काठमाडौं । रिपोर्टर्स क्लब नेपालले पेरिस पारा ओलम्पिकमा कांस्य पदक विजेता पलेशा गोवर्धनलाई एक लाख रुपैयाँ पुरस्कारसहित सम्मान गरेको छ । सोमबार क्लबका सभापति ऋषि धमलाले पलेशालाई सम्मान गर्नुभएको हो ।
क्लबले प्रशिक्षक कविराज नेगी लामालाई २५ हजार रुपियाँ र व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई विशेष सम्मान प्रदान गरेको छ । रिपोर्टर्स क्लबका सभापति धमलाले पलेशाले खेलको माध्यमबाट अन्तर्राष्ट्रिय जगतमा नेपालको नाम राखेको भन्दै प्रशंसा गर्नुभयो । पलेशाले लगातार ११ वर्षसम्म संघर्ष गरेको कारण देशको शान, मान र प्रतिष्ठा बढेको उहाँले बताउनुभयो ।
कांस्य पदक विजेता पलेशाले आफूले ११ वर्षसम्म गरेको कडा मेहनतको फल पाउँदा खुसी लागेको बताउनुभयो । ‘नेपालले पनि मेडल ल्याउन सक्छ र ?’ भन्ने प्रश्नको उत्तर आफूले लिएर आएको उहाँले बताउनुभयो । आफूले सपोर्ट नपाएर पनि यो गेममा कडा मेहनतको बाबजुद सफल भएको हुँ । उहाँले भन्नुभयो, ‘धेरै गाह्रो थियो यो मेडल ल्याउन । किनकि संघर्ष त्यति नै थियो, सपोर्ट धेरै थिएन । हामीले सपोर्ट कहिले पनि पाएनौँ । अहिले सबैको आँखा यता परेको छ । सबैले सर्ने भनेर पनि प्रमित गर्नुभएको छ । राम्रो स्थिति भयो भने मैले एलए को गेममा पनि सहभागिता जनाउन सक्छु । आशा गरौँ, त्यहाँ गोल्ड मेडल लिएरै आउनेछौँ ।’
उपराष्ट्रपतिद्वारा सम्मानित
उपराष्ट्रपति रामसहायप्रसाद यादवले पेरिस पारा ओलम्पिकमा ऐतिहासिक कांस्य पदक दिलाउन सफल पलेशा गोवर्धनलाई सम्मान गर्नुभएको छ । लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा सोमबार विशेष समारोहमा पलेशालाई सम्मान गरिएको हो ।
‘पलेशाले देशको नाम उच्च राख्नु भएकोमा सम्पूर्ण नेपाली खुसी छौँ’ उहाँले भन्नुभयो, ‘पलेशाले नेपालका लागि इतिहास रच्दै विश्वभरि छरिएर रहेका नेपालीहरूलाई गौरवान्वित हुने सुनौलो अवसर प्रदान गर्नुभएको छ ।’
उपराष्ट्रपति यादवले पलेशाको यो ऐतिहासिक सफलता उहाँको अथक परिश्रम, दृढ संकल्प, उत्कृष्ट प्रदर्शन तथा समर्पणबाटै प्राप्त भएको बताउनु भयो । ‘यसका लागि पलेशालाई हार्दिक धन्यवाद दिन चाहन्छु’ उहाँले भन्नुभयो, ‘पलेशाको यो अद्वितीय उपलब्धि र सफलतामा महŒवपूर्ण योगदान दिने सम्पूर्ण सहयोगी हातहरू, मन्त्रालय, प्रशिक्षक, खेल पदाधिकारीसहित सम्पूर्ण व्यक्तित्वलाई पनि धन्यवाद छ ।’
उहाँले पलेशाको अतुलनीय योगदानले सिंगो नेपाल र नेपाली समाजलाई असीम गर्वको सुखानुभूति गराएको बताउनुभयो । ‘यो सफलता नेपालका सबै खेलाडीका लागि प्रेरणादायी छ । उपराष्ट्रपति यादवले भन्नुभयो, ‘हामीलाई गर्व छ, हाम्रो देशमा पलेशा जस्ता प्रतिभाशाली खेलाडीहरू छन्, जसले अन्तर्राष्ट्रियस्तरमा हाम्रो पहिचानलाई शिखरमा पुर्याउँदै त्यसलाई थप बलियो र सुदृढ बनाइरहेका छन् । पलेशाको सफलता उहाँको मात्र नभई सिंगो मुलुकको सफलता हो ।’
उपराष्ट्रपति यादवले पलेशाको यात्रा निरन्तर प्रगति र सफलताको पथमा अग्रसर रहोस् भन्ने शुभेच्छा पनि व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘पलेशाको महत्त्वपूर्ण उपलब्धि, योगदान र सफलताका लागि हार्दिक बधाई तथा उज्ज्वल भविष्यको कामना गर्दछु ।’
उक्त कार्यक्रममा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, मन्त्रालयका सचिव, पलेशाका प्रशिक्षकसहित उपराष्ट्रपतिको कार्यालय तथा निजी सचिवालयका कर्मचारीको उपस्थिति थियो ।
पलेशाले पेरिस पारा ओलम्पिकमा तेक्वान्दोको ४४ विधाअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिस्पर्धामा सर्बियाकी खेलाडी मारिजा मिचेभलाई १५-८ ले पराजित गर्दै कांस्य पदक जित्नुभएको हो ।
तेक्वान्दो संघद्वारा १० लाखसहित सम्मान
यसैबीच नेपाल तेक्वान्दो संघले आइतबार राति पलेशालाई १० लाख रुपियाँ, प्रशिक्षक लामालाई तीन लाख र पारा ओलम्पिकमा सहभागी अर्का तेक्वान्दो खेलाडी भरतसिंह महतालाई एक लाख रुपियाँसहित सम्मान गरेको छ । खेलाडी र प्रशिक्षकलाई युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले सम्मान गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच