा भोगेको हारको बदलासमेत लिएको छ ।
खेलको पहिलो हाफमा नेपालले खेलमा पकड जमाए पनि दोस्रो हाफमा सोही लयलाई निरन्तरता दिन सकेन । बंगलादेशले भने पाएको मौकालाई सदुपयोग गर्दै नेपाललाई घरेलु मैदानमा नै स्तब्ध पार्दै पहिलोपटक उपाधि उचाल्यो ।
खेलको इन्जुरी समयमा बंगलादेशले अग्रता बढायो । त्यसअघि खेलको ८१औँ मिनेटमा समिर तामाङको गोलमा खेललाई तीन-एकको अवस्थामा ल्याए पनि निकै ढिला भइसकेको थियो ।
खेलको ७०औँ मिनेटमा राहुल हुसैनको गोलमा बंगलादेशले नेपालविरुद्ध अग्रता फराकिलो पारेको हो । त्यसअघि ५४औँ मिनेटमा नेपाल दुई-शून्यले पछि परेको हो । मिराजुल इस्लामले गोललाइनबाट हेडर गोल गोल गर्दै बंगलादेशको अग्रता दोब्बर पार्नुभयो ।
पहिलो हाफको इन्जुरी समयमा बंगालदेशका मिराजुल इस्लामले फ्रिकिकमा गोल गर्दै टोलीलाई अग्रता दिलाउनुभएको थियो । इस्लामको फ्रिकिक प्रहारले पहिलो बारमा लाग्दै पोष्टको जाली चुमेको थियो ।
त्यसअघि नेपालले खेलमा राम्रो पकड बनाए पनि गोल गर्न भने सकेन । बंगलादेशले पाएको अवसरलाई सदुपयोग गर्दै अग्रता बनायो । खेलको ३१औँ मिनेटमा निराजन धामीको प्रहार पहिलो बारको नजिकबाट बाहिरियो । त्यसअघि २९औँ मिनेटमा सिमान्त थापाको फ्रिकिक क्रसबारको माथिबाट आकाशिएको थियो ।
पहिलो हाफको २१औँ मिनेटमा निराजन धामीले बंगलादेशका दुई डिफेन्डरबाट बललाई खोस्दै दिएको क्रसलाई अविनास स्याङ्ताङले पोस्टको गति दिन सक्नुभएन । खेलको १६औँ मिनेटमा निराजनको लामो पासलाई नियन्त्रणमा लिँदै समिर तामाङले दुई डिफेन्डरलाई बिट गर्दै अघि बढाएको बललाई फिनिसिङ दिन सक्नुभएन । पहिलो हाफको नवौँ मिनेटमा निराजन धामीको लामो प्रहार बंगलादेशका गोलरक्षकले उत्कृष्ट बचाउ गर्नुभएको थियो ।
यसअघि उमेर समूहको प्रतियोगितामा सेमिफाइनलबाटै बाहिरिएको नेपाल तेस्रोपटक फाइनलमा पुगेको थियो । दक्षिण एसियाली फुटबलको उमेर समूहमा नेपालले सन् २०१५ मा नेपालमै भएको पहिलो र सन् २०१७ मा भुटानमा भएको दोस्रो संस्करणको उपाधि जितेको थियो ।
सन् २०१७ मा राउन्ड रोबिनका आधारमा भएको च्याम्पियनसिपमा नेपाल र बंगलादेशको समान नौ अंक भए पनि हेड टु हेडका आधारमा नेपाल च्याम्पियन बनेको थियो । तर, यो पटक घरेलु मैदानमा भएको खेलमा नेपाल पराजित हुँदै फेरि एकपटक उपाधिबाट टाढिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच