काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग विशेष अदालतका अधिकांश मुद्दा उपर सर्वोच्च अदालतमा पुनरावेदनमा जान थालेको छ । विशेष अदालतबाट भएका फैसलाउपर आयोगलाई चित्त नबुझेपछि अख्तियार अधिकांश मुद्दामा पुनरावेदनमा जान थालेको हो । अख्तियारले भदौ २७ गते सर्वोच्च अदालत एकैदिन ११ वटा मुद्दामा पुनरावेदनमा गएको थियो । बिहीबारमात्रै अख्तियार प्रतिवादीहरू रामराजेश्वरप्रसाद चौरासिया समेत रहेको भ्रष्टाचार मुद्दामा पुनरावेदनमा गएको थियो । उषाकुमारी रामले दस्तुरको बहानामा राष्ट्रसेवकलाई घुस रिसवत दिएकोमा निजविरुद्ध ८० हजार बिगो कायम गरी दर्ता भएको मुद्दामा विशेषको फैसलाउपर चित्त नबुझाई अख्तियार पुनरावदेनमा गएको हो । त्यस्तै, राजेश्वरप्रसाद चौरसियाले घुस रिसवत लिएको भनी तीस हजार बिगो कायम गरी दायर गरिएको मुद्दामा समेत अख्तियार विशेषको फैसला चित्त नबुझाएर पुनरावेदनमा गएको हो । यसैगरी, हकिम अन्सारीले भ्रष्टाचार कसुरमा मतियार हुने कार्य गरेको भनी तीस हजार बिगोसहित सर्वोच्चमा पुनरावेदन गरेको हो ।
उनीहरू तीनवटैविरुद्ध अख्तियारले घुस रिसवत लिई नक्कली तथा गलत कागजातहरूको आधारमा शिक्षक नियुक्ति गरी तलबभत्तासमेत भुक्तानी दिई नेपाल सरकारलाई हानिनोक्सानी पु¥याई भ्रष्टाचार गरेको आरोप लगाएको थियो । तर, विशेष अदालतले आंशिक कसुर ठहराएपछि अख्तियार पुनरावेदनमा गएको हो ।
यस्तै बिहीबारमात्रै जितेन्द्रप्रसाद कुर्मी, राजेश्वरप्रसाद चौरसियासमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर अयोगलाई चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन गएको थियो । जितेन्द्रप्रसाद कुर्मीले घुस रिसवत दिएबापत ६ लाख बिगो कायम गरी, राजेश्वरप्रसाद चौरासियाले दस्तुरको बहानामा दुई लाख रिसवत लिई नेपाल सरकारलाई हानी–नोक्सानी पु¥याएको र नागेन्द्रप्रसाद मतियार हुने कार्य गरेकाले तीनवटैविरुद्ध विशेषमा मुद्दा दायर गरेको थियो ।
तर विशेष अदालतले राजेश्वरप्रसाद चौरासियालाई १४ हजारमात्रै बिगो कायम हुनेगरी फैसला गरी अन्य दुईजनाको संलग्नता पुष्टि नहुँदा सफाइ दिएपछि अख्तियार विशेषको फैसलाविरुद्ध पनि सर्वोच्चमा पुनरावेदनमा गएको हो । घुस रिसवत लिई नक्कली तथा गलत कागजातहरूको आधारमा शिक्षक नियुक्ति गरी तलबभत्तासमेत भुक्तानी दिई नेपाल सरकारलाई हानी-नोक्सानी पुर्याई भ्रष्टाचार गरेको मुद्दामा अख्तियारले विशेषको फैसला चित्त नबुझाएपछि बिहीबार नै पुनरावदेन गरेको थियो ।
विशेषबाट फैसला भएकामध्ये गत आवमा करिब आधामा सफाइ
आयोगले दैनिकजसो विशेष अदालतमा मुद्दा पनि दर्ता गर्छ । तर, विशेषले अधिकांश मुद्दामा अख्तियारको दाबी अनुसार फैसला गर्दैन । अर्थात् अख्तियार मुद्दा हार्छ, आरोपीले सफाइ पाउँछन् । त्यसैकारण, आयोग फैसलाउपर पुनरावेदनका लागि सर्वोच्च अदालत पुग्ने गरेको छ । अख्तियारले दायर गरेका मुद्दामा विशेषबाट भएका फैसलामा चित्त नबुझेको अवस्थामा पुनरावेदन गर्छ । आर्थिक वर्षको प्रारम्भ (साउन १ देखि हालसम्म) अख्तियारले ४७ वटा मुद्दामा पुनरावेदन गरिसकेको छ । विशेष अदालतका अधिकांश फैसलामा अख्तियारले चित्त बुझाएको छैन ।
तथ्यांक अनुसार पनि विशेषबाट फैसला भएकामध्ये गत आवमा करिब आधामा सफाइ छ । गत आवमा विशेषले भ्रष्टाचारसम्बन्धी ५०६ मुद्दा फस्र्योट गरेको थियो । त्यसमध्ये २४३ मुद्दामा सफाइको फैसला भएको छ । त्यस्तै, १५९ मुद्दामा ठहर र १०४ मा आंशिक ठहर भएको छ । गत आवमा अख्तियारले २०१ मुद्दा विशेषमा दायर गरेको थियो । विशेषको फस्र्याेटको तथ्यांक अघिल्लो आवबाट जिम्मेवारी सरेर आएको र नयाँ दर्तासहितको हो ।
अख्तियारले दायर गरेकामध्ये गैरकानुनी सम्पत्तिका त दुईतिहाइ मुद्दामा विशेषले सफाइ दिएको छ । विशेषबाट फैसला भएका गैरकानुनी सम्पत्तिका मुद्दामा सफाइदर ७५ प्रतिशत देखिएको छ । उक्त वर्ष गैरकानुनी सम्पत्ति आर्जनका ३९ मुद्दा विशेषमा दर्ता भएका थिए । त्यसमध्ये फस्र्योट भएका ३५ मुद्दामध्ये २६ मा विशेषले सफाइ दिएको छ । आठ मुद्दामा ठहर र एउटामा आंशिक ठहर भएको छ । गैरकानुनी सम्पत्ति आर्जनकै दरमा नभए पनि अन्य मुद्दामा समेत अख्तियारको असफलता दर विगत तुलनामा बढेर गएको छ ।
पुनरावेदन जाने-नजाने विषय विशेष अदालतको फैसालमा निर्भर गर्छ : प्रवक्ता घिमिरे
पुनरावेदनमा कति जाने भन्ने विषय विशेष अदालतको फैसलामा निर्भर हुने अख्तियारको भनाइ छ । अख्तियारका प्रवक्ता नरहरि घिमिरे आयोगको पक्षमा फैसला आयो भने केही नगर्ने तर आयोगले दायर गरेको मुद्दामा विशेषबाट आंशिक सफाइ वा पूर्ण सफाइ भएमा पुनरावेदनमा जाने बताउँनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘त्यतिकै पुनरावेदन जाने होइन, पहिला अध्ययन गरिन्छ । अनि आयोगले निर्णय गर्छ । संसारभर नै एकपटक भएको फैसलामा अपिल गर्ने मौका हुन्छ । हामीले पनि त्यही गरेका हौं । यो आयोगको नियमित काम नै हो ।’ अख्तियारका प्रवक्ता घिमिरे मुद्दा दायर गर्ने र विशेषको फैसलाउपर पुनरावेदन जाने विषय नियमित काम नै भएको बताउनुहुन्छ । ‘पुनरावेदनको संख्या अदालतको फैसलामा निर्भर रहन्छ,’ उहाँ भन्नुहुन्छ, ‘पूर्णपाठ प्राप्त भएपछि फैसलामा चित्त नबुझेको अवस्थामा पुनरावेदन जाने-नजाने सम्बन्धमा आयोगले निर्णय गर्ने हो ।’
अधिकांश हाइप्रोफाइल मुद्दामा विशेषको सफाइ
अख्तियारबाट दायर गरिएका अधिकांश हाइफ्रोइल मुद्दामा विशेष अदालतबाट सफाइ दिइने गरेको छ । ललितपुरको गोदावरी नगरपालिकामा प्राकृतिक स्रोतबाट प्राप्त हुने राजस्व हिनामिना गरेर एक अर्ब हिनामिना गरेको आरोपमा मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृतसहित १४ प्रतिवादी उपरको मुद्दामा हालै फैसला गर्दै विशेष अदालतले सबैलाई सफाइ दिएको छ । त्यस्तै, पशुपतिनाथ मन्दिरमा जलहरी राख्दा एक करोड १७ लाख रुपैयाँ मूल्यबराबरको डेढ किलो सुन हिनामिना भएको दाबीसहित अख्तियारले दायर गरेको मुद्दामा पनि विशेषले सफाइ दियो । अख्तियारले प्रतिवादी कायम गरेका पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्यसचिव डा.प्रदीप ढकाल, त्यतिबेलाका कोषाध्यक्ष एवं बहालवाला सदस्यसचिव डा.मिलनकुमार थापा र विशेष नाइके (स्टोरकिपर) अरुणकुमार श्रेष्ठविरुद्ध मुद्दा दायर गरेकामा गत वैशाखमा विशेषले सबैलाई सफाइ दिएको थियो ।
नेसनल पेमेन्ट गेटवे खरिद प्रकरणमा २३ करोड २७ लाख भ्रष्टाचार भएको दाबीसहितको अख्तियारको मुद्दामा पनि विशेषले गत वैशाखमा अधिकांशलाई सफाइ दिएको थियो । यस मुद्दामा अख्तियारले उद्योगसचिव मधुकुमार मरासिनी (अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाका तत्कालीन प्रमुख), नेपाल टेलिकमका प्रबन्ध-निर्देशक सुनील पौडेल र पूर्वसचिव सञ्जय शर्मासहित नौजनाविरुद्ध मुद्दा दायर गरेको थियो । तर, विशेषले पौडेलबाहेक सबैलाई सफाइ दिने फैसला गरेको थियो । अख्तियारले मुद्दामा लिएका आधार कमजोर भएको आरोप विशेष अदालतले सधैंभरि लगाउँदै आएको छ । हालैका धेरै फैसलामा पनि विशेषले यी कुरा बोलेको छ । अख्तियार प्रवक्ता घिमिरेका अनुसार छानविन टुंगिएर परिपक्व भएपछि आयोगले निर्णय गरेर अभियोजन गर्ने बताउनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच