काठमाडौं । विद्युतीय सवारीका लागि आवश्यक पूर्वाधार निर्माणमा सरोकारवालाले जोड दिएका छन् । काठमाडौंको भृकुटीमण्डपमा जारी नाडा अटो शो २०२४ कै अवसरमा अटो पत्रकार संघ (जाम) र नाडाको सहकार्यमा आयोजित ग्रिन मोबिलिटी एण्ड इकोनमीसम्बन्धी अन्तरक्रिया कार्यक्रममा सरकार र निजी क्षेत्र मिलेर विद्युतीय सवारीका लागि आवश्यक पूर्वाधारमा जोड दिनुपर्ने बताएका हुन् ।
पछिल्लो समय विद्युतीय सवारी आयात बढ्दै गएकाले विद्युतीय सवारी साधनका लागि आवश्यक पूर्वधार बनाउन सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक रहेको उनीहरूको भनाइ थियो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका यातायात व्यवस्था शाखाका सिडिइ सुरेश श्रेष्ठले प्रविधिहरू समयअनुसार परिवर्तन हुँदै जाने भन्दै पछिल्लो समय विद्युतीय सवारी साधन आयात बढ्नु सकारात्मक रहेको बताउनुभयो । समयअनुसार आएका प्रविधिलाई आत्मसात गर्दै व्यवस्थित बनाउन सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक रहेको उहाँको भनाइ थियो ।
पेट्रोलियम वा विद्युतीय कुनै पनि सवारी साधनको ल्याब टेष्ट प्रविधि नेपालमा उपलब्ध छैन ।
पछिल्लो समय विद्युतीय सवारी आयात हुँदा कुनै पनि ल्याब टेष्ट व्यवस्था नभएकोमा समस्या रहेको पनि श्रेष्ठले बताउनुभयो । पेट्रोलियम वा विद्युतीय कुनै पनि सवारी साधनको ल्याब टेष्ट प्रविधि नेपालमा उपलब्ध नरहेको उहाँले जानकारी गराउनुभयो । श्रेष्ठले भन्नुभयो, ‘बजारमा विद्युतीय गाडीको मोटरको पावर नै कम गरेर ल्यायो भन्ने कुरा आयो तर त्यो विषयमा टेष्ट गर्ने हामीसँग कुनै सुविधा पनि छैन । हाम्रो जस्तो मुलुकमा त्यस्ता गाडी जाँच गर्ने पूर्वाधारका लागि ठूलो लगानी चाहिन्छ ।’
यातायातविज्ञ आशिष गजुरेलले विद्युतीय सवारी किन्न लामो प्रक्रिया पूरा गर्नुपर्ने अवस्था रहेको भन्दै सहज बनाउन व्यवसायीलाई ध्यानाकर्षण गराउनुभयो । सरकारले निजी विद्युतीय सवारी साधनतर्फ भन्दा पनि विद्युतीय सार्वजनिक यातायात क्षेत्रमा जोड दिनुपर्ने उहाँको सुझाव थियो । पछिल्लो समय विद्युतीय सवारी साधनको बढ्दो आयातले पेट्रोलियम पदार्थसमेत आयात घट्दै गएको उहाँले बताउनुभयो । अघिल्ला वर्षहरूमा तीन खर्बको पेट्रोलियम आयात हुने गरेकोमा पछिल्ला वर्षहरूमा विद्युतीय सवारीको प्रयोगसँगै पेट्रोलियम आयात घट्दै गएको गजुरेलको भनाइ थियो ।
पेट्रोलियम आयात घट्नुमा अन्य धेरै कारणसँगै विद्युतीय सवारी पनि प्रमुख कारण रहेको उहाँले बताउनुभयो । नेपाल विद्युत् प्राधिकरणका चार्जिङ नेटवर्क संयोजक सागरमणि ज्ञवालीले सात वर्ष पहिला विद्युत् प्राधिकरणमा चार्जिङ स्टेसनका विषयमा कसरी बनाउने भन्नेमा कुनै ज्ञान नभएकोमा अहिले विद्युत् प्राधिकरणले आमनागरिकको मागअनुसार पर्याप्तमात्रामा विस्तार गर्दै गएको बताउनुभयो । प्राधिकरणले देशभर ६१ चार्जिङ स्टेसन निर्माण गरेर नेपालमा विद्युतीय सवारीलाई प्रोत्साहन गर्न सफल भएको उहाँको जिकिर थियो । उहाँले हाल होटलमा चार्जिङ स्टेसन राखेर आमनागरिकलाई सहज बनाए पनि चार्जिङ स्टेसनबारे आमउपभोक्तालाई जानकारी नभएकाले समस्या हुने गरेको बताउनुभयो । साझा यातायातका सञ्चालक भूषण तुलाधरले विद्युतीय सवारी साधनको आयात बढ्दै जाँदा वातावरणदेखि अन्य विभिन्न विषयमा सकारात्मक रहेको बताउनुभयो । नेपाल विद्युतीय सवारीका लागि अनुकूल रहेकाले सार्वजनिक यातायात क्षेत्रमा पनि विद्युतीय सवारीलाई व्यवस्थित बनाउन आवश्यक रहेको बताउनुभयो ।
ब्याट्री व्यवस्थापनको विषयमा समेत सरकारले सोच्नुपर्ने भन्दै अन्यथा भविष्यमा समस्या आउन सक्ने बताउनुभयो । तथापि विद्युतीय सवारीमा प्रयोग हुने ब्याट्री लामो समयसम्म टिक्ने खालको हुने भएकाले आत्तिहाल्नुपर्ने अवस्था भने नरहेको उहाँको भनाइ थियो ।
नाडाका वरिष्ठ उपाध्यक्ष आकाश गोल्छाले निजी क्षेत्रले गाडी ल्याएर बेच्नेमात्र नभई पूर्वाधार क्षेत्रमा पनि लगानी गर्दै आएको बताउनुभयो । पछिल्लो समय विद्युतीय सवारीको आयात बढ्दै गएकाले प्रतिस्पर्धाका लागि पूर्वाधार अति आवश्यक रहेको उहाँको भनाइ थियो । हरेक कम्पनीहले पूर्वाधार क्षेत्रमा लगानीका साथै आफ्ना कर्मचारीलाई तालिम दिएर तयारी अवस्थामा राख्नुपर्ने उहाँले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच