काठमाडौं । तत्कालीन माओवादीले गरेको १० वर्षे ‘सशस्त्र द्वन्द्व’लाई लिएर संसद्मा चर्को बहस भइरहेको छ । तत्कालीन द्वन्द्वलाई ‘जनयुद्ध’ वा ‘हिंसा’ भन्ने विषयमा सत्तारूढ नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच भइरहेको चर्काचर्की संसद्बाहिर पनि पुगेको छ । एक पक्षले ‘त्यो हिंसा नै थियो’ भन्ने रटान लगाइरहँदा अर्कोले ‘जनयुद्ध नै भएको’ अड्डी लिइरहेको छ । यो बहस टुंगिनेभन्दा अझै लम्बिने जस्तो देखिएको छ ।
संसद्मा जनयुद्ध वा हिंसाबारे बहस भइरहँदा पूर्वी नेपालमा ‘तत्कालीन द्वन्द्वकै अवशेष’ पड्किँदा दुई अबोध बालबालिकाको ज्यान गएको छ । पाँचथरको फालेलुङ गाउँपालिका-५ डाँडागाउँमा विस्फोटक पदार्थ पड्किँदा उनीहरूको ज्यान गएको हो । पाँचथरका प्रहरी नायब उपरीक्षक हेमन्त भण्डारीका अनुसार ज्यान गुमाउनेमा दिलीप सावाका ११ वर्षीय छोरा दिप्सन र अढाइ वर्षीया छोरी प्रिन्सा हुनुहुन्छ । एकै घरका दुवै दाजु बहिनीको उपचारको क्रममा निधन भएको उहाँले बताउनुभयो । बिस्फोटमा परेका अरू दुई बालबालिका घाइते छन् । एकजना घाइते बालकको सदरमुकाम फिदिममै उपचार भइरहेको छ । अर्का एक बालक उपचारपछि घर फर्किएको उहाँको भनाइ छ ।
खेलौना ठानेर खेलाउँदा बिस्फोट
डाँडा गाउँका आइतराज केरुङको घरमा विस्फोटक पदार्थ पड्किएको हो । उहाँ सशक्त संघर्षमा पार्टी कार्यकर्ता हुनुहुन्थ्यो । उहाँको खाली रहेको घरमा अहिले भने ज्ञानबहादुर राईको परिवार बस्छ । उहाँ एक दशकदेखि जिल्ला सदरमुकाममा बस्दै आउनुभएको छ । घरमा उहाँकै परिवारका सदस्य बस्दै आएको प्रहरीले जनाएको छ । बिहीबार दिउँसो उहाँको घरमा केही बालबालिका खेलिरहेका थिए । खेल्ने क्रममा बालबालिकाले घर नजिकैको अम्रिसो बारीमा एउटा खिया लागेको वस्तु भेटे । बट्टाजस्तो वस्तु देखेपछि घरमा ल्याएर खोल्ने प्रयास गरे, तर सकेनन् । त्यसपछि खेलौना ठानेर खेलाउँदा विस्फोट भयो । उनीहरू हम्मरले हानेर खोल्ने प्रयास गरेका थिए । प्रहरीका अनुसार दिउँसो साढे ३ बजेतिर विस्फोटको आवाज सुनेपछि गाउँलेहरू भेला भएका थिए । गाउँलेहरू पुग्दा विस्फोटमा घाइते भएका बालबालिका छट्पटाइरहेका थिए ।
बारीमा भेटेको वस्तु खेलाउँदा विस्फोट भएको फालेलुङ गाउँपालिका उपाध्यक्ष महेन्द्र हाङ जबेगुले बताउनुभयो । विस्फोट भएको पदार्थ तत्कालीन द्वन्द्वकालकै जस्तो देखिएको उहाँले बताउनुभयो । उहाँका अनुसार त्यही ठाउँमा अर्को एउटा नपड्किएको बम पनि भेटिएको छ । नपड्किएको बम घरेलु हो । तर, हिजो पड्किएको बम कस्तो खालको हो भन्ने खुलेको छैन ।
प्रहरी नायब उपरीक्षक हेमन्त भण्डारीका अनुसार बारीमा भेटिएको बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको थियो । डिस्पोजका क्रममा बम हृयाण्डमेड सकेट रहेको खुलेको उहाँले बताउनुभयो । बिस्फोट भएको पदार्थ कति वर्ष पुरानो हो ? भन्ने फरेन्सिक जाँचपछि मात्रै खुल्ने उहाँको भनाइ छ । पाँचथरका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालाले घटना भएको घर माओवादी कार्यकर्ताको स्वामित्वमा रहेको विवरण प्राप्त भएको बताउनुभयो ।
सशस्त्र द्वन्द्वको पीडा अझै जीवितै छ : गृहमन्त्री
गृहमन्त्री रमेश लेखकले पाँचथरमा भएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । शुक्रबार मन्त्रालयमै सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले अहिले पनि सशस्त्र द्वन्द्वको पीडा जीवित रहेको बताउनुभयो । सशस्त्र द्वन्द्वका बेला राखिएका ग्रिनेड पड्किँदा दुःखद घटना भएको रिपोर्टिङ प्रहरीबाट पाएको उहाँले जानकारी दिनुभयो । ‘भर्खर हामीले शान्ति प्रक्रियाको काम टुंग्यायौँ भन्यौँ, संक्रमणकालीन न्यायको काम टुंग्यायौँ भन्यौँ । तर, अहिले पनि सशस्त्र द्वन्द्वको पीडा अझ पनि जीवित छ । कस्तो दुःखद भयो,’ उहाँले भन्नुभयो । शान्ति सम्झौता भएको डेढ दशक बितिसक्दा पनि त्यसबेलाका बिस्फोटक पदार्थले अहिलेसम्म जोखिम सिर्जना गरिरहेको उहाँले बताउनुभयो । ‘अर्को घर पछाडि झाडीमा पनि फेला परेको र सेनाले डिस्पोज गरेको भन्ने खबर आएको छ’, उहाँले भन्नुभयो, ‘त्यो पनि सेनाले पहिचान गरिसकेको छ, अहिलेसम्म हेर्दा पुरानै हो भन्ने निष्कर्षमा प्रशासन पुगेको स्थिति छ ।’
विभिन्न स्थानमा अहिले पनि द्वन्द्वकालमा बिच्छ्याइएका बिस्फोटक पदार्थहरू बेलाबेलामा फेला पर्ने र बिस्फोटन हुने गरेका छन् । मानिसहरू नजिकै हिँड्दा ‘ल्याण्डमाइन’हरू आफैँ बिस्फोटन हुन्छन् भने घरेलु बम भने बिस्फोटन गराउनुपर्छ । तात्कालिक माओवादीसँग भएको शान्ति सम्झौतामा बिस्फोटक पदार्थ हटाउने सहमति पनि भएको थियो ।
दोषीलाई कारबाही गर्न आयोगको माग
राष्ट्रिय मानव अधिकार आयोगले पाँचथर डाँडागाउँ बम बिस्फोटमा दुई बालबालिकाको मृत्यु भएको घटनाको अनुगमन सुरु गरेको छ । आयोगले शुक्रबार एक विज्ञप्ति जारी गरी उक्त घटनाको कोशी प्रदेश कार्यालयले अनुगमन सुरु गरेको जानकारी दिएको हो । आयोगले उक्त बिस्फोट द्वन्द्वकालमा द्वन्द्वरत पक्षबाट जथाभावी छाडिएका बिस्फोटक पदार्थ हुनसक्ने आशंका गरेको छ । आयोगले पटक–पटक यस्ता बिस्फोटक पदार्थ हटाउन र त्यसको प्रगति आयोगमा जानकारी गराउन सिफारिश गर्दा पनि यसरी बालबालिकाको ज्यान जानु दुःखद् भएको पनि बताएको छ । घटनाको निपपक्ष छानविन गरी दोषीलाई कारबाही गर्न, घाइतेको निःशुल्क र प्रभावकारी उपचारको व्यवस्था मिलाउन, घाइते तथा मृतकका परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न पनि आयोगले माग गरेको छ । आयोगले उक्त बिस्फोट अठार वर्षअघि भएको विस्तृत शान्ति सम्झौताविपरीत रहेको भन्दै घटनामा दुःख व्यक्त गरेको छ । ‘विस्तृत शान्ति सम्झौतामा दुवै पक्ष युद्धको समयमा प्रयोग गरिएका धराप तथा बारुदी सुरुङहरूको रेखांकन, भण्डारण तीस दिनभित्र एक अर्कालाई जानकारी दिने र साठी दिनभित्र निष्क्रिय र निर्मूल गर्न एक अर्कालाई सहयोग गर्नेछन् भन्ने उल्लेख गरिएको परिप्रेक्ष्यमा पाँचथरमा भएको बिस्फोट द्वन्द्वकालमा द्वन्द्वरत पक्षबाट जथाभावी छाडिएका बिस्फोटक पदार्थ हुनसक्ने आशंका रहेको छ,’ आयोगले विज्ञप्तिमार्फत् भनेको छ, ‘विस्तृत शान्ति सम्झौता भएको अठार वर्ष पूरा हुन लाग्दासमेत न्यायको पर्खाइमा रहेका सशस्त्र द्वन्द्वकालका पीडितहरूले न्याय पाउन नसकेको र आयोगले पटक–पटक यस प्रकारका बिस्फोटक पद्धार्थ हटाउन र त्यसको प्रगति आयोगमा जानकारी गराउन सिफारिशसमेत गरेको सन्दर्भमा बिस्फोटको घटनाबाट बालबालिकाले ज्यान गुमाउनुपर्ने अवस्थाको सिर्जना हुनु अत्यन्त दुःखद हो ।’ त्यस्तै जथाभावी छोडिएका यस्ता बिस्फोटक पदार्थहरू निष्क्रिय पारी पुनः यस प्रकारका घटना दोहोरिन नदिन आयोगले सरकारलाई निर्देशन दिएको छ ।
मृतकका परिवारलाई क्षतिपूर्ति दिन माग
डाँडागाउँ बिस्फोटमा परी मृत्यु भएका बालबालिकाका परिवारलाई क्षतिपूर्ति दिन माग गरिएको छ । शुक्रबार बसेको कोशी प्रदेश सभाको बैठकमा प्रदेश सांसद मैया श्रेष्ठले घटनामा परी घाइते बालबालिकाका परिवारलाई क्षतिपूर्ति दिन माग गर्नुभयो । ‘सशस्त्र द्वन्द्वकालको बाछिटाको रूपमा बिस्फोट हुँदा अवोध बालबालिकाको मृत्यु भएको छ, उनीहरूका परिवारलाई राज्यले नै उचित क्षतिपूर्ति दिनुपर्छ,’ सांसद श्रेष्ठले भन्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच