काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पछिल्लो चौथौ कार्यकालको विदेश भ्रमणको सुरुवात अमेरिकाबाट गर्ने हुनुभएको छ । नेपालको राजनीतिमा प्रधानमन्त्री नियुक्त भएपछि पहिलो विदेश भ्रमणबारे निकै चर्चा परिचर्चा हुने गरेको छ । नेपालका प्रायजसो प्रधानमन्त्रीहरूले पहिलो विदेश भ्रमण दक्षिण छिमेकी मित्रराष्ट्र भारतबाट हुने गरेको छ । तर, २०६२/०६३ सालको जनआन्दोलनले ल्याएको राजनीतिक परिवर्तनपछि भने प्रधानमन्त्री नियुक्त भएपछिको पहिलो विदेश भ्रमण छिमेकी मुलुक भारत बाहेकका देशहरूमा पनि हुन थालेको हो ।
त्यसो त प्रधानमन्त्रीको पहिलो विदेश भ्रमणको विषयलाई नेपालको राजनीतिक वृत्तमा राष्ट्रवादको दृष्टिकोणले हेर्ने गरिएको छ । गत असार ३० गते संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको समर्थनमा चौथोपटक प्रधानमन्त्री नियुक्त हुनुभएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको वर्तमान कार्यकालको पहिलो विदेश भ्रमण संयुक्त राज्य अमेरिकाबाट हुने भएको छ । यसअघि प्रधानमन्त्री ओलीको पहिलो विदेश भ्रमण थाइल्याण्डबाट हुने बताइएको थियो । तर, थाइल्याण्डमा हुने भनिएको छैटौँ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) शिखर सम्मेलन स्थगित भएपछि प्रधानमन्त्री ओलीको थाइल्याण्ड भ्रमण स्वतः रद्द भएको थियो । थाइल्याण्डको प्रधानमन्त्रीमा हेरफेर, बंगलादेश र म्यानमारमा आन्तरिक द्वन्द्व लगायतका विषय लिएर बिमस्टेक सम्मेलन स्थगित भएको थियो । बिमस्टेक सम्मेलन भदौ १९ र २० गते थाइल्याण्ड आयोजना गर्ने घोषणा भएको थियो । परराष्ट्र मन्त्रालयले उक्त सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणको तयारीसमेत गरिसकेको थियो ।
प्रधानमन्त्रीमा नियुक्त भएपछि अमेरिकाको आलोचना गर्नुभएका प्रधानमन्त्री ओलीले जारी कार्यकालको पहिलो विदेश भ्रमणको भने अब अमेरिकाबाटै सुरु गर्न लाग्नुभएको छ । भदौ १३ गते ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा बसेको एमाले सचिवालय बैठकमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले अमेरिका र भारतप्रति आक्रामक अभिव्यक्ति दिनुभएको थियो । बैठकमा अध्यक्ष ओलीले भन्नुभएको थियो, ‘संसारभर नै उनीहरू (अमेरिका र भारत) को बोलवाला छ । नेपालमा पनि चलखेल गर्ने र अराजकता मच्चाउने प्रयास भइरहेको छ । उनीहरूको तरिका पहिला नेतृत्वलाई खुइल्याउने अनि पार्टी र आन्दोलनमाथि आक्रमण नै गर्ने हो । त्यसअन्तर्गत नेपालमा वितण्डा मच्चाउने पक्षमा छन् ।’ यसरी आफ्नै पार्टी बैठकमा भारत र अमेरिकाप्रति आक्रामक देखिनुभएका प्रधानमन्त्री ओली आउँदो असोज ५ गते ११ दिनका लागि अमेरिका जान लाग्नुभएको हो ।
बिहीबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री ओलीको न्युयोर्क भ्रमण स्वीकृत गरेको थियो । न्युयोर्कमा हुने संयुक्त राष्ट्रसंघको महासभा बैठकमा भाग लिन प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल असोज ५ गते त्यसतर्फ प्रस्थान गर्नेछन् भने असोज १५ गते स्वदेश फर्किने कार्यक्रम छ । राष्ट्रसंघको महासभा सेप्टेम्बर १० देखि २८ (२५ भदौदेखि १२ असोज) सम्म न्युयोर्कमा हुँदै छ । त्यस्तै, समिट अफ द फ्युचर २२-२३ सेप्टेम्बर (६-७ असोज) मा हुने तय भएको छ । प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघको महासभा र समिट अफ द फ्युचरलाई नेपालका तर्फबाट सम्बोधन गर्ने कार्यक्रम रहेको छ । राष्ट्रसंघको महासभामा भाग लिने क्रममा विभिन्न उच्चस्तरीय भेटघाट र विभिन्न ठाउँको भ्रमण हुनसक्ने बताइएको छ । प्रधानमन्त्रीको भ्रमण टोलीमा परराष्ट्रमन्त्री आरजु देउवा राणा, अर्थमन्त्री विष्णु पौडेल, प्रधानमन्त्री पत्नी राधिका शाक्य, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सचिव सेवा लम्साल, युएन तथा अन्तर्राष्ट्रिय संस्थाहरूको महाशाखा प्रमुख अमृतकुमार राई, निजी चिकित्सकलगायत छन् । ओलीले प्रधानमन्त्रीका रूपमा २०७५ असोजमा पनि राष्ट्रसंघ महासभालाई सम्बोधन गर्नुभएको थियो । राष्ट्रसंघमा नेपालसहित विश्वका १९३ देश सदस्य छन् । भ्याटिकन र प्यालेष्टाइन गरी दुई राष्ट्र गैरसदस्य राष्ट्रको रूपमा सहभागी हुनेछन् ।
हालै अमेरिकाप्रति कडा टिप्पणी गर्नुभएका प्रधानमन्त्री ओलीको पहिलो विदेश भ्रमण अमेरिका हुने निश्चित भएसँगै राजनीतिक वृत्तमा भ्रमणबारे विभिन्न टिप्पणी सुरु भएका छन् । विदेश मामिलाका जानकारसमेत रहनुभएका नेकपा एमालेका नेता राजन भट्टराईले पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री ओलीले पार्टी बैठकमा बोल्दै नबोलेको कुरालाई गलत प्रचार गरिएको दाबी गर्नुभएको छ । नेता भट्टराईले भन्नुभयो, ‘त्यो कुराको खण्डन उहाँले पार्टीको पोलिटब्युरो बैठकमा गरिसक्नु भएको छ । उहाँले आफूले बोल्दै नबोलेको विषयलाई मिडियाले गलत प्रचार गरेको कुरा बैठकमा राख्नुभएको थियो ।’ तर, प्रधानमन्त्री ओलीले खण्डन गरेको कुरा बाहिर आएको छैन । यद्यपि, प्रधानमन्त्री ओलीको अमेरिका भ्रमण अमेरिकी सरकारको निमन्त्रणामा नभएर संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन केन्द्रित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
पूर्वपरराष्ट्र मन्त्रीसमेत रहनुभएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता डा.प्रकाशचन्द्र लोहनी पनि परराष्ट्र मन्त्रालयको भनाइसँग सहमत देखिनुहुन्छ । प्रधानमन्त्री ओलीको पहिलो विदेश भ्रमणका सन्दर्भमा पूर्व–परराष्ट्रमन्त्री डा. लोहनीले भन्नुभयो, ‘संयुक्त राष्ट्रसंघको महासभामा हरेक सदस्य राष्ट्रहरूलाई बोलाइएको हुन्छ । कुनै देशबाट प्रधानमन्त्री नै जान्छन्, कुनै देशबाट परराष्ट्रमन्त्री वा सरकारले प्रतिनिधिमण्डल पठाएको हुन्छ । भ्रमण टोलीको निश्चित संख्या राष्ट्रसंघ आफैँले तोकेको हुन्छ । त्यहीअनुसार बैठकमा सहभागी हुनेहरूको खर्च राष्ट्रसंघले नै बेहोर्छ । यो कुनै देशले निमन्त्रणा नगरेको कारण प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण अमेरिकाबाट भन्न मिल्दैन ।’ प्रधानमन्त्रीमा नियुक्त भएपछि पहिलो विदेश भ्रमण भारतबाटै सुरु गर्ने मान्यतालाई प्रधानमन्त्री ओलीले पनि यसपटक भंग गरेको कतिपयको जिकिर छ । तर, संयुक्तराष्ट्र संघको महासभामा भाग लिन जान लागेकाले यसलाई अमेरिकाको औपचारिक भ्रमण भन्न नमिल्ने एमालेका कतिपय नेताहरूको जिकिर छ । प्रधानमन्त्री ओलीको औपचारिक भ्रमण कुन देशबाट सुरु हुन्छ भन्ने कुरा सरकारमा भरपर्ने जिकिर गर्दै नेता भट्टराईले भन्नुभयो, ‘अहिले म सरकारको आधिकारिक व्यक्ति होइन, सरकारले त्यसको तयारी गर्दै होला ।’
प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिजालले प्रधानमन्त्री भइसकेपछि पहिलो विदेश भ्रमण फलानो देशबाट हुनुपर्छ भन्ने कुनै मान्यता नरहेको जिकिर गर्दै भन्नुभयो, ‘प्रधानमन्त्रीमा नियुक्त भएपछि भारत भ्रमणमा गएर मात्र वैधता पाउँछ भन्ने पनि छैन । त्यसैले प्रधानमन्त्रीहरूले आफ्नो अनुकूल विदेश भ्रमणको तालिका बनाउने गरेको पाइन्छ ।’ त्यसो त माधवकुमार नेपाल, पुष्पकमल दाहाल ‘प्रचण्ड’, सुशील कोइराला, झलनाथ खनालले पनि भारत बाहेकका देशबाट पहिलो विदेश भ्रमण थालेको इतिहास छ । २०७४ फागुन ३ गते दोस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त हुनुभएका ओलीले चैत २३ गते उक्त कार्यकालको पहिलो भारत भ्रमण गर्नुभएको थियो । दोस्रो कार्यकाल अवधिमा प्रधानमन्त्री ओलीले दुईपटक भारत भ्रमण गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच