काठमाडौं । आइसिसी ट्वान्टी-२० विश्वकप एसिया क्षेत्र छनोट प्रतियोगिताको उपाधि ओमानले जितेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आइतबार भएको फाइनलमा नेपाललाई सुपर ओभरमा पराजित गर्दै ओमानले उपाधि हात पारेको हो । निर्धारित २० ओभरको खेल बराबरीमा टुंगिएपछि खेल सुपर ओभरमा पुगेको थियो । सुपर ओभरमा पहिले ब्याटिङ गरेको ओमानले २१ रन बनायो । २२ रनको लक्ष्य पछ्याएको नेपालले पहिलो बलमा कुशल भुर्तेलको विकेट गुमायो । ओमानका लागि बिलाल खानले दोस्रो बल डट राख्नुभयो भने तेस्रो र चौथो बलमा नेपालले एक/एक रन बटुल्यो । पाँचौँ र छैटौँ बलमा कुशल मल्लले लगातर दुई चौका प्रहार गरे पनि नेपालको जितका लागि त्यो पर्याप्त भएन र उपाधि ओमानले जित्यो ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १८४ रन बनायो । जवाफी ब्याटिङमा उत्रिएको ओमानले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ८४ रन नै बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो । ओमानका लागि कश्यप प्रजापतिले ५२ बलमा ३ चौका र ४ छक्कासहित ६३ रन बनाउनुभयो । कप्तान जिशान मकसुदले १८ बल खेल्दै दुई चौका र एक छक्का प्रहार गर्दै २६ रन बनाउनुभयो । अकिब इल्यासले १९ बलमा २ चौका र ३ छक्कासहित ३३ रन बनाउनुभयो भने प्रतीक अथावाले सात रन जोड्नुभयो ।
नेपालका लागि सन्दीप लामिछाने र करण केसीले दुई/दुई विकेट लिनुभयो भने सोमपाल कामी, गुल्शन झा, अविनाश बोहोरा र विवेक यादवले एक/एक विकेट लिनुभयो । नेपालको इनिङ्समा गुल्शन झाले २५ बलमा चार छक्का र पाँच चौकाको मद्दतमा ५४ रनको योगदान दिनुभयो । नेपालले पाँचौँ विकेटका रूपमा गुल्शनलाई गुमाएको थियो । त्यस्तै कप्तान पौडेलले अविजित ५२ रन बनाउनुभयो । उहाँले ३७ बल खेल्दै पाँच चौका र दुई छक्काको मद्दतमा ५२ रन बनाउनुभयो ।
नेपालले पहिलो विकेटका रूपमा आशिफ शेखलाई गुमायो । ६ बलमा आशिफले एक छक्का प्रहार गर्नुभयो । बिलाल खानको तेस्रो ओभरको चौथो बलमा आसिफ शेख कश्यप प्रजापतिबाट क्याच आउट हुनुभयो । त्यस्तै नेपालले दोस्रो विकेटका रूपमा सन्दीप जोरालाई गुमायो । सन्दीपले १० रन बनाउनुभयो । उहाँले १३ बलमा एक चौका प्रहार गर्नुभयो । जिसन मक्सुदको बलमा सन्दीप आउट हुनुभएको हो । यसैगरी कुशल भुर्तेललाई नेपालले तेस्रो विकेटका रूपमा गुमायो । कुशलले ३१ रन बनाउनुभयो । उहाँले २२ बलमा तीन चौका र दुई छक्का प्रहार गर्नुभयो । उहाँ अकिब इलियासको बलमा आउट हुनुभयो । चौथो विकेटका रूपमा अकिब इलियासले कुशल मल्ललाई तीन रनमा आउट गर्नुभयो ।
त्यसैगरी विवेक यादवले तीन रन बनाएर आउट हुनुभयो भने करण केसीले अविजित २० रन जोड्नुभयो । बलिङतर्फ ओमानका बिलाल खानले तीन विकेट लिनुभयो भने अकिब इलियासले दुई विकेट लिनुभयो । त्यस्तै जिसन मक्सुदले एक विकेट लिनुभयो । यसअघि भएको समूह चरणको अन्तिम खेलमा नेपाल ओमानसँग पाँच रनले पराजित भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच