काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अमेरिकामा निर्यात कायम राखी आगामी दिनमा बढाउन भन्साररहित सुविधाको निरन्तरता महत्वपूर्ण रहेको बताउनुभएको छ । महासंघ, तयारी पोशाक संघ, नेपाल अमेरिका चेम्बर अफ कमर्स, युएसएड र निर्यात महासंघद्वारा संयुक्तरूपमा आयोजित नेपाल अमेरिका व्यापार र लगानी अवसर र चुनौती विषयक कार्यक्रममा उहाँले यस्तो जोड दिनुभएको हो । अमेरिकाले सन् २०१६ मा भूकम्पपछि ७७ वस्तुमा दिएको भन्साररहित सुविधा आगामी वर्ष सकिन लागेकाले आगामी साता आयोजना हुने व्यापार एवं लगानीसम्बन्धी सम्झौता(टिफा) परिषद्को बैठक महत्वपूर्ण रहेको उहाँको भनाइ थियो । उक्त बैठकमा सुविधाको निरन्तरता र हाल निलम्बनमा रहेको जिएसपी सुविधाको निरन्तरतालाई प्राथमिकता दिइनुपर्ने ढकालले बताउनुभयो ।
त्यसैगरी नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति भइरहेको समयमा भन्साररहित सुविधाको निरन्तरताका लागि सरकार र निजी क्षेत्रले संयुक्तरूपमा काम गर्नुपर्ने पनि उहाँले बताउनुभयो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्ण राउतले निजी क्षेत्रको सुझावअनुरूप अमेरिकासँग छलफल गरिने बताउनुभयो ।
संघीय सांसद गणेश पराजुलीले अमेरिकामा सुविधाको निरन्तरताका लागि सदन र अन्य सम्बन्धित ठाउँमा पहल गर्ने बताउनुभयो भने महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले अमेरिकामा निर्यात वृद्धि गर्न थप प्रयास गर्न आवश्यक भएको बताउनुभयो ।
नेपाल तयारी पोशाक संघका अध्यक्ष पशुपतिदेव पाण्डेले अहिले अमेरिकासँग पैरवी गर्ने उपयुक्त समय भएकाले सरकारले विशेष प्राथमिकता दिनुपर्ने बताउनुभयो । नेपाल-अमेरिका चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीका अध्यक्ष किरण साखले निर्यात बढाउनुका साथै व्यापारका लागि सहायता कार्यक्रममा पनि जोड दिनुपर्ने बताउनुभयो । निर्यात व्यवसायी महासंघ नेपालका अध्यक्ष शंकर पाण्डेले अमेरिकातर्फको निर्यातको मात्रा बढाउनुपर्नेमा जोड दिनुभयो ।
नेपाल र अमेरिकाबीच सन् २०११ मा टिफा सम्झौता भएको थियो । उक्त सम्झौता द्विपक्षीय लगानी र व्यापारका लागि सम्झौता गर्न आधार तयार पार्ने अपेक्षा गरिएको थियो । तर, हालसम्म कुनै उपलब्धि हुन सकेको छैन । हाल सुविधा गुम्ने अवस्था आएको हुँदा अमेरिकाको निर्यात घट्न सक्नेमा सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् । अमेरिका नेपालको दोस्रो ठूलो निर्यात गन्तव्य हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच